Sunday, January 30, 2022

वेद चिन्तन | ऋतमा लागेका मानिसलाई सुमधुर कामना

ऋग्वेद प्रथम मण्डलको ९०औँ सूक्तका केही मन्त्रमा ‘मधु’ शब्द घरिघरि दोहोरिएको पाउँछौँ । सामान्यतः मधु शब्दको अर्थ मह अथवा मीठो भन्ने भाव जनाउनका लागि गरिन्छ । तर, यहाँ वेदका ऋचाहरूमा मधु शब्दले व्यापक अर्थ बोकेको छ । यहाँ मधुले सुखानुभूति, मधुरता, आनन्दप्रद अथवा श्रेयस्कर जस्ता भाव वहन गरेको छ । ऋग्वेदका यी मन्त्रमा प्रकृतिका शक्तिहरूलाई सम्बोधन गरी ‘ऋत’मा समर्पित मानिसका लागि शुभकामना, मङ्गलभावना व्यक्त गरिएको छ । यसबाहेक प्रकृतिका विभिन्न घटकप्रति सम्मान भावको दर्शन पनि यिनमा गर्न सकिन्छ ।

_______________________________________________________________________

मधु वाता ऋतायते मधु क्षरन्ति सिन्धवः । माध्वीर्नः सन्त्वोषधीः ।।६।।

भावार्थः ‘ऋतायन्’ अर्थात् यज्ञमय कर्ममा लागेका हाम्र निम्ति वायुले मधु प्रदान गरून् । तरङ्गमय जलप्रवाह भएका नदी/सागरहरूबाट पनि मधु नै चुहियोस् (प्राप्त होस्) । संसारमा उपलब्ध औषधिहरू पनि मधुमय होऊन् ।

मधु नक्तमुतोषसो मधुमत्पार्थिवं रजः । मधु द्योरस्तु नः पिता ।।७।।

भावार्थः रात्रि हाम्रा लागि मधुप्रदाता होऊन् । त्यसैगरी उषाकाल, अर्थात् सूर्योदयभन्दा अघिको दिवस–आरम्भ हुने सुखद् समय पनि मधुप्रद होऊन् । पृथ्वीका रजकण पनि मधुर होऊन् र अन्तरिक्षबाट जल प्रदान गर्ने पिता पनि मधुर होऊन् ।

(रात्रि शान्तिप्रद होऊन्, दिनको आरम्भ पनि प्रसन्नताका साथ होओस्, संसार हाम्रा निम्ति आनन्दप्रद रहोस् र आकाश एवं जलवर्षाले पनि सुखद् भाव दिने गरून् ।)

मधुमान्नो वनस्पतिर्मधुमान् अस्तु  सूर्यः । माध्वीर्गावो भवन्तु नः ।।८।।

भावार्थः वनका स्वामी ‘वनस्पति’ मधुर फल दिने बनून् । आकाशमा विचरण गरेझैँ देखिने ऋतुकर्ता सूर्यले मधुरता प्रदान गरून् । हाम्रा गाईहरू मधुर दुध दिने होऊन् । 

(गाईको सम्बन्ध भोजनका दृष्टिले वनस्पति तथा सूर्यकेतु नाडीद्वारा सूर्यबाट ऊर्जा प्राप्त गर्नेहुनाले पनि यहाँ विशिष्ट देखिन्छ । माता भनी सम्बोधन गरिने गाई आफैमा यज्ञमय जीवनकी प्रतीक हुन् ।)

विशेष भावः वेदमा प्राप्त हुने ‘ऋत’ शब्दका विविध अर्थ छन् । एउटा अर्थ प्रकृतिको नियम अथवा ईश्वरको नियम हो । ऋतको अर्को अर्थ यज्ञिय जीवनशैली अपनाउने पनि हो । यज्ञको रूढ अर्थ हो प्रज्ज्वलित अग्निमा हवि आहुति दिनु तर अधिक व्यापक अर्थमा यज्ञले निःस्वार्थ भावले सार्थक तथा कल्याणकारी कर्मसित आफूलाई जोड्नु भन्ने अर्थ पनि बोकेको हुन्छ । जो स्वार्थभन्दा माथि उठेर सबैको हितको चिन्ता गर्दछन्— सर्वभूतहिते रतः हुन्छन् यस्ता मानिसबाट प्रकृतिप्रति पनि अनुकूल व्यवहार हुन्छ । प्रकृति–पर्यावरणको अहित हुँदैन । वेदले यस्ता यज्ञमय जीवन जिउने मानिसलाई ‘ऋतायन्’ भनी सम्बोधन गरेको छ । जीवन ऋतमय बन्न सके आधिदैविक जगत् अर्थात् समग्र ब्रह्माण्ड नै हाम्रा निम्ति मधुरताले युक्त आनन्द, आरोग्य, मनःप्रसाद, सुखानुभूति आदि प्रदान गर्ने बन्छन् भन्ने भाव यहाँ उद्धृत ऋग्वेदका मन्त्रहरूमा व्यक्त भएको छ ।


__________

विजयप्रसाद मिश्र


Thursday, January 20, 2022

वेद चिन्तन | वेदमा पर्यावरण संरक्षणको प्रेरणा



जलवायु परिवर्तन आज निकै चर्चित विषय हो । पर्यावरणलाई लिएर भर्खरै मात्रै स्कटल्याण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप–२६) सम्पन्न भएको छ । जलवायु परिवर्तनका कारण भइरहेको तापक्रम वृद्धि, हिउँ पग्लिने क्रममा तीव्रता र तिनको प्रतिफल अर्थात् मानव जनधन क्षति आदि विभिन्न विषय चर्चा गरिएका छन्, गरिँदै आएका छन् । समस्या भयावह मात्र होइन विकराल नै भएपछि मात्र विभिन्न देशका शीर्ष नेतृत्वले यसरी सम्मेलन नै गर्दैआएका हुन् । समाधानका निम्ति हरित ग्यास उत्सर्जनमा कटौती गर्नुपर्ने, कोइलालाई इन्धनका रूपमा प्रयोग नगरिनुपर्ने आदि विभिन्न कोणबाट सिद्धान्त उठ्छन् । कार्य हुँदैन र पुनः उही समस्यालाई लिएर अर्को सम्मेलन गरिन्छ । यद्यपि आधिदैविक कष्टहरू त्यसपछि पनि यथावत् रहन्छन् ।

______________________________________________________

ऋतको एउटा अर्थ यज्ञिय जीवन शैली अपनाउने पनि हो । जो स्वार्थभन्दा माथि उठेर सबैको हितको चिन्ता गर्छन्— सर्वभूतहिते रतः हुन्छन् ।

______________________________________________________

यो समस्या मानवजनित नै हो । सबैको ध्यान यस तथ्यतर्फ पनि गएकै छ । तथापि उपभोगवादी संस्कृतिमा भुलेर भोगविलासका वस्तुको अनियन्त्रित प्रयोग र वैश्विकस्तरमै ठूला औद्योगिक देशहरूको आर्थिक एकाधिकारको अस्वस्थ प्रतिस्पर्धामा मानवकै संलग्नताले समस्या समाधान गर्नेभन्दा पनि बल्झाउने चाहिँ बढी गरिरहेको छ । पर्यावरण विषाक्त भइरहेको छ ।

कदाचित् प्राचीनकालका मेधावी ऋषिहरूले मानव सभ्यताको यो असभ्य आचरण आँकलन गरिसकेका थिए । त्यसैले हुनुपर्छ, उनीहरूले पर्यावरण–सन्तुलनका लागि निकै चर्चा गरेका छन् । संयमलाई सबैभन्दा बढी महत्त्वव दिने ती ऋषिहरूले मानवलाई संयमित हुनु भन्ने शिक्षा पनि दिएका छन् । किनभने असंयमकै कारण आज अनेक प्रकारका दुष्परिणाम मानव जातिले र मानवका कारण प्रकृतिले पनि भोग्नुपरिरहेको छ ।

कल्याणकारी सङ्कल्पना, शुद्ध आचरण, निर्मल वाणी एवं सुनिश्चित् गति क्रमशः ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेदका मूल विशेषता मानिन्छन् । र, पर्यावरण सन्तुलनका लागि आवश्यक पर्ने मुख्य गुणहरू पनि यिनै हुन् ।

