Monday, August 25, 2025

।। राधोपनिषद् ।।




✍ विजयप्रसाद मिश्र

वैदिक सनातन हिन्दू धर्ममा असङ्ख्य शास्त्रहरू छन् । चार वेद, विविध उपनिषद्, अठार पुराण र उपपुराण, इतिहास ग्रन्थका रूपमा रामायण र महाभारत, सदाचारको शिक्षा दिन स्मृतिग्रन्थहरू र पछि सन्त परम्पराबाट प्राप्त मतप्रतिपादक मौलिक ग्रन्थहरूले गर्दा ज्ञानराशी, दर्शन, साहित्य आदिमा हामी समृद्ध छौँ ।

वेदको ज्ञानकाण्डका रूपमा विशेष गरी उपनिषद्हरूको चर्चा हुनेगर्दछ । मुख्य रूपमा एघार वटा उपनिषद्लाई वैदिक मत–प्रतिपादक भनी स्वीकारिएको छ । तर, व्यक्ति र सम्प्रदाय विशेषको मनोभाव अनुरूप पनि ज्ञान र दर्शनका तिनै विषयलाई समेटेर अन्य उपनिषद् पनि रचिएका छन् । यस्तै एउटा उपनिषद् हो— राधोपनिषद् ।

हिरण्यगर्भ ब्रह्माजीलाई प्रार्थना गरिकन सनकादि ऋषिहरूले ‘परम शक्ति’बारे आफ्ना जिज्ञासा राखेपछि ब्रह्माजीद्वारा ती जिज्ञासाको समाधानमा दिइएको उपदेशका रूपमा राधोपनिषद् प्रकट भएको छ । राधोपनिषद्लाई ऋग्वेदीय परम्परासित सम्बन्धित मानिन्छ ।

लघु–आकारको यस उपनिषद्मा जम्मा चारवटा श्लोक छन् । यी चारवटा श्लोकले भगवत्स्वरूपा श्रीराधिकाजीको महिमा तथा उहाँको स्वरूप वर्णन गरेका छन् । ऊध्र्वरेता बालब्रह्मचारी सनकादि ऋषिहरूले ब्रह्माजीसित जिज्ञासा राखेका छन्— ‘परम देव को हुन् ? उहाँका शक्तिहरू को–को हुन् ? ती शक्तिमध्ये सर्वश्रेष्ठ, सृष्टिकी हेतुभूता शक्ति को हुन् ?’ सनकादि ऋषिको प्रश्न सुनेर ब्रह्माजीले अत्यन्त गोप्य रहस्य हो भन्दै रसिक, ब्रह्मवादी गुरुभक्तलाई मात्र यो रहस्य भन्नमिल्ने अन्था अनधिकारीलाई प्रदान गर्न नहुने भनी आज्ञा गर्नुभएको छ—

षड्विध् ऐश्वर्य (ऐश्वर्य, यश, श्री, धर्म, ज्ञान र वैराज्ञ) ले परिपूर्ण भगवान् श्रीकृष्ण नै परमदेव हुनुहुन्छ । गोपगोपीहरू उहाँको सेवा गर्दछन्, वृन्दा (वृन्दहरूको समूह) ले उहाँको आराधना गर्दछन् । वृन्दावनका स्वामी भगवान् नै एकमेव परमेश्वर हुनुहुन्छ । उहाँकै एउटा रूप श्रीनारायण हुनुहुन्छ । उहाँ श्रीकृष्ण प्रभुका आह्लादिनी, संधिनी, ज्ञान, इच्छा, क्रिया आदि विविध प्रकारका शक्ति छन् । तीमध्ये आह्लादिनी शक्ति सबैभन्दा श्रेष्ठ हुनुहुन्छ । ‘कृष्णेन आराध्यते’ श्रीकृष्णद्वारा आराधित हुनाले उहाँलाई परम अन्तरंग ‘श्रीराधा’ भनिन्छ । श्रीकृष्ण उहाँका आराध्यदेव हुन् । ‘कृष्णं समाराधयति सदा’ कृष्णलाई सदा आराधना गर्ने हुनाले उहाँलाई राधिका भनिएको छ । राधा सनातनी विद्या, प्राणहरूकी अधिष्ठातृ, पृथ्वी–किरण आदिलाई धारण गर्ने शक्ति, साधकहरूको कार्य सिद्ध गरिदिने शक्ति हुनुहुन्छ ।

