प्रत्येक वर्षझैँ कृषकहरू हलो जोत्नका लागि खेतमा गए । उनीहरूले खेतमा वरिपरि पलाएका झारहरू फाँडेर सफा गरे । अनि आफ्ना गोरु नारेर जोत्न ठिक्क परेका बेला माथि आकासमा छाएका काला बादलले ठूलो स्वरमा ती कृषकलाई सम्बोधित गर्दै भने— ‘हे कृषकहरू, व्यर्थै हलो जोत्ने काम नगर । तिमीहरू फर्किएर घर जाओ । अब हामी बर्सिन्नौँ ।’
कृषकहरूले सोधे— ‘किन नबर्सिने ? हामीबाट के भूल भयो र ?’
बादलले भने— ‘त्यसै ! हामी त्यसै बर्सिन्नौँ !!’
कृषकहरूले निकै आग्रह गरे । निकै प्रार्थना गरे । तर बादलले आफ्नो ढिपी छाडेनन् । उनीहरू बार वर्षसम्म नबर्सिने भनेर हराए ।
तर पनि ती कृषकले खेत जोते । बिउ छरे ।
पानी परेन ।
दोस्रो वर्ष पनि कृषकहरू पूरै तयारीका साथ आए ।
उनीहरूले गोरु नारेर हलो चलाए ।
फालीले माटो उधिने । बिउ छरे ।
बादल फेरि आएर ‘हामी बसिन्नौँ’ भन्दै फर्किए ।
तर कृषकहरूले आफ्नो काम पूरा गरिछाडे ।
यस पटक पनि पानी परेन ।
तेस्रो वर्ष पनि खेत जोत्न कृषकहरू खेतीसम्म पुगे ।
गोरु नारे । लाठेहरूले हलो चलाए । बिउ छरियो ।
बादल आएर भने— ‘तिमीहरू त्यसै परिश्रम गर्दैछौ । हामीले भन्यौँ नि, बार वर्षसम्म वर्सिन्नौँ भनेर । फेरि किन आएर दुःख गरेका ?’
कृषकले भने— ‘तपाईँहरू बर्सिनुस् अथवा नबर्सिनुस् हामी हलो चलाउन छोड्ने छैनौँ । बिउ छर्छौँ, परिश्रम गर्छौँ ?’
बादलले सोधे— ‘किन?’
कृषकले भने— ‘हामीले आफ्नो कर्तव्य पूरा गरेनौँ भने हाम्रा सन्ततिले पनि हाम्रै सिको गर्दै कर्तव्यबाट पन्छिनेछन् । हामीले आज हलो चलाएनौँ, खेतीलाई जोतेर बिउ छर्नयोग्य बनाएनौँ, बिउ छरेनौँ भने अभ्यासको अभावले हामीले त यी सबै कर्म गर्न बिर्सन्छौँ नै, हाम्रा सन्नतिले पनि हलो चलाउन, खेती गर्न सिक्नेछैनन् । परिश्रम गर्ने संस्कार नै लोप भएर जानेछ । त्यसैले तपाईँहरू बर्सिनुस् अथवा नबर्सिनुस्, हामी आफ्नो श्रम गर्न छाड्नेछैनौँ ।’
ती कृषकहरूको आत्मविश्वास, सङ्कल्प र उत्साह देखेर बादलहरू अभिभूत भए । यस पाली तिनिहरू निकै मजाले बर्सिए । ती कृषकहरूको मन फुरुङ्ग हुनेगरी चारैतिर खेतीबाली लहलहायो ।
___________________
[ गीताप्रेस गोरखपुरबाट प्रकाशित बोधकथा अङ्कमा छापिएको एउटा कथा । नेपाली अनुवाद— विजय प्रसाद मिश्र ]
No comments:
Post a Comment