परि + आवरण यी दुई पदहरूको मेलबाट पर्यावरण शब्द बनेको छ जसको अर्थ हो— चारैतिरबाट आवृत अर्थात् घेरिएको । यस घेराभित्र सजीव एवं निर्जीव सबै तŒव विद्यमान छन् । वैदिक ऋषिहरूले पर्यावरण संरक्षण एवं संवद्र्धनका लागि स्वमनीषाद्वारा समस्त विज्ञानलाई वैदिक मन्त्रहरूमा समाविष्ट गरेका थिए । आध्यात्मिक विषयहरू पनि नष्ट नहोऊन् भन्ने उद्देश्य लिई तिनलाई वैज्ञानिक विषयमा मिश्रित गरेका थिए । पर्यावरण संरक्षणका लागि उनीहरू आफ्नो सर्वस्व अर्पण गर्न समेत तत्पर थिए । जस्तै, अथर्ववेद (५।९।७) मा भनिएको छ—

सूर्यो मे चक्षुर्वातः प्राणोऽन्तरिक्षमात्मा पृथिवी शरीरम् ।
अस्तृतो नामाहमयमस्मि स आत्मानं निदधे द्यावपृथिवीभ्यां गोपीथाय ।।

यसको भावार्थ हो, मेरा आँखा सूर्यवत् प्रकाशमान, प्राणहरू वायुसमान गतिमान्, आत्मा अन्तरिक्ष समान मध्यवर्ती र शरीर पृथ्वीतुल्य सहनशील छ । यस्तो म, आवरणबिना प्रसिद्ध छु, सर्वज्ञात छु र आफ्नो आत्मा सूर्य एवं पृथ्वीको रक्षाका लागि अर्पित गर्दछु । यसरी वेदले प्राकृतिक तत्त्ववहरूप्रति अन्तरंग आत्मीयतालाई प्रकट गरेर तिनको संरक्षण एवं संवद्र्धनका लागि मानवलाई आह्वान गर्दछन् । यिनमा पर्यावरणको सुरक्षा, शुद्धता एवं संवद्र्धनका लागि प्रकृतिसँग विवेकपूर्ण व्यवहार, सामञ्जस्य र संवेदनशीलताका परिप्रेक्ष्यमा ऋषिहरूद्वारा प्रदान गरिएका उपदेशहरूको वर्णन पञ्चतत्त्ववहरूका सन्दर्भमा यहाँ उल्लेख गरिएको छ ।

भूमि संरक्षणको आह्वान

पृथ्वी जैविक विविधताकी पोषक तथा रक्षक हुन् । ऋषिहरूले पृथ्वीलाई माता समान स्वीकार गर्न प्रेरित गर्दै अथर्ववेद (१२।१।१२) मा भनेका छन्— माता भूमिः पुत्रोऽहम् पृथिव्याः । यो ऋषिउद्गारले भूमिरूपी माताको रक्षाका निम्ति प्रेरित गर्दछ । अथर्ववेदको समग्र पृथ्वीसूक्त यस गृहग्रहसँग मानवीय–सम्बन्ध, आत्मीयता, संवेदना, समृद्धि, कर्तव्य र रक्षा आदिको सन्देशले परिपूर्ण छ । पृथ्वी संरक्षणका निम्ति व्यक्त भाव निम्नानुसार छ—

यत्ते भूमे विखनामि क्षिप्रं तदपि रोहतु । 
मा ते मर्म विमृग्वरि मा ते हृदयमर्पिपम् ।। (अथर्व० १२।१।३५)

हे भूमि ! हलोद्वारा जोतेर जे रोपण गर्छु त्यो चाँडै उत्पन्न होस् । म तिम्रो मर्मस्थलमा चोट गर्न नसकूँ र तिम्रो हृदयलाई हानी नपुर्‍याऊँ । पृथ्वीका पोषक अंश नै उनको मर्म हो । त्यसलाई हानी नपुर्‍याउने यस कामनाले स्वतः भूमि संरक्षणको भाव व्यक्त गर्दछ ।

वेदमा यस्ता अन्य मन्त्र पनि छन् जसमा पृथ्वीको काख नीरोगी होस् अर्थात् हामीले पृथ्वीलाई दूषित नगरौँ, र दीर्घकालसम्म हामी मानवले आफ्नो आयुलाई जागृत गर्दै, वृद्धि गर्दै पृथ्वीकै निम्ति प्राण–उत्सर्ग गर्नेसम्मको चर्चा छ । अथर्ववेदमा आत्मोत्सर्गको यो सन्देश भूमि–संरक्षणका लागि समस्त विश्वका निम्ति मार्गदर्शक छ ।

जल संरक्षणका निम्ति आह्वान

ऋग्वेद (१।२३।१९) मा ऋषि मेधातिथि भन्नुहुन्छ— 

अप्स्वऽन्तरमृतमप्सु भेषजमपामुत प्रशस्तये । 
देवा भवत वाजिनः ।। 

यसको भावार्थ हो हे मनुष्य ! अमृत–समान गुणकारी जल भेषज अर्थात् औषधि हुन् । यिनको सदुपयोग, प्रशंसा एवं स्तुतिगर्ने बन । यसैबाट तिमी शक्तिसम्पन्न हुनेछौ । मानव स्वास्थ्यलाई प्रभावित गर्ने नदीहरूलाई ती मेधाका शीर्षस्थ व्यक्तित्वहरूले मातृवत् पूजा गरेका छन् । ऋग्वेद (१०।१७।१०) मा जल हाम्री माता हुन् भन्दै घृतसमान जलले बलयुक्त र पवित्र बन्न प्रेरित गरेका छन् । जहाँ पनि यस्तो जलको रक्षा गर्न ऋषि आवह्वान गर्दछन् । 

अथर्ववेद (१९।२।४) मा अन्तरिक्षबाट वृष्टि हुने जलमा पोषक तत्त्व प्राप्त हुने तथ्य उल्लेख भएको छ । त्यहाँ भनिएको छ— हे मनुष्यहरू ! आकासमा बस्ने स्रोतहरूबाट निस्कने जलमा पोषण शक्ति हुन्छ । यो निश्चिय हो भन्ने ठान र यिनलाई प्रयोग गरी आलस्य नगर्ने, वेगवान् एवं बलशाली बन ।

अथर्ववेद (१।६।१) मा भनिएको छ— 

शं नो देवीरभिष्टये आपो भवन्तु पीतये । शं योरभिस्रवन्तु नः ।। 

अर्थात् दिव्यगुणहरूले युक्त जल हाम्रो अभीष्ट सिद्धि गर्ने, रोगमाथि आक्रमण गर्ने, पिउनमा उपयोगी तथा रक्षा गर्नका निम्ति सुखदायक होऊन् । हाम्रो रोगको शान्तिका लागि र अभय प्रदान गर्नका लागि चारैतिरबाट बर्सिऊन् । अथर्ववेद (१।६।४)मा ‘शिवा नः सन्तु वार्षिकीः’ भन्दै वर्षाको जल हाम्रा निम्ति कल्याणकारी होऊन भन्ने कामना गरिएको छ ।

यजुर्वेद (६।२२)ले ‘मा आपो हिंसीः’ भन्दै जल–हिंसा नगर अर्थात् जललाई प्रदूषित नगर, हानी नपुर्‍याऊ भनी आदेश नै दिएको छ ।

वायु संरक्षण गर्न आह्वान

जीवन सञ्चालन र रक्षाका लागि पर्यावरणबाट पाइने अक्सिजनलाई वेदहरूमा प्राणवायु भनिएको छ । अथर्ववेद (२।२०।४–५) मा अथर्वा ऋषि भन्नुहुन्छ— 

‘वायो यत्ते शोचिस्तेन तं प्रति योऽस्मान् द्वेष्टि यं वयं द्विष्मः । 
वायो यत्ते तेजस्तेन तमतेजसं कृणु योऽस्मान् द्वेष्टि यं वयं बिष्म ।’ 

यी दुई मन्त्रको भावार्थ हो, वायु सबैभन्दा ठूलो शोधक तत्त्व हो । यसलाई हानी पुर्‍याउनाले त्यसबाट हुने क्षति हामी सबैले बेहोर्नुपर्छ । हे वायु ! तिम्रो शोधनीय शक्तिले ती दोषहरू पन्छाइदेऊ जसले हाम्रो अहित गर्दछ । 