श्रीराधिका सर्वेश्वर भगवान्की सर्वेश्वरी शक्ति हुनुहुन्छ । श्रीकृष्ण एवं राधिका एउटै शरीर हुन् जो लीलाका निम्ति दुई रूपमा देखापर्दछन् । 

एकान्तभावले चारैवेद उहाँकै स्तुति गर्दछन् । आह्लादिनी शक्तिको गतिलाई ब्रह्मवेत्ता ऋषिहरूले पनि प्रतिपादन गर्दछन् । म (ब्रह्मा) आफ्नो समस्त आयुमा पनि उहाँको महिमा वर्णन गर्न सक्दिन । जसमाथि उहाँको कृपा हुन्छ परमधाम तिनको हातको मुठ्ठीमा छ । राधिका अर्थात् प्रभुको सर्वश्रेष्ठ शक्तिलाई नबुझिकन प्रभुको आराधना गर्दछु भन्नेलाई मूढतम् ठान ।

यसरी श्रीराधालाई श्रीकृष्णको प्रमुख शक्तिका रूपमा वर्णन गरेपछि ब्रह्माजीले भगवती राधाका २८ पावन नामहरू उल्लेख गर्नुभएको छ । श्रुतिहरूद्वारा गुणगान गरिने ती नाम हुन्—

१. राधा, २. रासेश्वरी, ३. रम्या, ४. कृष्णमन्त्राधिदेवता, ५. सर्वाद्या, ६. सर्ववन्द्या, ७. वृन्दावनविहारिणी, ८, वृन्दाराध्या, ९, रमा, १०. अशेषगोपीमण्डलपूजिता, ११, सत्या, १२. सत्यपरा, १३. सत्यभामा, १४. श्रीकृष्णवल्लभा, १५, वृषभानुसुता, १६. गोपी, १७. मूलप्रकृति, १८. ईश्वरी, १९. गान्धर्वा, २०, राधिका, २१, आरम्या, २२. रुक्मिणी, २३. परमेश्वरी, २४. परात्परतरा, २५. पूर्णा, २६. पूर्णचन्द्रनिभानना, २७, भुक्तिमुक्तिप्रदा, २८. भवव्याधिविनाशिनी ।।

ज्ञानशक्ति नै क्षेत्रज्ञ शक्ति हो तथा मायाशक्ति, इच्छाशक्तिमा अन्तर्निहित छ । यही शक्तिलाई जगत्को कारणभूता सत्व, रज, तमका रूमा बहिरंग हुनाले जड भनिएको छ भने अविद्याका रूपमा जीवलाई बन्धनमा पार्ने हुनाले यसैलाई माया भनिएको छ । यसर्थ भगवान्को यस क्रियाशक्तिलाई नै लीलाशक्ति पनि भनिएको छ ।

सामान्य र साहित्यको दृष्टिमा राधा व्यक्ति हुनसक्छिन् । तर शास्त्र एवं भक्तको दृष्टिमा श्रीराधा तत्त्व हुन् । यसबारे शास्त्रले तात्विक दृष्टिले विचार गरेको छ र भक्तहृदयले श्रद्धा–विश्वासपूर्वक स्वीकारेको पनि छ । सच्चिदानन्दघन परमात्मा नै लीलाविलासका लागि दुईवटा विग्रहमा प्रकट हुनेगर्दछ— एउटा लीलापुरुष एवं अर्को लीला सहचरी । लीलापुरुष श्रीकृष्ण हुनुहुन्छ भने लीलासहचरी श्रीराधा हुनुहुन्छ । उपनिषद्मा ब्रह्म ‘रस’ स्वरूप हुनुहुन्छ । उहाँ आफै स्व–रसको आस्वादक बन्न चाहनुहुन्छ । रस आस्वादनको प्रक्रिया ‘रमण’ हो जुन एक्लैले हुनसक्दैन । अतः पूर्ण निस्पृह, निष्काम परमात्माको रमण गर्ने कामनाबाट उहाँको द्विविध रूप प्रकट भएको कुरा यस उपनिषद्ले व्यक्त गरेको छ । ‘स्वेच्छामयश्च भगवान बभूव रमणेत्सुक’ भनी यही कुरा ब्रह्मवैवर्त पुराणको प्रकृतिखण्डमा पनि उल्लेख भएको छ ।


