Tuesday, September 13, 2022

परनिन्दासँगै कुकर्म शुरु हुन्छ

प्राचीनकालमा वल नाम गरेको एउटा असुर थियो । आफ्ना आसुरी स्वभावका कारण ऊ सधैँ अरु मानिसमा हुने अवगुण खोजिरहन्थ्यो । ऊ जसको पनि निन्दा गथ्र्यो । उसले गुणीमा पनि दोष खोज्न थालेको थियो । यसरी उसको बुद्धि नै दोषपूर्ण बनेको थियो । छिद्रान्वेषणले कसैलाई पनि अधम बनाइदिन्छ ।

वलासुर अरुमा दोष खोज्दाखोज्दै सन्त तथा देवताहरूमा पनि दोष खोज्ने भइसकेको थियो । यसकारण ऊ देवताहरूसित ईर्ष्या गर्ने बन्यो । देवलोकको सम्पदा र वैभव देखेर ऊ सधैँ दुःखी रहन थाल्यो । ऊ देवताहरूलाई पराजित गरेर त्यो सबै सम्पदाको स्वामी बन्न चाहन्थ्यो । तर उसमा प्रत्यक्ष युद्धका लागि साहस थिएन । निन्दा गर्ने स्वभाव भएका मानिसमा आत्मविश्वास हुँदैन । यस्ता मान्छे सधैँ सशंकित र भयभीत रहन्छन् ।

उसले के देख्यो भने देवताहरूको मुख्य सम्पत्ति भनेको गाई हुन् । अतः यी गाईहरू रहेनन् भने देवताहरू निर्बल हुनेछन् । यस्तो विचार गरेर एक दिन उसले देवलोकका सबै गाईहरू धपाएर लग्यो । तिनलाई धपाउँदै ऊ एउटा पर्वतको ओडारमा पुग्यो । उसले ती गाईहरूलाई त्यही ओडारभित्र लुकाइदियो ।

वलासुरले यसरी कुकर्म गरेको इन्द्रले थाहा पाए । उनले आफ्ना गुरु बृहस्पतिसित परामर्श गरे । अनि देवसेना लिएर त्यस स्थानमा पुगे जहाँ गाईको बथान लुकाइएको थियो । उनको आदेशमा देवसेनाले समस्त गाई–वस्तुलाई त्यहाँबाट मुक्त गरेर देवलोक पुर्‍याए । इन्द्रले बज्र प्रहार गरी वलासुरलाई पनि मृत्युलोक पठाइदिए ।

यसरी निन्दा गर्ने प्रवृत्तिका कारण वलासुरमा ईर्ष्या, द्वेष, आत्महीनता त आयो नै ऊ चोरी गर्ने, अपहरण गर्ने कुकर्मी पनि बन्यो । 

यस कथाको तात्पर्य के हो भने निन्दा गर्ने बानी भयो भने त्यससँगै अन्य दोषहरू पनि मानिसको स्वभावमा आउँदछन् । अरुको निन्दा गर्ने, असूया— अर्थात् गुणमा पनि दोषबुद्धि राख्ने मानिस चोरी, हिंसा, अनीति जस्ता दुष्कर्ममा प्रवृत्त हुन्छ । अतः आफ्नो कल्याण चाहने मानिसले कसैको निन्दा गर्ने, अरुका बारेमा कुरा काट्ने कर्ममा कहिल्यै प्रवृत्त हुनुहुँदैन ।

(नीतिमञ्जरीबाट)


___________

 छिद्रान्वेषण = छिद्रहरूको अन्वेषण गर्ने । अरुको दोष खोज्ने, दोष खोतल्ने ।

असूया = यस्तो मनोवृत्ति जसमा अरुको दोष मात्र देखिन्छ र सद्गुण, सुख आदिलाई देख्न सहन सकिँदैन ।

अनसूया =  रिस, द्वेष, ईर्ष्या जस्ता कुभाव नभएकी नारी

No comments:

Post a Comment

जीवनलाई उत्सवजस्तै स्वीकार गर्नु नै साँचो संन्यास | ओशोको दृष्टिकोण

गीता ईश्वरको गीत हो। यस गीतलाई गाउने परमात्मा हुनुहुन्छ । गीतलाई विभिन्न भावका साथ बोध गर्ने असङ्ख्य साधक छन्; आचार्यहरू हुनुहुन्छ। गीताको प...