यी कुराका लागि आजको पर्यावरणको परिदृश्य स्वतः प्रमाण छ । हामी मानवले वायुलाई प्रदूषित गर्दछौँ र परिणामस्वरूप प्रदूषित वायुका कारण हामी व्याधिग्रस्त बन्न पुग्छौँ ।

ऋग्वेदको दसौँ मण्डलको १५८ औँ सूक्तको पहिलो मन्त्रमा प्रार्थना गरिएको छ— पातु वातो अन्तरिक्षात् । अर्थात् वायुले अन्तरिक्षका विकारहरूबाट हाम्रो रक्षा गरून् ।

वायुमा जीवनदायिनी शक्ति छ । यसैले, वायुको स्वच्छता पर्यावरणको अनुकूलताका लागि परम अपेक्षित छ । वेदहरूमा वायुकी स्तुति गरिएको छ । यी सबै प्रार्थना पर्यावरणप्रति ऋषि मेधाको चेतनाका बिम्ब हुन् । यिनले हामीलाई घच्घच्याइरहेका छन्— हे मानव, प्रकृतिलाई प्रतिकूल नबनाऊ । अन्यथा धेरै हानीका भागी हुनेछौ । 

वेदहरूमा जल, पृथ्वी, वायु, अग्नि, वनस्पति, अन्तरिक्ष, आकाश आदिप्रति असीम श्रद्धा भाव राख्नमा निकै जोड दिइएको छ । तत्त्वदर्शी ऋषिको उपदेशअनुसार जीवन निर्वाह गर्ने हो भने वातावरणीय असन्तुलनको समस्या नै आउन सक्दैन । जीवनशैलीमा अवाञ्छित परिवर्तनका कारण आज जल प्रदूषण, वायु प्रदूषण, माटो प्रदूषणको समस्या चारैतिर व्याप्त छ । मूलतः यो जीवनशैलीमा आएको प्रदूषणकै परिणाम हो ।

पर्यावरण संरक्षणका लागि वेदमा के कुरामा जोड दिइएको छ भने नियमानुसार आफ्नो कार्य गरिरहेकी प्रकृतिजस्तै यदि मानव पनि प्रकृतिका नियमित शासनमा आफ्नो कार्य गर्ने अर्थात् पर्यावरणको नैसर्गिक चक्रलाई नतोडिकन, त्यसको अनुकूल रहेर कार्य गर्ने हो भने प्रकृति सुरक्षित रहनेछिन् । साथै प्रकृतिको नियमानुसार गरिएका कार्य पनि कल्याण एवं शान्ति–प्रदायक बन्नेछन् । पर्यावरणको सुरक्षाका लागि प्रकृतिबाट प्रेरणा लिन ऋषिहरूले प्रदान गरेको सङ्केतलाई हामीले बुझ्नसक्नुपर्छ ।

वेदमा ‘ऋत’ भन्ने शब्द आउँछ । यसका विभिन्न अर्थ छन् । यसको एउटा अर्थ हो प्रकृतिको शाश्वत नियम । उचित अथवा ठीक भनी जनाउने अंग्रेजीको ‘राइट’ पनि यसै शब्दबाट बनेको हो कि भन्ने भान पर्छ । ऋतको एउटा अर्थ यज्ञिय जीवन शैली अपनाउने पनि हो । जो स्वार्थभन्दा माथि उठेर सबैको हितको चिन्ता गर्छन्— सर्वभूतहिते रतः हुन्छन् । यस्ता सबै कार्य सम्यक् गर्ने, यज्ञमय जीवन जिउनेहरूका निम्ति यजुर्वेदमा ‘ऋतायन्’ शब्द प्रयोग भएको छ । यस्ता सुन्दर जीवन बनाउने ऋतायनका लागि शुक्ल–यजुर्वेद (१३.२७–२९)को शाश्वत सन्देश छ— 

मधुरताले युक्त सरस पवित्र हावा गतिशील रहोस् । सागर माधुर्यताले भरिभराउ होऊन् । औषधि मधुर भइदिऊन् । रात माधुर्यतायुक्त होस् र उषाकाल आर्थत् दिन पनि मधुर बनून् । धर्तीको माटोदेखि अन्तरिक्षसम्म मधुमय बनून् । पृथ्वी माता र अन्तरिक्ष पितातुल्य बनेर ऋतायनका लागि सदैव मधुर हितकारी बनून् । वनस्पतिमा मधुरता होस् । सूर्य माधुर्ययुक्त होस्, गाई माध्वी अर्थात् माधुर्यपूर्ण दूध दिने होऊन् । 

हाम्रो जीवन ऋतमय बनेमा आधिदैविक जगत् समग्र ब्रह्माण्ड नै हाम्रा निम्ति अनुकूल, सुमधुर बन्नेछ । जीवनबाट ऋत पन्छियो अर्थात् मानवले ऋतको नियम भङ्ग गरेभने मात्र आधिदैविक कष्टहरू आइलाग्छन् । यसर्थ हाम्रो जीवनचर्या प्रकृतिका निम्ति अनुकूल छ कि प्रतिकूल छ, यसतर्फ ध्यान दिन अनिवार्य, अपरिहार्य भइसकेको छ । समग्रमा भन्नुपर्दा मङ्गलमा जीवन खोज्नेतिर ध्यान दिइरहँदा जीवनमै मङ्गल स्थापित गर्न बिर्सनु हुँदैन ।



___________

विजयप्रसाद मिश्र (हिमाल दृष्टिमा प्रकाशित लेख)

Wednesday, January 19, 2022

व्यक्ति निर्माणको अभिनव पद्धति दैनिक शाखा



दैनिक शाखा के हो ?

यस विषयमा परम पूजनीय श्रीगुरुजीको भनाइ यहाँ उल्लेख गर्नु उचित हुन्छ । उहाँ भन्नुहुन्छ— 

“संगठित जीवनका लागि आत्मीयतापूर्ण सम्बन्ध र अनुशासनबद्ध रूपमा कार्य गर्ने सिद्धता, दुबै आवश्यक छन् । यसका लागि हामीले प्रतिदिन, निश्चित स्थान तथा निश्चित समयमा एकत्रित भएर, भिन्न–भिन्न प्रकारका कार्यक्रमहरूको माध्यमबाट यी गुणहरू प्राप्त गर्ने सङ्कल्प लिएका छौँ । कुनै एक स्थानमा एकत्र भई आउनु, पवित्र ध्वजलाई प्रणाम गर्नु, त्यसको छत्रछायामा अनुशासन र आत्मीत्यता बढाउने प्रकृतिका कार्यक्रमहरूको अभ्यास गर्नु, त्यसपछि आफ्नो ध्येयको स्मरण गर्नका लागि पवित्र प्रार्थना उच्चारण गर्नु, ध्वजलाई प्रणाम गर्नु, ध्वजलाई त्यस दिनका लागि विसर्जित गरी आ–आफ्नो दैनिक जीवनका कार्यहरूलाई ध्येय–अनुरूप समर्पण भावले गरिरहने प्रेरणा लिएर घर जानु, यो हाम्रो कार्यको स्वरूप हो । यस प्रकार संगठित जीवन निर्माण गर्नका लागि हामीले अत्यन्त सरल पद्धति आफ्ना सामु राखेका छौँ । यसैलाई हामी हाम्रो शाखा भन्ने गर्छौँ ।”

‘शाखा’ सबै कार्यहरूका लागि अधिष्ठान हो किनभने प्रत्येक कार्यका लागि आवश्यक योग्य, समर्पित, ध्येयनिष्ठ कार्यकर्ताहरूको निर्माण यस पद्धतिबाट नै सम्भव छ । यस्तो हिन्दू स्वयंसेवक संघ नेपालको दृढ विचार एवं व्यवहार छ । यस्तो दैनिक मिलनको अभिनव (नयाँ) कार्यपद्धतिको विकास संघले गरेको हो ।


शाखा पद्धतिलाई अभिनव किन भनियो ? 