Sunday, August 24, 2025

महावतार हैडाखानी बाबा



डा. स्वामी प्रपन्नाचार्यको कृति ‘मिल्केका झिल्का’ मा आधारित

महावतार बाबा, त्र्यम्बक बाबा, शिवावतार बाबा, साम्बसदाशिव बाबा, महामुनिन्द्र बाबा जस्ता अनेक नामले चिनिने अलौकिक सिद्ध पुरुष हुनुहुन्थ्यो हैडाखानी बाबा । उहाँ प्रायः कुमाऊँ क्षेत्रमा बसोवास गर्ने भए पनि विश्वभरिका भक्त तथा बुद्धिजीवीहरूका लागि एक पूजनीय व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ आफ्नो समयका, समग्र भारत वर्षका, सर्वश्रेष्ठ सिद्ध महापुरुष मानिनुहुन्छ ।

जन्म र पृष्ठभूमि

स्वर्गीय खप्तड बाबा स्वामी सच्चिदानन्द सरस्वतीका अनुसार, हैडाखानी बाबाको जन्म पश्चिम नेपालको डोटी जिल्लाको विष्ट ब्राह्मण कुलमा भएको थियो ।सन् १८७० मा अल्मोडा जिल्लाको रानीखेतमा बाबासँग ६ वर्ष सत्सङ्ग गरेको र त्यस समयमा बाबाको उमेर दुई सय वर्षभन्दा बढी रहेको खप्तड बाबाले उल्लेख गर्नुभएको छ । उहाँ सर्वशक्तिसम्पन्न सिद्ध महापुरुष हुनुभएकोले उमेरको अनुमान गर्न असम्भव थियो ।

यसका अतिरिक्त, स्वर्गीय पं. उमाकान्त भट्टले पनि हैडाखानी बाबा डोटीकै भएको पुष्टि गर्नुभएको छ । भट्टले डोटीलाई ठूला भगवान्, महापुरुष, र विद्वान्हरूको भूमि भनी उल्लेख गर्नुभएको छ । उमाकान्त भट्टले आफ्नो जीवनभर महावतार हैडाखानी बाबाको वंशपरम्परालाई प्रचार गर्दै आउनुभयो र ‘डोटीको गौरव’ परम्पराको रूपमा बाबालाई मान्नुहुन्थ्यो । श्रीचरणाश्रित महेन्द्रले पनि आफ्नो पुस्तक ‘श्रीचरणाश्रय’ मा बाबा पश्चिम नेपालकै भएको लेख्नुभएको छ ।

