– सीतारामजी शर्मा
भनिन्छ एउटै उपवासले अनेक रोगको नाश गर्दछ । नियमतः व्रत–उपवासले उत्तम स्वस्थ्य र दीर्घ जीवन प्राप्त हुन्छ । हाम्रो समाजमा जनसामान्यलाई पनि यति कुरा त थाहा छ नै कि अरुचि, अजीर्ण, उदरशूल, मल–अवरोध, टाउको दुख्ने र ज्वरो जस्ता साधारण रोगदेखि असाध्य महाव्याधिहरू पनि व्रत–उपवासले निर्मूल हुनेगर्दछ । यसबाट अपूर्व र स्थायी आरेग्यता प्राप्त हुन्छ । सबै देश र धर्ममा व्रत–उपवासको महत्वपूर्ण स्थान छ । यसद्वारा मनुष्यको अन्तरात्मा शुद्ध हुन्छ । ज्ञानशक्ति, विचारशक्ति, बुद्धि, श्रद्धा, मेधा, भक्ति तथा पवित्रता पनि बढ्दछ ।
आजको तुलनामा पछिल्ला शताब्दिका मानिसहरूको स्वास्थ्य राम्रो हुने गथ्र्यो र उनीहरू नीरोग हुने गर्दथे । आजका अनेक भयंकर रोगहरूबाट त उनीहरू कोसौँ टाढा थिए । रोगको आक्रमण उनीहरूमाथि हुँदैनथ्यो भन्न खोजेको होइन, तर उनीहरू शास्त्रानुसार आचरण गरेर स्वस्थ रहने प्रयास गर्दथे । यी प्रयासमा उनीहरू सफल पनि थिए । हाम्रा पूर्वज मनीषिहरूद्वारा आयुर्वेदका आधारमा धार्मिक व्रत–अनुष्ठानहरूको अनुपालन गर्ने उपाय प्रस्तुत गरिएको छ । यी व्रतहरूको पालनद्वारा सामान्य रोगदेखि मुक्ति पाएर मानव स्वस्थ जीवनको अनुभव गर्दै मानसिक तनावबाट पनि छुटकारा पाउँथे । यसरी स्वस्थ रही ईश–प्राप्तिको सहज सुलभ साधन पनि उनीहरूले पाउँथे– यस्तो विश्वास गरिन्छ ।
हाम्रो संस्कृतिमा चैत्र शुक्ल प्रतिपदाबाट संवत्सरपर्यन्त सबै तिथिहरूमा व्रतको विधान छ । तिथि–व्रत, वार–व्रत, मास–व्रत, नक्षत्र–व्रत आदि प्रसिद्ध छन् । प्रतिदिन व्रत गर्न सम्भव हुँदैन तथापि प्रत्येक महिना एक या दुई व्रत त गर्न सकिन्छ नै । चैत्र शुक्ल प्रतिपदादेखि एक हप्तासम्म प्रतिदिन स्नानादिबाट निवृत्त भएपछि सबैभन्दा पहिले तीतो नीमको नयाँ पालुवा खाने गरे रक्त–शुद्धि र चर्मरोगबाट मुक्ति मिल्ने साधन बताइएको छ ।
वैशाखमासको अक्षय तृतीया एउटा शुभ मुहूर्त हो । यस दिन उपवासपूर्वक जलले भरिएको घडा, घैँटो, फल र पंखा दान दिने विधान छ । माटोको सम्पर्कबाट जल शुद्ध हुन्छ– पाँच तत्वमध्येका दुई पृथ्वी र जल शरीरका लागि पोषक हुन् । जाडो याममा आगोमा तपाएर बनाइएको माटोको घडा अत्यन्त उपयोगी मानिन्छ । बोतलमा हालेर फ्रिजमा राखिएको पानीभन्दा यस्तो घडाको पानी पिउनु बढी लाभकारी हुन्छ । वैशाखमा माटोको घडा दान गर्नु परोपकार त हो नै यो पुण्यकारक पनि छ ।
भनिन्छ चन्द्र–किरणहरूबाट अमृतको वर्षा हुन्छ । मानवको सम्पूर्ण क्रिया मनबाट सञ्चालित हुन्छ । चन्द्रमा मनको प्रतिनिधिकारक तत्व हो । चन्द्रमा र श्रीगणेशको अनौठो सम्बन्धको चर्चा हाम्रा पौराणिक ग्रन्थहरूमा उल्लेख भएको छ । यसैलाई ध्यानमा राखेर मनःशान्तिका लागि, बुद्धि प्रखरताका लागि श्रीगणेशचतुर्थीको व्रत राख्ने विधान छ । यस दिन दिनभरि उपवास गरेर साँझ श्रीगणेशको पूजन गरिन्छ । यस दिन चन्द्रोदयपछि चन्द्र दर्शन गरेर भोजन गर्न उपयुक्त मानिन्छ । यसो गर्नाले अन्नमा उत्पन्न चन्द्रमाको अमृत प्रभाव तथा त्यसको शीतलताले मनलाई शान्ति प्रदान गर्दछ ।