डाक्टर हेडगेवारले व्यक्ति निर्माणको सुन्दर सङ्कल्पना हामीलाई दिनुभएको छ । त्यसलाई हामी अभिनव उपाय— अर्थात् नौलो उपाय भन्ने गर्छौँ । पुराना उपाय पनि हुन सक्छन् । ‘अभिनव उपाय’ किन भनियो ? पुराना उपाय पनि थिए । पहिले परिवार, मन्दिर, गाउँ, गाउँका विद्यालय, गुरुकुल, अध्यापक÷आचार्य, पुरोहित, पाठशाला, मन्दिरका उत्सव, धर्मव्याख्या, पुराणआधारित नटनाट्य आदिबाट संस्कार दिने कार्य हुन्थ्यो । यी सबै संस्कार केन्द्र थिए । पछिल्लो समयमा के भयो भने यी सबै आफ्नो संस्कार दिने व्यवस्थामा चाहिँ निस्क्रिय भए । आज परिवार साँघुरिएका छन् । विद्यालयले रोजगारीसम्मको शिक्षा दिए पनि त्यहाँ रोजगारीको ग्यारेन्टी हुँदैन । मन्दिरहरू दर्शनस्थल र पर्यटकीय गन्तव्य त बने तर संस्कार–आधानको गरिमामय दायित्व निर्वाह हुन छाड्यो । यस दृष्टिले यी सबै संस्था संस्कार दिने स्थलका आधारमा निरर्थक बन्दै गए । अब यिनको सार्थकता हिन्दुत्व विचारको व्यापकतामा मात्र सम्भव छ । जुन दिन हिन्दुत्व विचार स्वदेश–स्वराष्ट्रमा व्याप्त हुन्छ, जनजनमा हुन्छ तब यी सबै केन्द्र पुनः जागृत हुनेछन् भन्ने कुरामा विश्वास गर्न सकिन्छ । तर, अहिलेलाई एउटा नयाँ उपाय अपरिहार्य छ ।


शाखाको स्वरूप र उद्देश्य

दैनिक मिलनको पद्धति: एउटै क्षेत्रका स्वयंसेवकहरू नियमित रूपमा प्रतिदिन निश्चित् समय एवं निश्चित् स्थानमा एकत्रित हुनु शाखाको स्वरूप हो ।

व्यक्ति (संस्कारित हिन्दू) निर्माण नै शाखाको उद्देश्यः कस्तो व्यक्ति निर्मित हुनुपर्छ यस विषयमा माथि उल्लेख गरिएको— आत्मीयतापूर्ण सम्बन्धले युक्त र अनुशासनबद्ध रूपमा कार्य गर्ने सिद्धता भएको व्यक्ति । भिन्न शब्दावलीमा भन्नुपर्दा— हिन्दू स्वयंसेवक संघ नेपालको वैचारिक अधिष्ठान हिन्दुत्व हो । संघले जुन विचारका आधारमा र जुन विचारका लागि कार्य गर्दछ त्यो हिन्दुत्व हो । यही हिन्दुत्व–विचारले युक्त र संघले अपेक्षा गरेका गुणले सम्पन्न तथा संघको व्यवस्था अनुसार चल्ने व्यक्ति अर्थात् ‘स्वयंसेवक’ निर्माण गर्नु नै शाखाको उद्देश्य हो ।

व्यक्तिको विकासका निम्ति आवश्यक गुणहरूले मन–मस्तिष्क एवं भावनालाई संस्कारित गर्नु तथा उसमा हुने स्वाभाविक दोषहरू पन्छाउनका लागि निरन्तर संस्कार, अभ्यास, ध्येय–अनुरूपको सत्संग हुन आवश्यक छ । यसै दृष्टिले शाखा एक घण्टाको संस्कार योजना हो ।

निरन्तरता :  यस्तो संस्कार एकै दिनमा निर्मित हुँदैन । यसका लागि संस्कार–सम्पन्न वातावरणमा नित्य तथा निरन्तर एकत्रिकरण हुन आवश्यक भएकाले नै शाखा–पद्धति विकास गरिएको हो । यसर्थ शाखामा नित्य उपस्थिति अपेक्षित हुन्छ । 


शाखाका कार्यक्रम

शाखामा विशेष गरी दुई प्रकारका कार्यक्रम हुन्छन् । व्यायाम, योग, प्राणायाम, सूर्य नमस्कार, खेलकूद आदिलाई शारीरिक कार्यक्रम भनिन्छ । स्वयंसेवकहरूको उमेर अनुसार नै व्यायाम र खेलहरूको चयन गरिन्छ । यी सबै मिलाएर लगभग ४० मिनेटको शारीरिक कार्यक्रम हुन्छ । त्यसपछि नजिक–नजिकै गोलो घेरा गरेर अथवा दुई–चार पंक्तिमा भुइँमा बसेर बौद्धिक कार्यक्रमहरू– गीत, सुभाषित, प्रेरक प्रसंग, प्रवचन, चर्चा आदि गरिन्छ । गीत र सुभाषित सामूहिक हुन्छ । चर्चा विविध सामयिक विषयहरूमा गरिन्छ । सबै बौद्धिक क्रियाकलापका लागि लगभग २० मिनटको समय हुन्छ । 

शाखाका दैनिक कार्यक्रमहरूबाट उत्साह, पराक्रम, निर्भयता, अनुशासन, सूत्रबद्धता, विजयवृति आदि निर्मित हुन्छन् ।

Saturday, January 15, 2022

साधारण देखिने शाखाको असाधारण महत्त्व



संघको शाखा हेर्दामा निकै साधारण हुन्छ एक घण्टाका लागि केही बालक अथवा युवा या वयस्क मानिस भेला हुन्छन् केही बेर शारीरिक सुगठनका लागि व्यायामहरू गर्छन् खेल खेल्छन् अनि प्रायः गोलो घेरा बनाइ बसेर गीत गाउने, साना कथा भन्ने अथवा चर्चा गर्ने गर्छन् यी क्रियाकलापका आधारमा मात्र हेर्ने हो भने शाखा सामान्य कुरो झैँ देखिन्छ निकै साधारण काम जस्तै तर, शाखा यति मात्र हो ?

एउटा स्वयंसेवकका लागि शाखाको विशेष महत्त्व हुने गर्दछ । यही शाखाका कारण कुनै व्यक्ति स्वयंसेवक बन्दछ । शाखाकै प्रभावले गर्दा एउटा व्यक्तिमा जीवन–मूल्य आधारित आचार–विचार र स्वभाव आदिको निर्माण हुने गर्दछ । केके छन् त दैनिक शाखाका विशेषताहरू ? आउनुस् चर्चा गरौँ—

१. समरसताः हिन्दू स्वयंसेवक संघको दैनिक शाखामा निजी स्वार्थ, व्यक्तिगत हित आदि बिर्सिएर भेदभाव, जात–पात जस्ता विकारलाई पन्छाएर स्वयंसेवकहरू समावेश हुन्छन् । कतिसम्म भने स्वयंसेवकहरू एकआपसमा नामले बोलाउनु पर्दा पनि नामका पछाडि ‘जी’ लगाएर अर्थात् थर अथवा जात–सूचक शब्द प्रयोग नगरिकन सम्बोधन गर्दछन् । शाखामा सबै ‘हिन्दू’ हुन्छन् र एकअर्काका बन्धु हुन्छन् । यो आदर्श बन्धुत्व भाव समग्र समाजमा व्याप्त हुनसके समाजमा भेदभाव र त्यसकारण जन्मलिने अनेक कुरीतिहरू स्वतः समाप्त हुँदै जानेथिए र समरस हिन्दू समाजको निर्माण हुनेथियो । शाखाबाट पाएको यो बन्धुत्वको संस्कार एउटा स्वयंसेवकमा आजीवन अमीट बनेर बस्दछ । यहाँ पूजनीय मधुकर दत्तात्रेय देवरस ‘बालासाहब देवरस’ज्यूको भनाइ स्मरणीय छ । उहाँ भन्नुहुन्थ्यो— “यदि अस्पृश्यता पाप होइन भने संसारमा अन्य कुनै पाप हुनै सक्दैन ।”


२. सामूहिकताः संघको शाखामा सबै कार्यक्रम सामूहिक रूपमै गरिन्छन् । शरीरको स्वास्थ्य र सबलताका लागि गरिने शारीरिक कार्यक्रमहरूदेखि लिएर बौद्धिक र भावनात्मक विकासका लागि गरिने कार्यक्रम अनि मनोरञ्जनका लागि खेलिने खेलहरू सबै सामूहिक हुन्छन् । यसरी व्यक्तिमा कुनै पनि कार्य सामूहिक रूपमै गर्ने प्रवृत्ति विकसित हुन्छ ।