लीलाक्षेत्र र आश्रम निर्माण

हैडाखानी बाबाले आफ्नो लीला विशेषगरी कुर्माञ्चलको रमणीय भूस्वर्गमा गर्नुभयो । उहाँ जहाँ–जहाँ बस्नुभयो, त्यहीँ आश्रम र कुटियाहरू निर्माण भए । सर्वप्रथम, उहाँले हैडाखानीमा एउटा शिवमन्दिर र एउटा धर्मशाला सन् १८८० मा बनाउनुभयो । त्यसपछि रानीखेतमा गणदोलिया आश्रम, हल्द्वानीमा कठघरिया आश्रम, नैनीतालमा खुर्पाताल आश्रम, शीतलाखेतमा सिद्धाश्रम, र अल्मोडामा छेदू आश्रम निर्माण गर्नुभयो । रानीबागमा बाँसुरी गुफा, शीतलाखेतमा सहजा ग्राम गुफा, र ऋउणीमा द्वारसी गुफा उहाँले साधना गरेका केही गुफाहरू हुन् । अन्तर्राष्ट्रिय रूपमा, तिब्बतमा ल्हासा आश्रम, तेजममा श्रीब्रह्मचारी आश्रम, हिमालयको निर्जन वनमा नीलम क्षेत्रीय आश्रम, र वृन्दावनमा साम्बसदाशिव आश्रम विशेष उल्लेखनीय छन् । नेपालको राजधानी काठमाडौँको वाग्मती नदी किनारमा रहेको ‘श्री तपस्वी बाबा आश्रम’ भने अझै पत्ता लाग्न सकेको छैन । जनविश्वासअनुसार, हैडाखानी बाबा कुमाऊँ र नेपालमा पाँच सय वर्षदेखि लीला गर्दै आउनुभएको थियो ।

रहनसहन र भाषा

हैडाखानी बाबा साधारण मिर्जई, कौपीन, र कन्छोपी टोपी लगाउनुहुन्थ्यो । उहाँले गेरुवा वस्त्र लगाउनुहुन्नथ्यो र हेर्दा सामान्य मानिसजस्तै देखिनुहुन्थ्यो । कहिलेकाहीँ भक्तहरूले उहाँको शिरमा फेटा पनि गुथाइदिन्थे । उहाँ नेपाली डोटीतिरका मानिसजस्तै देखिनुहुन्थ्यो र बोल्दा आधा हिन्दी तथा आधा डोटी भाषा प्रयोग गर्नुहुन्थ्यो । 

अष्टसिद्धि र चमत्कार

महामुनिन्द्र बाबाले आफ्नो सिद्धि कसैलाई देखाउने प्रयास कहिल्यै गर्नुभएन, किनकि उहाँको उद्देश्य ‘जनसेवा नै राष्ट्रसेवा हो’ भन्ने थियो । तैपनि, भक्तहरूले अनायासै उहाँका सिद्धिहरूको प्रत्यक्ष दर्शन गर्न पाउँथे । उहाँ कुमाऊँको हैडाखानी र रानीखेतमै बसेर विश्व भ्रमण गर्नुहुन्थ्यो । डा. हेमचन्द्र जोशीले बाबाका असम्भव लाग्ने कार्यहरू देखेर नै उहाँलाई ‘मेरे प्यारे भगवान्’ भनेका छन् ।

उल्लेखनीय चमत्कारहरूमध्ये, डा. हेमचन्द्र जोशीका ससुरा पं. धनानन्द जोशी ५० वर्षको उमेरमा टी.बी. का कारण मृत्युवरण गरिसकेपछि, बाबाले उहाँलाई दूध खुवाएर पुनर्जीवित गर्नुभयो र पछि ती व्यक्ति ७५ वर्षको उमेरमा प्राकृतिक रूपमा बित्नुभयो । यस्तै, भक्त ठाकुर गुमानीको मृत छोरा जयसिंहलाई पनि बाबाले पुनर्जीवित गर्नुभयो, जसका कारण बाबाको नाम ‘मृत्युञ्जय बाबा’ पनि रह्यो ।

काशीपुरका विश्वविख्यात पहलमान दारासिंहले बाबालाई बोक्न खोज्दा उनको शरीरमा चट्टान परेजस्तो अनुभव भयो, जसले बाबाको गरिमा सिद्धिको चमत्कार देखायो । बाबाले यज्ञमा घ्यूको सट्टा पानीले हवन गर्नुहुन्थ्यो । रानीखेत निवासी रामदत्तको छोराले यो कुरा आफ्नो कलेजका इसाई प्रिन्सिपललाई सुनाउँदा उनले विश्वास गरेनन् । तर, प्रिन्सिपलकै घरमा बाबाले पानीले हवन गरेर देखाएपछि आगो दन्कियो र उनले घरमा आगो लाग्ने डरले क्षमा मागे । यो पूर्वीय दर्शनको योगी सिद्धान्तको गौरव थियो ।

