यो त्यस समयको कथा हो जुनबेला आदि शंकराचार्य काशीमा हुनुहुन्थ्यो । यहाँ पवित्र, पूज्य माता गङ्गा नदीको रूपमा बग्नुहुन्छ । आदि शंकराचार्य हरेक बिहान गङ्गाको किनारमा जानुहुन्थ्यो । गङ्गाको अर्को किनारमा एउटा गाउँ थियो । एक दिन त्यस गाउँका एकजना तेजस्वी युवकले एउटा सन्यासीलाई गङ्गाको अर्को किनारमा हिँडिरहेको देखे । उनको मनमा ती सन्यासीप्रति आदर जागृत भयो र त्यहाँबाट ती युवकले उहाँलाई प्रणाम गरे । आदि शंकराचार्यले पनि उनको अभिवादन स्वीकार गर्नुभयो र हातले सङ्केत गरेर उनलाई आफू भएतिर बोलाउनुभयो । सङ्केत बुझेर युवकले सोचे, ‘मैले उहाँलाई सन्तको रूपमा अभिवादन गरेको छु र उहाँले पनि मेरो नमस्कार स्वीकार गर्नुभयो । त्यसैले अहिले म उहाँको शिष्य बनेको छु । उहाँले मलाई ‘यहाँ आएर भेट्न’ आदेश दिनुभएको छ, यस्तो अवस्थामा मैले गुरुको आज्ञा पालन गर्नुपर्छ । उहाँको आदेशको अवज्ञा गर्नु उचित होइन । तर मलाई त्यो किनारमा पुर्याउन यहाँ कुनै डुङ्गा र डुङ्गा ख्याउने माझी पनि छैनन् । म त पौडिन पनि सक्दिन । अब के गरुँ ?’
उनी केही बेर डुङ्गाको पर्खाइमा बसे । केही बेर पर्खँदै गर्दा मनमा अर्को विचार आयो । उसले सोचे, ‘म यसअघि सयौँ जीवनमा मरेको छु । यो जन्ममा पनि कुनै न कुनै बेला मर्नैपर्छ । गुरुदेवको आज्ञापालन गर्न खोज्दा म मरे भने पनि त्यसले मलाई कुनै हानि नहोला । बरु मेरो उद्धार नै हुनेछ ।’
यी सबै सोच्दै युवकले ‘गङ्गामाता की जय’ भन्दै गङ्गा नदीको धारामा आफ्नो खुट्टा राखे ।
वल्लो किनारमा महान् गुरु आदि शंकराचार्यले युवकलाई हेरेर उनको मनमा आएका विचारहरू पनि थाहा पाइरहनु भएको थियो । उहाँले त्यस युवकको परीक्षा लिइरहनु भएको थियो । उहाँलाई भेट्ने, उहाँको आदेश पालन गर्ने कत्तिको लगन छ, भेट्न केके प्रयास गर्नेछन् भनेर पर्खँदै हुनुहुन्थ्यो ।
उता जब ती युवकले आफ्नो गुरुलाई भेट्न गङ्गा नदीमा पाइला राखे, त्यहाँ एउटा अचम्मको घटना घट्यो । ती युवकले गङ्गा नदीमा पाइला राख्नेबित्तिकै उनको गुरुभक्ति, श्रद्धा र आदि शंकराचार्यको कृपाले त्यहाँ उनको खुट्टामुनि पद्म (कमल) उत्पन्न भयो । यसरी गङ्गा नदीको पानीमा उनले जसो–जसो पाइला चाले गङ्गा नदीमा उनको खुट्टामुनि कमल फुल्दैगयो । उनको प्रत्येक पाइलामुनि फुलेका कमलमा कुल्चँदै उनी अगाडि बढे र जहाँ आदि शंकराचार्य हुनुहुन्थ्यो त्यहाँ पुगे ।
आदि शंकराचार्यलाई आफ्ना सामु देखेर उनी उहाँको पाउमा नतमस्तक भए । उनको आँखाबाट आँसु बग्न थाल्यो र आफ्नो आँसुले उनले आदि शंकराचार्यको खुट्टा भिजाइदिए । आदि शंकराचार्य उनको समर्पणबाट धेरै प्रसन्न हुनुभएको थियो । गङ्गामा हिँड्दा जहाँ पाइला राखेका थिए त्यहाँ कमल फुलेको थियो, त्यसैले आदि शंकराचार्यले ती युवकको नाम ‘पद्मपादाचार्य’ राख्नुभयो । पछि, यी पद्मपादाचार्य श्रीमत आदिशंकराचार्यका चार मुख्य शिष्यमध्ये एक बने ।
पद्मपदाचार्यको गुरुको आज्ञा पालन गर्ने दृढ सङ्कल्प र तत्परता देखेर गङ्गामातामा कमलको उत्पन्न भएको थियो । शिष्यले दृढता, तत्परता र प्रामाणिकताका साथ गुरुको आज्ञा पालन गरेमा परिस्थिति पनि अनुकूल हुन्छ भन्ने यो घटनाले प्रमाणित गर्दछ ।
No comments:
Post a Comment