३. समयनिष्ठाः शाखाका लागि समय निर्धारित हुन्छ । त्यस्तै, शाखामा सञ्चालन गरिने सबै प्रकारका कार्यक्रमका लागि पनि समय निर्धारित हुन्छ । जस्तै, शाखामा सम्पत्, ध्वजारोहण, अनिवार्य शारीरिक–बौद्धिक, वैकल्पिक शारीरिक–बौद्धिक, खेल आदि सबै निश्चित् समयमा हुनेगर्दछ । सबै कार्यक्रमका लागि समय पूर्वनिर्धारित हुन्छन् । यसबाट निश्चित् एवं निर्धारित समयमा जुन कार्य गर्नु अपेक्षित छ त्यही कार्य गर्नुपर्छ भन्ने भाव पनि स्वयंसेवकमा संस्कारका रूपमा बस्दछ ।


४. पूर्व–योजना, पूर्ण–योजनाः शाखामा कुनै पनि कार्य कुनै एक स्वयंसेवकको मनमा जागृत भयो र गरिहालौँ भन्ने आधारमा गरिँदैन । कतिसम्म भने दैनिक शाखाका लागि केकस्ता कार्यक्रम कति समयसम्म गर्ने भन्ने विषय पनि पूर्व योजनाका आधारमा निर्धारित हुन्छ । यसका लागि शाखा टोलीले निश्चित् अवधिमा बैठक बसी आपसी विमर्श गर्दछन् । पूर्ण योजना भन्नाले कार्य अथवा कार्यक्रमका लागि जेजति विषयवस्तु आवश्यक छ सबै कुरालाई आफ्ना ध्यानमा ल्याएर योजनालाई पूर्णता दिनु हो । जस्तै, एक महिनाका लागि शाखामा गरिने अमृतवचन, गीत, सुभाषित आदि केके राख्ने, कसले नियमित रूपमा ती विषय प्रस्तुत गर्ने आदि सबै कुरा बैठकबाटै निर्धारित गरिन्छ । यसबाट स्वयंसेवकले व्यक्तिगत, पारिवारिक अथवा सामाजिक जीवनमा पनि योजना कसरी गर्ने, केके गर्ने भन्ने कुरा राम्ररी सिक्ने अवसर प्राप्त गर्दछ ।


५. दायित्वबोधः शाखामा हुने कार्यक्रम, क्रियाकलाप आदिका लागि स्वयंसेवकहरूलाई दायित्व दिइन्छ । जस्तै शाखा सञ्चालन गर्ने दायित्व मुख्य शिक्षकको हुन्छ । स्वयंसेवकहरूलाई आ–आफ्नो टोलबाट लिएर आउने, नआएको खण्डमा कारण बुझ्ने र परिवारसम्म सम्पर्क  स्थापना गर्ने दायित्व गटनायकको हुन्छ । शारीरिक कार्यक्रमहरू गण अनुसार चल्दछन् भने त्यसमा प्रत्येक गणका लागि गणशिक्षकको दायित्व कुनै न कुनै स्वयंसेवकलाई दिइन्छ । यसका लागि योग्यताको विकास गर्न नैपुण्य, घोष आदि विभिन्न वर्गहरू लाग्दछन् । बौद्धिक कार्यक्रमका लागि कसले गीता सञ्चालन गर्ने, कसले अमृतवचन भन्ने आदि दायित्व दिइन्छ । ध्वज लगाउने र प्रार्थना भन्ने पनि दायित्व नै दिइएको हुन्छ । यसरी आफूले पाएको दायित्वलाई राम्ररी बुझेर त्यस अनुरूप कर्तव्य निर्वाह गर्ने दृढता स्वयंसेवकमा विकास हुन्छ । यससँगै, स्वयंसेवकले शाखामा अधिकारको होइन कर्तव्यको पाठ सिक्छन् । ‘मेरो जीवन मेरो अधिकार’ होइन ‘मेरो जीवन मेरो दायित्व’ हो भन्ने भाव निर्मित हुन्छ शाखाबाट । जसरी मेरो जीवन मेरो दायित्व हो, त्यसैगरि मेरो परिवार पनि मेरो दायित्व हो, मेरो समाज पनि मेरो दायित्व हो र राष्ट्र पनि दायित्व नै हो भन्ने भाव निर्माण हुन्छ ।


६. सामाजिक कार्य गर्ने दिशाबोधः शाखामा सेवाकार्यलाई पनि निकै महत्त्व दिइन्छ । संघस्थानको स्वच्छता, रेखाङ्कनदेखि लिएर स्थानीय मठ–मन्दिर, सेवा बस्ती आदिमा सेवाकार्य गर्ने अनुभव स्वयंसेवकले शाखाका माध्यमबाट प्राप्त गर्दछन् । यस्तै, शाखाको वार्षिकोत्सव कार्यक्रम, विभिन्न नियमित उत्सवहरू कसरी सञ्चालन र कुशलतापूर्वक सम्पन्न गर्ने भन्ने अभ्यास पनि शाखाबाट प्राप्त हुन्छ । यसरी, संघको शाखामा नियमित जाने एउटा स्वयंसेवकले व्यक्तिगत हित मात्रको चिन्ता छोडेर कसरी समग्र समाजकै लागि चिन्तन गर्नसकिन्छ भन्ने दिशातिर सोच्न थाल्दछ । उसले आफ्नो जीवनमा जस्तोसुकै कार्य अँगाले पनि उसको समर्पण भाव समग्र समाजका लागि हुने गर्दछ । सामाजिकताको यो भाव संस्कारकै रूपमा स्वयंसेवकको व्यक्तित्वमा अङ्कित हुन्छ ।


यहाँ केही बुँदा मात्रको चर्चा गरिएको छ तर यी बुँदालाई राम्ररी बुझ्ने हो भने स्पष्ट हुन्छ नियमित शाखामा जानु र मनःपूर्वक सहभागि हुनु भनेको देशभक्ति, समाजसेवा जस्ता सिद्धान्तलाई प्रत्यक्ष अनुभव गर्नु हो । शाखा आफैमा राष्ट्रभक्तिको प्रकट स्वरूप हो ।

जन्मदिन कसरी मनाउने ?

जन्मदिन त्यो शुभ पर्व हो, जुन दिन परमात्माले तपाईंलाई आत्मविकासको अनन्त सम्भावनाहरूले परिपूर्ण मानव जीवन सर्वोत्तम उपहारका रूपमा प्रदान गर्नुभयो । एउटा दियो बाल्नुभयो, यस आशाका साथ कि स्वयं प्रकाशित रहेर अरूका निम्ति पनि ऊर्जासम्पन्न दीपक बन्नुहुनेछ । जगतलाई प्रकाशित गर्नुहुनेछ । 

यसर्थ तपाईँले दियो निभाएर होइन दियो बालेर जन्मदिन मनाउनुहोस् । सकेसम्म अष्टचिरञ्जीविको पूजा गरेर, यज्ञभावले हवनादि गरेर जन्मदिन मनाउनु श्रेयस्कर हुन्छ । अथवा, त्यो विधि वर्षैपिच्छे गर्न सहज नहुने भए केही यस्ता उपाय छन् जसलाई अवलम्बन गर्दा तपाईँको जन्मदिन एउटा सार्थक दिवस बन्नेछ ।

   जसको जन्मदिन मनाउनु पर्ने हुन्छ उसले ब्रह्ममुहूर्तमा उठी स्नानादि प्रातः कालको नित्य कर्म गरेर—

.  देव अर्चन—  दीप प्रज्ज्वलन, कलस पूजन, हवन आदि गरेर बालक/बालिकालाई तिलक (टिका) लगाइदिने

.  दानको सङ्कल्पउपहार लिनुभन्दा पनि दान दिनु उत्तम हुन्छ अतः सामर्थ्य अनुसार दान दिने परम्परा बसाल्ने यसका लागि विपन्न वर्गका, अभिभावक नभएका बालबालिकाहरूको सहायताका लागि चलाइएका बालगृह, छात्रावास आदिमा आवश्यक पर्ने खाद्य सामग्री, कपि, कलम, लुगा आदि दान दिन सकिन्छ यसले समाजको सेवा पनि हुन्छ जन्मदिन मनाउने बालकबालिकाको हृदयमा आनन्द पनि हुन्छ