अर्को पक्षको सिद्धिः विश्वव्यापी उपस्थिति

हैडाखानी बाबालाई कुमाऊँ र प्रयागको महामहोपाध्याय आदित्यराम भट्टाचार्यको निवासबाहेक अन्यत्र गएको कसैलाई थाहा छैन । तर, स्वीडेनका दार्शनिक तथा फिल्म कलाकार निल्स ओल्स क्रिसैण्डरले बाबालाई स्वीडेनमा कारभित्र, फ्रान्सको होटलमा युरोपियन भेषमा, र रुसको राजधानी मास्कोमा हिन्दू भेषमा देखेका थिए । यी घटनाहरूले बाबाको महावतार स्वरूप र विभिन्न रूपमा प्रकट हुन सक्ने क्षमतालाई पुष्टि गर्छ । क्रिसैण्डरले बाबाको दर्शनका लागि तीन वर्षसम्म भारतमा खोजी गरे र अन्ततः अल्मोडाको जंगलमा आत्महत्या गर्ने सोचमा पुग्दा बाबाले दर्शन दिनुभयो । क्रिसैण्डरले बाबाको ढुङ्गाको मूर्ति पनि बनाए, जुन अहिले पनि अल्मोडामा छ भनिन्छ । चीन, जापान, फ्रान्स, स्वीडेन, रुस लगायत विश्वभरिका भक्तहरूले बाबाको दर्शन प्राप्त गरेका कुरा धेरैले उल्लेख गरेका छन् ।

हैडाखानी बाबाको आयु

बाबाको आयुको बारेमा धेरैलाई शङ्का हुनु स्वाभाविक हो । तर, भारतका देवराह बाबा तीन सय वर्षभन्दा बढी बाँचेको र खप्तड बाबा पनि १८८ वर्ष यस धराधाममा रहेको उदाहरणले यस्ता महापुरुषहरूको लामो आयुको सम्भावना देखाउँछ । भारतीय लेखक डा. हेमचन्द्र जोशी र गिरिधारीलाल मिश्र लगायतले बाबा सन् १८०० मा कुमाऊँको हैडाखानी गुफामा देखिएको समयमा उहाँको उमेर ५० देखि ८० वर्षको बीचमा भएको लेखेका छन् ।

तर, जब १६ औं शताब्दीका राजा मिलिन्द पालको ‘हवन कुण्ड’ त्यस ठाउँमा पत्ता लाग्यो, तब जनविश्वास बढ्यो कि महावतार हैडाखानी बाबा पाँच सय वर्षदेखि त्यस क्षेत्रमा बस्दै आउनुभएको थियो । यसको अर्थ उहाँ १५ औं शताब्दीदेखि नै नेपाल र कुर्माञ्चलमा भ्रमण गरिरहनुभएको स्पष्ट हुन्छ । त्यसैले भक्तजनहरूले बाबालाई अष्टचिरञ्जीवी हरू (अश्वस्थामा, व्यास, कृपाचार्य, हनुमान्, मार्कण्डेय आदि) मध्ये एक मान्छन्, विशेषगरी अश्वस्थामाको रूपमा । बाबाले आफ्नो शिरको टोपी कहिल्यै खोलेनन्, तर एक पटक गुमानी भक्तले स्नान गराउँदा टोपी खोल्दा शिरमा कहिल्यै निको नहुने घाउ देखिएको थियो ।

शिष्यपरम्परा

हैडाखानी बाबाको शिष्यपरम्परा अत्यन्त सुदृढ थियो । परमहंस योगानन्दको पुस्तक ‘एक योगीको आत्मकथा’ मा उहाँका गुरु युक्तेश्वर गिरि, उनका गुरु श्यामाचरण लाहिडी, र लाहिडी महाशयका गुरु त्र्यम्बक बाबा अर्थात् महावतार बाबाको उल्लेख छ, जो सम्भवतः हैडाखानी बाबा नै हुनुहुन्थ्यो । सन् १८६१ मा रानीखेतको द्रोणगिरी नन्दादेवी गङ्गाको उद्गमस्थलमा लाहिडी महाशय र त्र्यम्बक–हैडाखानी बाबाको भेट भएको थियो । बाबाले श्यामचरण लाहिडीमा, लाहिडीले युक्तेश्वर गिरिमा, र युक्तेश्वरले परमहंस योगानन्दमा आफ्नो योगशक्ति शक्तिपात गनुभएको थियो । योगानन्दले भारतको मुगेरबाट योग प्रचार सुरु गरेर अमेरिकामा पु¥याएका थिए । यसैगरी, श्रीचरणाश्रित महेन्द्र महाराजमा पनि शक्तिपात भएको मानिन्छ ।