धार्मिक व्रतहरूमध्ये एकादशी, प्रदोष र शिवरात्रि, श्रीकृष्णजन्माष्टमी, श्रीरामनवमी आदिको पनि ठूलो महत्व छ । एक महिनाका दुई एकादशीको व्रत मात्र राख्ने गरे पनि पाचन प्रणालिलाई स्वच्छ हुने पर्याप्त अवसर मिल्छ । वर्षका सबै एकादशीहरूमा विष्णुशयनी र प्रबोधनी एकादशी ताथ महाशिवरात्रि–व्रतको त आफैमा विशिष्ट महत्व छ । चतुर्मास–व्रतको पालन आरोग्यका दृष्टिले अद्वितीय महत्वको मानिन्छ । चतुर्मासमा वात–पित्तको प्रकोप अधिक रहन्छ, यसैले यसबेला साग–सब्जिहरू त्याग गर्नु श्रेयस्कर मानिएको छ । वर्षा ऋतुमा साग–सब्जिहरू दूषित हुन्छन् । सरोवर, जलाशय आदिमा जल पनि मलिन भएको हुन्छ । लामखुट्टे एवं अन्य कीट–पतंग पनि उत्पन्न हुन्छन् । यसर्थ यस मौसममा तुलसीको सेवा गर्नु, त्यसको वरिपरि रहनु, घरको आगनमा तुलसीको मठ स्थापित गर्नु जस्ता कुराले कीट–पतंग र लामखुट्टे आदिको प्रकोप घर र स्वास्थ्यमा पर्दैन । मिताहारी हुनु अर्थात् थोरै खाने गर्नाले शरीरको पाचन प्रणालिलाई पनि सहज हुन्छ ।
‘वैद्यानां शारदी माता पिता च कुसुमाकरः’ अर्थात् चिकित्सकहरूका लागि शरद्–ऋतु लाभकारी छ । यसले आमाले झैँ वैद्यहरूको पालन–पोषण गर्दछ भने वसन्त–ऋतु पितातुल्य भइ लालन–पालन गर्दछ । दुवै ऋतुले आफ्नो प्रभाव स्वास्थ्यमा पार्दछन् । यी ऋतुसँगै ज्वरो, मलेरिया, पीलिया आदि रोगको प्रकोप हुनेगर्दछ । यीबाट बच्नका लागि घरेलू उपाय धार्मिक व्रतहरू पालन गर्दै खान–पिनमा विशेष ध्यान दिनु एवं ईश–उपासना गर्नु नै हो । यसबाट शारीरिक लाभका साथै आध्यात्मिक लाभ पनि हुनजान्छ ।
आरोग्यका दृष्टिले हप्तामा एक दिनको उपवास एवं त्यस दिनका देवता अथवा आफ्ना इष्ट देवको पूजा–अर्चा पुण्यदायक छ । सोमवार भगवान् शिवको, मंगलवार गणपति अथवा माता भवानीको, गुरुवार भगवान् दत्तात्रेय, रविवार सूर्यनारायण, शनिवार शनिदेव अथवा हनुमानजीको आराधनाका लागि निर्दिष्ट छ । यस एक दिन निराहार रहेर, मात्र जल पिएर पाचन प्रणालिलाई अवकास दिन सकिन्छ, अथवा दूध, फल, साबूदाना जस्ता सात्विक र सुपाच्य हल्का पदार्थ सेवन गर्नाले पनि उपवास लाभकारी हुन्छ ।
अधिकांशरूपमा व्रत–उपवास र चाड–पर्वमा दान दिने परम्परा पनि छ । यसबाट अभावमा परेका, वञ्चितहरूमाथि उपकार हुनेगरी दान दिनसके त्यो सार्थक हुन्छ । धार्मिक व्रतहरूको उचित पालन शरीर–शुद्धि, आत्मिक र आध्यात्मिक उन्नतिका निम्ति सहायक सिद्ध हुन्छ ।
No comments:
Post a Comment