.    गौग्रासगाई श्रद्धाकी केन्द्र हुन् अतः गाईलाई गोग्रास खुवाउनुपर्छ । यो नित्य गरिनुपर्ने कृत्य हो तथापि जन्मदिनमा विशेषतः बालबालिकालाई यो कार्यसँग जोड्ने हो भने उनीहरूको मनमा गौ–सेवा गर्नुपर्छ भन्ने भाव अङ्कित रहनेछ । उनीहरू आफ्नो श्रेष्ठ संस्कृति र परम्परासित जुडिरहनेछन् ।

.  वृक्षरोपणजन्मदिवसमा एक वा एकभन्दा अधिक बिरूवा रोपेर वर्षभरी (राम्रो गरी हुर्किएसम्म) त्यसको संरक्षण गर्ने सङ्कल्प लिने

.  आशीर्वाद आफूभन्दा ठूला, मान्यजनबाटलाई अभिवादन गर्दै आशीर्वाद लिने उनीहरूको सेवा सत्कार गर्ने

.  सद्गुणको सङ्कल्प — अबको एक वर्षमा केही राम्रा गुणहरू, जस्तैसेवा, सत्य, अक्रोध, मीठो बोल्ने, शुद्धता, सभ्य आचरण जस्ता गुणलाई आफ्नो जीवनमा समाहित गर्ने, त्यसको बानी बसाल्ने सङ्कल्प लिएर त्यसको अभ्यास गर्ने

.  दीप प्रज्ज्वलन  — बलेको बत्ती निभ्नु अथवा निभाउनु अशुभ मानिन्छ मैनबत्ती निभाएर हैन बरू त्यसको सट्टा गाईको घिउमा दिनभरी बल्ने गरी दियो बालेर, त्यसको पूजन गरेर जन्मदिन मनाउनु सार्थक हुन्छ यसले दीयो झैं उज्वल जीवनको कामना गरेको अर्थ बुझ्न सकिन्छ

 


आशीर्वाद मन्त्र (स्वस्ति वाचक मन्त्र)

शतं जीव शरदो वर्धमानः
शतं हेमन्ताञ्छतमु वसन्तान् ।
शतमिन्द्राग्नी सविता बृहस्पतिः
शतायुषा हरिवषेम पुनर्दुः ।।

 

अर्थहे बालक/बालिके वा यजमान ! तिमी वृद्धि प्राप्त गर्दै सय शरद ऋतु, हेमन्त ऋतु, वसन्त ऋतुहरूसम्म बाँच विद्युत अग्नि अथवा ऐश्वर्यशाली सर्वज्ञ परमात्मा, सूर्य त्यसका स्वामी परमात्मा सय वर्षको साधनरूपी भोग सामग्रीले यसलाई (शतम् पुनः) एक सय वर्ष परिमित आयु निश्चय नै घरिघरि प्रदान गरून्

मातापिताको सेवा ईश्वरकै सेवा | भक्त पुण्डरीकको कथा


कुरो भारतको महाराष्ट्रको हो । त्यहाँ पण्ढरपुर नामको एउटा गाउँ छ । त्यस गाउँमा पुण्डरीक नामका युवा आफ्ना आमा–बुवासँगै बस्ने गर्दथे । उनी मनमनै भगवान्लाई स्मरण गर्दथे तर सेवा चाहिँ आफ्ना बूढा आमा–बुवाकै गर्दथे । आमा–बुवाको सेवा नै उनका लागि सर्वोपरि कर्म थियो । 

एक दिन पुण्डरीकको सेवाभक्तिबाट प्रसन्न हुनुभएका भगवान् स्वयं नै उनलाई दर्शन दिन भनी पुण्डरीकको घर आउनुभयो । त्यसबेला पुण्डरीक आफ्ना आमा–बुवालाई भोजन गराउँदै थिए । आफ्ना माता–पिताको आनन्द नै उनको आनन्द थियो । यसरि सेवा गरिरहेका बेला उनको घरको आँगनमै पुग्नुभएका प्रभुले भन्नुभयो, “बाबु पुण्डरीक ! म आएको छु ।” 

पुण्डरीकले भने, “भगवन्, यतिबेला म आमाबुवाको सेवामा व्यस्त छु ।” आफ्ना घरमा आएको पाहुनालाई बस्न आसन दिनुपर्छ । पुण्डरीकले भित्रबाट एउटा ईटा फ्याँकेर एकछिन् त्यसैमा उभिन भनी भगवान्लाई अनुरोध गरे, “प्रभु ! केही बेर बाहिरै पर्खनुस् न है !”

भगवान्लाई नै पर्खाउने यस्तो शक्ति मातापिताको सेवा गर्नेमा आउँछ । भगवान्ले पनि पुण्डरीकको सानो परीक्षा लिन खोज्नुभयो । भगवान्ले भन्नुभयो, “तिम्रो घरमा ब्रह्माण्डकै स्वामी लक्ष्मीका पति आउनु भएको छ ।”

पुण्डरीकले भने– “हजुर यहाँ आउनु धेरै राम्रो कुरा हो । म हजुरको नित्य–निरन्तर स्मरण गर्दछु । म हजुरलाई पुज्छु । तर यतिबेला मैले हजुरको सेवा गर्ने समय होइन, मेरा आमा–बुवाको सेवा गर्ने समय हो ।”

परीक्षाकै निम्ति भगवान्ले फेरि भन्नुभयो, “तिमीलाई मैले दर्शन दिन आउँदा पनि तिमी आएनौ भने म यहाँबाट जानुपर्छ !”

पुण्डरीकले भने, “हजुरको इच्छा हो प्रभु । मैले सेवाको काम बीचमा छोड्न मिल्दैन । यसले मेरा आमा–बुवालाई असजिलो हुन्छ !” पुण्डरीकले मातापिताको सेवा छोडेनन् । उनलाई विश्वास थियो भगवान् गए पनि यहाँ फर्केर आउनुहुनेछ । श्रीकृष्णले संसारलाई आकर्षित गर्नुहुन्छ तर मातापिताको सेवा गर्नेले परमात्मालाई आकर्षित गर्दछन् ।

निकै बेरपछि पुण्डरीक बाहिर आए । भगवान् उनले भित्रबाट फ्याँकेको ईटामै उभिइरहनु भएको थियो । पुण्डरीकलाई दर्शन दिँदै भगवान्ले भन्नुभयो, “मलाई पाउनका लागि मानिस कठोर तपस्या गर्दछन् । म उनीहरूलाई प्रतीक्षा गराउँछु । तर, आज तिमीले नै मलाई पर्खन लायौ ?”

पुण्डरीकले भने, “प्रभु, जुन माता–पिताको सेवा व्रतले हजुरलाई यहाँ मेरा घरसम्म आउन बाध्य बनायो, त्यही व्रत मैले कसरी छोड्न सक्थेँ र !”