हैडाखानी बाबाका गृहस्थ शिष्यहरू पनि हजारौंको संख्यामा थिए, जसमा गुमानी भक्त, डा. हेमचन्द्र जोशी, गिरिधारीलाल मिश्र, पं. रामदत्त ज्योतिषी, शिरोमणि पाठक आदि प्रमुख थिए । उहाँले राजा, मन्त्री, व्यापारीदेखि लिएर साधारण किसान, नोकरचाकर, बालक–बालिका सबैलाई समान भावले हेर्नुहुन्थ्यो र रागानुराग भक्ति तथा ‘ॐ नमः शिवाय’ मन्त्र जप गर्न उपदेश दिनुहुन्थ्यो ।

नेपालतिर प्रस्थान

सन् १८२२ मा महावतार बाबाले कुमाऊँ छोड्नुभन्दा केही समयअघि हल्द्वानीको कठघरिया आश्रममा एउटा कुवा बनाउनुभयो र त्यसपछि कैलाश यात्रामा जानुभयो । कैलाशबाट फर्केपछि, उहाँ नेपाल फर्कने इच्छाले नेपालको सीमाना महाकालीको पारिपट्टि रहेको आसकोटमा तत्कालीन राजा खड्गमानसिंहको राजदरबारमा पुग्नुभयो । राजा खड्गमानसिंहले बाबाको आदरपूर्वक पूजा–अर्चना गरे र केही दिन दरबारमा बस्न आग्रह गरे । तर, बाबाले आफू नेपालतिर जाँदै गरेको बताउनुभयो । राजाले आफ्ना दरबारी र कर्मचारीसहित बाबालाई डोलीमा बोकेर दरबारबाहिरसम्म पुर्याए । बाबाले उनीहरूलाई फर्कने आदेश दिएपछि, राजाले गह्रौं मनले आँसु बगाउँदै बाबालाई बिदाइ गरे ।

बाबा आसकोट राजदरबारबाट प्रस्थान गरी काली नदी र सेती नदीको सङ्गममा आएर रोकिनुभयो । त्यहाँ उहाँ डोलीबाट ओर्लिएर सबैलाई फर्कने आदेश दिनुभयो । भक्त कर्मचारीहरूले फर्कंदै गर्दा अथाह जलराशिमा नेपालतिर मुख गरेर जाँदै गरेको बाबालाई देखे । केही क्षणपछि उहाँ दिव्य आलोकमा अन्तध्र्यान हुनुभयो । त्यसपछि कुमाऊँ प्रान्तमा बाबाको त्यस आकारमा कहिल्यै दर्शन भएन । नेपालबाटै गएका बाबा नेपालै फर्किए, तर नेपाललाई यस बारेमा थाहै छैन ।

रहस्य र वर्तमान

हैडाखानी बाबाका परम भक्त गुमानीले आफ्नो रामायणको पानामा हस्ताक्षर छोडेका छन्, जुन अहिलेसम्म कसैले पनि पढेर अर्थ निकाल्न सकेका छैनन् । कैयौं वर्षसम्म फोटोग्राफरहरूले बाबाको फोटो खिच्न सकेनन् । एक अंग्रेज फोटोग्राफरले १०७ पटक फोटो खिच्दा पनि रीलमा केही नआएपछि उनले हार मानेर क्षमा मागे । अर्को एकजना फोटोग्राफरले एकै पटक फोटो खिच्दा सबै रीलमा बाबाका अनेक पोजका फोटो आए, जसमध्ये अहिले प्रचलित फोटो महामहोपाध्याय आदित्यराम भट्टाचार्यको घर प्रयागमा गुमानी भक्तको आग्रहमा खिचिएको भनिन्छ ।