प्रसन्न हुनुभएका भगवान्ले वरदान माग्न आग्रह गर्दा पुण्डरीकले भक्तहरूमाथि कृपा गरिरहनु हुन अनुरोध गरे । पुण्डरीकले भगवान्लाई उभिनको लागि ईटा दिएका थिए । भगवान् ईटामाथि उभिएर पुण्डरीकलाई पर्खिरहनुभएको थियो । भगवान् पर्खिरहँदा थाकेर कम्मरमा हात राख्नुपर्ने भयो । आज पनि पण्ढरपुरमा पाण्डुरङ्ग बिठ्ठल भगवान् कम्मरमा हात राखेर ईटामा उभिनुभएको मूर्तिको पूजा गरिन्छ ।

भगवान्ले गीता (९।२७)मा भन्नुभएको छ— 

“तिमी जे गर्दछौ, जे खान्छौ, जे हवन गर्दछौ, जे दान गर्छौ, र जस्तो तपस्या गर्छौ, त्यो सबै मलाई समर्पण गरेर गर ।”

यत्करोषि यदश्न‍ासि यज्ज‍ुहोषि ददासि यत् ।
यत्तपस्यसि कौन्तेय तत्कुरुष्व मदर्पणम् ॥ 

पुण्डरीक यस्तै भक्त थिए । उनले आफूले गर्नुपर्ने काम पनि भगवान्कै काम हो भन्ने भाव राखेर गर्दथे । आमा–बुवाको सेवा पनि भगवान्कै सेवा हो भन्ने भाव राखेका थिए । त्यसैले, पुण्डरीक भगवान्को दर्शन गर्न गएका थिएनन्, भगवान् स्वयं नै पुण्डरीकलाई हेर्न घरमा आउनुभएको थियो ।


उपनिषद् प्रसङ्ग | मैत्रेयी ब्रह्मवादिनी




‘यो सम्पत्तिले मलाई मृत्युतिरै मात्र लिएर जानेछ ।

 मलाई यस्तो सम्पत्ति दिनुहोस् जसले अमृतत्व तर्फ लिएर जाओस्,’ मैत्रेयीले भनिन् ।

___________________________________________________

वैदिककालतिर चिहाउँदा के कुरा स्पष्ट रूपमा देख्न पाइन्छ भने स्त्री कुनै पनि क्षेत्रमा पुरुषभन्दा पछाडि थिएनन् । प्रतिस्पर्धाको भाव थिएन, तर ‘संगच्छध्वम् संवदध्वम्’ गाउने उनीहरू सँगै मिलेर ‘एकं सत्’लाई जान्नमा प्रवृत्त हुन्थे । यसर्थ हामी पाउँछौँ, वैदिक काल र उत्तर वैदिक कालमा अनेकौँ नारी ‘तत्त्ववेत्ता’ थिए । ती ब्रह्मवादिनीमध्येकै एक थिइन् जिज्ञासु मैत्रेयी । 

मैत्रेयीलाई राजर्षि जनकका सल्लाहकार–मन्त्री ‘मित्र’की छोरी भन्ने गरिन्छ । कतैकतै मित्र ऋषिकी छोरी हुनाले उनको नाम मैत्रेयी रहेको उल्लेख पनि पाइन्छ । तथापि यी विदुषीको जीवनको प्रारम्भिक कालका बारेमा त्यति ठोस जानकारी उपलब्ध भएको देखिँदैन । देखिन्छ त केवल तत्त्ववेत्ता कुलपति याज्ञवल्क्यकी दुई पत्नीमध्ये एकका रूपमा, जो आफै पनि ब्रह्मचिन्तनमा रत हुनाले त्यसकालमा अत्यन्त सम्मानित थिइन् । 

वैदिक कालका विविध पक्षबारे शोध गर्ने अन्वेषकहरूले उनको जीवनको प्रारम्भिक काल विदेहमै व्यतित भएको अनुमान गर्छन् । अवश्य पनि उनको विदुषीत्वका निम्ति उनको पालन–पोषण ‘सहज’ र ‘आहार्य’ दुवै प्रकृतिका संस्कार प्राप्त हुने परिवेश र संगतिमा भएको हुनुपर्ने उनीहरूको ठम्याइ छ । तीव्र–तीक्ष्ण मेधा नभइकन व्यक्ति अवश्य पनि ज्ञान र त्यसको चरम–स्वरूप ब्रह्मचिन्तनमा लाग्दैन । उनी ज्ञानको अभिप्सा राख्ने थिइन् । विदेहराज झैँ निवृत्ति मार्गमा प्रवृत्त थिइन् मैत्रेयी तर प्रवृत्तिमा पनि निवृत्तिकै अनुशीलन गर्थिन् । यसै पनि जो प्रवृत्त नै भएको छैन, उसले निवृत्त हुने प्रश्न नै उठ्दैन । यसैले निवृत्तिका लागि पनि प्रवृत्ति आवश्यक हुन्छ, तर प्रवृत्तिमा आसक्ति र अपेक्षा हुनुहुँदैन तथा निवृत्तिमा उदासीनता र निष्क्रयता रहनुहुँदैन । मैत्रेयीले यस्तै वृत्ति अँगालेकी थिइन् । उनी मेधावी विद्यार्थी थिइन् ।

राजा जनकको सभामा याज्ञवल्क्यको पाण्डित्य देखेर उनी मोहीत भएकी थिइन् । उनको जिज्ञासु मन प्रेमील पनि बनेको थियो । तर, त्यो प्रेम व्यक्ति याज्ञवल्क्यप्रति नभएर याज्ञवल्क्यको व्यक्तित्वका निम्ति थियो । त्यस व्यक्तित्वको सामिप्य अवश्य पनि उनको ब्रह्म जिज्ञासाका निम्ति सार्थक हुनेछ भन्ने उनले बुझिन् । उनले स्वेच्छापूर्वक याज्ञवल्क्यलाई पतिका रूपमा वरण गरेकी थिइन् । उनका पिता मित्रलाई यो जानेर प्रसन्नता भएको थियो । उनले मैत्रेयीको विवाह याज्ञवल्क्यसँग गराइदिए । याज्ञवल्क्यकी दुई पत्नीमध्ये महर्षि भरद्वाजकी छोरी कात्यायनी पहिली थिइन् । वैदिक साहित्यमा कात्यायनी सामान्य गृहिणीको रूपमा परिचित छिन् । उनी घर–गृहस्थी हेर्थिन्, आश्रमको व्यवस्थालाई सुचारु रूपले सञ्चालन गर्थिन् । सांसारिक भोगहरू– मीठो खानेकुरा, राम्रो लुगा, गर गहना, गौधन आदिमा उनको रुचि थियो । उनको व्यवस्था कौशल्य अद्वितीय थियो । यता कुलपति याज्ञवल्क्यको आश्रममा मैत्रेयीको आगमनपछि शिक्षा–दीक्षाबाहेक स्वध्याय र संवादले पुनः गौरवशाली स्थान प्राप्त गरेको थियो । मैत्रेयी आफ्ना पति याज्ञवल्क्यका साथ प्रत्येक धार्मिक–आध्यात्मिक कार्यमा साथ दिन्थिन्। तत्त्वज्ञानका निम्ति अभीप्सा उनमा अद्वितीय थियो । मैत्रेयीको जिज्ञासु वृत्तिदेखी कात्यायनी पनि विस्मित थिइन्, मोहित थिइन् ।

याज्ञवल्क्य आश्रम–व्यवस्थाका साथै शिक्षार्थीहरूलाई शिक्षा दिने कार्यमा प्रवृत्त त थिए, तर उनी घर–गृहस्थीमै रमाएर बस्ने संसारी जीव थिएनन् । यो कुरा मैत्रेयीलाई थाहा थियो । याज्ञवल्क्यले दुबै पत्नीहरूलाई बोलाएर भने– ‘अब म संन्यास ग्रहण गर्दैछु, तर तिमीहरू चिन्तित नहुनु । हामीले आर्जन गरेको धन–सम्पदा तिमी दुईमाझ भाग लगाएर मात्र म मुमुक्षु मार्गमा लाग्नेछु । यति धन साथमा भए तिमीहरूको जीवन आनन्दपूर्वक बित्नेछ ।’

मैत्रेयी र याज्ञवल्क्य दुबैको मन संसार–सुखको अपेक्षामा रमाउँदैन थियो । याज्ञवल्क्यको संन्यास मार्गमा बढ्ने चाहना मैत्रेयीले अघिनै बुझेकी थिइन् । काम ‘पुरुषार्थ’ नै हो, तथापि यदि त्यो धर्म र मोक्षको मार्गमा बाधक सिद्ध हुन्छ भने त्यसलाई नियन्त्रणमा राख्नै पर्छ भन्ने कुरा मैत्रेयीलाई थाहा थियो । उनले पनि वैराग्य वृत्तिलाई पूर्णतः अंगिकार गरेकी थिइन् । याज्ञवल्क्यको असंसारी प्रवृत्तिदेखि उनी विचलित भइनन् । बरु हाँसेर भनिन्– ‘मलाई जीवन यापनका लागि धन–सम्पत्तिको आवश्यकता पर्छ भन्ने किन ठान्नु हुन्छ तपाईँ । के यसले मलाई मुक्ति मिल्नेछ ? मेरो मनमा कुनै पनि सांसारिक लाभको कामना शेष छैन । कुनै आसक्ति बाँकि छैन । तपाईँ संन्यास लिनु हुँदैछ, यस समयमा यस संन्यासिनीलाई केही दिएर जान चाहनुहुन्छ भने यस मुक्ति-यात्राको पाथेयका रूपमा उपयोगी सिद्ध हुनसक्ने ज्ञान दिनुहोस् ।’