आज पनि अन्तध्र्यानपछि समय–समयमा भक्तहरूलाई दर्शन दिने गरेको विश्वास गरिन्छ । हैडाखानी बाबा विश्वले चिनेको सिद्धसिद्धेश्वर महापुरुष हुनुहुन्थ्यो । यद्यपि, उहाँ कुन सम्प्रदायका हुनुहुन्थ्यो भन्ने कुरामा अझै पनि खोज हुन बाँकी छ । भविष्यका लागि यो रहस्य खुलै राखिएको छ ।

(‘मिल्केका झिल्का’बाट साभार गरी सम्पादित अंश)


Thursday, August 21, 2025

मनको बगैंचामा सफलताको बीउ

The Power of Your Subconscious Mind | by Joseph Murphy पुस्तकको तेस्रो अध्याय पढेपछि आएका विचारको एउटा सानो टिपोट

✍ विजयप्रसाद मिश्र



जीवनको बगैंचामा तपाईं माली हुनुहुन्छ। तपाईंका विचारहरू बीउ हुन्। तपाईंले रोप्नुहुने प्रत्येक विचारले तपाईंको भविष्यको निर्माण गर्छ। तपाईंको अवचेतन मन (subconscious mind) त्यो उर्वरा भूमि हो जसले तपाईंले रोपेको हरेक बीउलाई बिना कुनै प्रश्न स्वीकार गर्छ र त्यसलाई हुर्काउँछ।

यदि तपाईंले डर, शङ्का र असफलताका बीउहरू रोप्नुभयो भने, तपाईंले चिन्ता, रोग र हारको फल प्राप्त गर्नुहुनेछ। तर यदि तपाईंले विश्वास, स्वास्थ्य र सफलताका बीउहरू रोप्नुभयो भने, तपाईंले आनन्द र समृद्धिको फसल काट्नुहुनेछ। तपाईंको अवचेतन मनले तपाईंको हरेक सोचाइलाई स्वीकार गर्छ—चाहे त्यो नकारात्मक होस् वा सकारात्मक।

तपाईंको अवचेतन मनलाई कसरी प्रयोग गर्ने?

यो शक्तिशाली मनलाई सकारात्मक तरिकाले प्रयोग गर्नका लागि केही सरल तरिका छन्:

  • आफ्नो विचारको रक्षा गर्नुहोस्: आफ्नो मनलाई नकारात्मक र शङ्काका विचारहरूबाट जोगाउनुहोस्। तपाईंले जे सोच्नुहुन्छ, त्यही बन्नुहुन्छ। त्यसैले, सधैं सकारात्मक र रचनात्मक विचारहरू मात्र सोच्ने प्रयास गर्नुहोस्।
  • दैनिक सकारात्मक कथन (Affirmations) प्रयोग गर्नुहोस्: हरेक दिन विश्वास र भावनाका साथ यस्ता कुराहरू भन्नुहोस्: "म बलियो छु," "म सक्षम छु," "म स्वस्थ छु," "म सफल छु।" तपाईंको अचेतन मनले यी कुराहरूलाई सत्य मान्छ र त्यसलाई साकार पार्न काम गर्छ।
  • कल्पना गर्नुहोस् (Visualize): तपाईंले कस्तो जीवन चाहनुहुन्छ, त्यसलाई कल्पना गर्नुहोस्। मानौं कि त्यो जीवन तपाईंले अहिले नै बाँचिरहनुभएको छ। तपाईंको अचेतन मनले कल्पना र वास्तविकता बीचको भिन्नता बुझ्दैन। यसले तपाईंको कल्पनालाई वास्तविकतामा बदल्न काम गर्छ।
  • विश्वासका साथ प्रार्थना गर्नुहोस्: प्रार्थना गर्दा तपाईं केही माग्दै हुनुहुन्छ जस्तो होइन, बरु तपाईंले पहिले नै त्यो पाइसक्नुभएको छ भन्ने विश्वासका साथ प्रार्थना गर्नुहोस्। यसले तपाईंको अचेतन मनमा गहिरो छाप पार्छ र तपाईंको विश्वासलाई बलियो बनाउँछ।