ऋषि याज्ञवल्क्यलाई संसार त्यागेर संन्यास लिनुपर्ने आवश्यकता देखापरेको थियो, तर मैत्रेयीको वृत्ति संन्यस्त हुँदाहुँदै पनि उनी संसारबाट विमुख भएर नाता तोड्न बाध्य थिइनन् । संन्यासका लागि संसार त्याग्नु पर्छ भन्ने छैन, उनले बुझेकी थिइन् । मुक्तिमार्गमा संसार अवरोधक हुँदैन, उनलाई थाहा थियो । संसार त्याग्नु पर्दैन, बरु काम्यकर्म, इच्छाद्वारा प्रेरित कर्म, वासनापूर्तिका लागि गरिने कर्म र आसक्तिबाट गरिने कर्म, र कर्तापनको अहंकार त्याग्नु नै साँचो संन्यास हो । र, यो त्याग संसारमा रहेर पनि सम्भव छ । मैत्रेयी उदाहरण बनिन् । याज्ञवल्क्य अध्यात्मका विषयमा भाष्य दिन्थे, तर मैत्रेयीले त अध्यात्मलाई आत्मसात् नै गरेकी थिइन् । याज्ञवल्क्यका निम्ति आफूद्वारा अर्जित धनको महत्त्व थियो, यसर्थ उनी त्यो दुबै पत्नीमाझ बाँड्न चाहन्थे । मैत्रेयीले धनलाई तुच्छ ढुङ्गा–माटो ठानेर पन्छाइदिइन् । याज्ञवल्क्य मैत्रेयीलाई अध्यात्म मार्गको सोपानमा चढाउन चाहन्थे, तर जब उनले मैत्रेयीलाई पहिल्यै त्यहाँ पुगेको देखे जहाँ उनी पुर्‍याउन चाहन्थे, उनलाई हर्ष पनि भयो र मन–मनै उनी लज्जित पनि भए । एउटा गौरवबोध पनि थियो, सन्तोष र आनन्द पनि थियो मनमा, सहचरिणीको उन्नति देखेर । 

‘म जे भन्दै हुन्छु अध्यात्मका विषयमा त्यसलाई तिमीले पहिल्यै आचरणमा–व्यवहारमा ल्याएकी हुन्छौ । यो देखेर मलाई सुखद् आश्चर्य हुन्छ,’ याज्ञवल्क्यले भने । उनी संसारबाट संन्यासतिर जान चाहन्थे, तर मैत्रेयीले संसारमै संन्यास साधेकी थिइन् । ‘यो सम्पत्तिले मलाई मृत्युतिरै मात्र लिएर जानेछ । मलाई यस्तो सम्पत्ति दिनुहोस् जसले अमृतत्व तर्फ लिएर जाओस्,’ मैत्रेयीले भनिन् ।

भारतवर्षको प्राचीन काल अग्निधर्मा थियो । तब यहाँका स्त्री मेधा पनि भौतिकवादी धन–साधनको तुलनामा सृष्टि रहस्यहरूको ज्ञानका लागि व्यग्र हुन्थे । याज्ञवल्क्य  तत्त्वज्ञानी थिए । उनले सबै सांसारिक सम्बन्धलाई ‘आत्मार्थ’ अर्थात् आत्माको लागि हो भन्ने कुरा बताए । भने, ‘हे मैत्रेयी ! पतिको प्रयोजनका लागि पति प्रिय हुँदैन, स्वयं आफ्नै प्रयोजनका लागि नै पति प्रिय हुन्छ ।’ (बृहदारण्यक उपनिषद्) यहाँ आफ्नो प्रयोजनको अर्थ ‘निजी स्वार्थ’ नभएर ‘आत्माका लागि’ भन्ने बुझिन्छ । शंकराचार्य भाष्यमा यो कुरा सुस्पष्ट छ– ‘आत्मैव प्रियाः, नान्यत’ यानी आत्मा नै प्रिय छ अरू केही छैन । याज्ञवल्क्यले अगाडि भने, ‘पुत्रहरूको प्रयोजनका लागि पुत्र प्रिय हुँदैनन्, आत्म-प्रयोजनका लागि नै पुत्र प्रिय हुन्छन्.. देवता पनि आफ्नै (आत्माकै) प्रयोजनका लागि नै प्रिय हुन्छन् ।’ यस्ता अनेक उदाहरण दिएपछि उनले भने, ‘यसैले आत्मा नै दर्शनीय, श्रवणीय, मननीय र ध्यानका लागि योग्य छ । आत्मदर्शन, श्रवण, मनन र विज्ञानबाट ‘यी सबैको’ (समग्र सृष्टिको) ज्ञान हुन जान्छ । व्यक्तिको प्रत्येक कर्म आत्मसुखका लागि हुन्छ । तब भूल कहाँ भइरहेको छ त ? यो सुख जुन आत्माका लागि हुन्छ, त्यस आत्मालाई नचिन्दा, नबुझ्दा नै ‘स्वार्थ’ हेय बनेको छ । 

प्रत्येक जीव स्वार्थी हुन्छ । मनुष्य अलि बढी नै स्वार्थी छ । स्वार्थ सबैका लागि प्रेय छ, तर हिन्दू लोकजीवनमा हेय छ । रमाइलो प्रश्न त के छ भने भिन्न–भिन्न सबैको प्रेय किन सामाजिक बोधमा हेय बन्दछ ? कठोपनिषद्मा प्रेयसँगै नारिएर आएको शब्द हो ‘श्रेय’ । प्रेयको मियो कामनाहरू हुन् र श्रेयको केन्द्र लोकमंगल । ‘स्व’ र ‘अर्थ’को योगबाट बनेको स्वार्थ आफैमा एउटा जटिल शब्द हो । स्व निजता हो । सृष्टि विराट, एक, र अद्वैत छ । मनुष्य यसैको अविभाज्य अंश हो तर नाम, रूप र निजताका कारण भिन्न एकाइ प्रतीत हुन्छ । दर्शनको दृष्टिमा समग्र सृष्टि ‘व्यक्त’ छ, यसैको एकाई व्यक्ति हो । एकाईको अस्मिता नै ‘स्व’ हो तर यो एकाई त अनन्त विराटको एकात्म भाग न हो । महासागरको एउटा थोपा । स्वको लघुत्तम संकीर्णता हो, महत्तम व्यापकता हो । यसै स्वको परमबोधले स्वार्थलाई परमार्थ बनाउँछ । मैत्रेयीलाई यो बोध थियो । आत्मद्रष्टाका लागि समग्र सृष्टि आत्मा नै हो भन्ने आत्मबोधका साथ उनले परमार्थलाई साधन बनाइन् । साध्य परम् नै थियो । याज्ञवल्क्य संन्यासमा प्रवृत्त भए । उनी प्रवृत्तिमै निवृत्तिलाई आत्मसात् गरेर अन्ततः परम् चेतनमा समाहित हुन पुगिन् । बृहदाराण्यकमा उनको ज्ञान चर्चाको आख्यान छ । वैदिक सनातन दर्शन र परम्परामा उनको गरिमामय स्थान अक्षुण्ण छ । नारी–पुरुष प्रतिस्पर्धी थिएनन्– परिपूरक थिए । समाजले समानताको संस्कार दिन्थ्यो । नारीको स्वतन्त्र र सम्मानित स्थानलाई विस्मरण हुन दिएको छैन वैदिक वाङ्मयले । आवश्यक छ त यता चिहाउने चाहनाको ।


__________

विजयप्रसाद मिश्र

जीवनलाई उत्सवजस्तै स्वीकार गर्नु नै साँचो संन्यास | ओशोको दृष्टिकोण

गीता ईश्वरको गीत हो। यस गीतलाई गाउने परमात्मा हुनुहुन्छ । गीतलाई विभिन्न भावका साथ बोध गर्ने असङ्ख्य साधक छन्; आचार्यहरू हुनुहुन्छ। गीताको प...