तपाईंको अवचेतन मन एक निष्ठावान सेवक जस्तै हो, जुन कहिल्यै थाक्दैन र सधैं काम गरिरहन्छ। अब यो तपाईंमा निर्भर छ कि तपाईं यसलाई के काम दिनुहुन्छ। यसलाई डर र असफलताका बीउहरू दिनुहुन्छ वा विश्वास र सफलताका। सधैं सम्झनुहोस्सानै भए पनि सकारात्मक सोचाइले तपाईंको जीवनमा ठूलो चमत्कार ल्याउन सक्छ।

चुरो कुरो

१. “आज तपाईंले सोच्ने सचेत विचारहरू नै ती बीउ हुन् जसलाई तपाईंको अचेतन मनले भविष्यको वास्तविकतामा परिणत गर्छ।”

२. “तपाईंको अवचेतन मनको माटोले तपाईंसँग तर्क गर्दैन। यसले तपाईंले रोप्ने जुनसुकै बीउलाई पनि स्वीकार गर्छ र त्यसलाई हुर्काउने काम गर्छ।”

३. “तपाईंको अवचेतन मनले ढोकाहरू खोल्न थाल्छ। यसले ती विश्वासलाई वास्तविकतामा बदल्न बाटोहरू सिर्जना गर्छ र परिस्थितिहरूलाई मिलाउँछ।”

४. “तपाईंको अवचेतन मन एक वफादार सेवक जस्तै हो। यसले आराम गर्दैन। यो राम्रो वा नराम्रो दुवैका लागि सधैँ काम गरिरहेको हुन्छ।”

५. “तपाईं आफ्नो मनको माली हुनुहुन्छ। बुद्धिमानीपूर्वक बिरुवा रोप्नुहोस् र तपाईंले प्रशस्त मात्रामा फल प्राप्त गर्नुहुनेछ।”


यही कुरा निकेअघि खप्तड बाबा नामले चिनिने नेपालका महान् विभूति श्री १००८ ब्रह्मवित् स्वामी सच्चिदानन्द सरस्वतीले पनि विचार विज्ञानमा उल्लेख गरिसक्नुभएको थियो, जुन निम्नानुसार छ—

"चतुर माली ती बेकम्मा घाँसको जरालाई खनेर निकाली दिन्छ। उस्तै नै हाम्रो मनरूपी खेतमा नराम्रा विचाररूपी घाँसको गहिरो जरा गडिसकेको छ। त्यसैले हामी सहजै राम्रा विचार गर्न सक्दैनौं यसैले नराम्रा विचारहरूको जरालाई उखेलेर उत्तम फलदार वृक्षहरूलाई जमाउनु पर्दछ। ठूलो वृक्षहरूको जरा धेरै गहिरो हुन्छ र जंगली घाँसहरूको जरा माथि नै हुन्छ। नराम्रा विचार जंगली घाँस समान हुन् र उत्तम विचार फलदार वृक्ष समान हुन्।"


त्यसो भए अब बन्नु परेन त चतुर माली?



Sunday, August 17, 2025

आचारः परमो धर्मः

✍ विजयप्रसाद मिश्र

मानव जीवनमा आचारको महत्त्वपूर्ण स्थान छ । त्यसैले ‘आचारः परमो धर्मः’ भनिएको छ । अनि, के पनि भनिएको छ भने ‘आचारहीनं न पुनन्ति वेदाः यद्यप्यधीताः सह षड्भिरङ्गै’— अर्थात्, छः अङ्गसहित चारै वेद पढेको भए पनि व्यक्ति सदाचारी छैन भने त्यसलाई वेदले पनि पवित्र तुल्याउन सक्दैनन् । 

आचारशुद्धौ सत्वशुद्धिः, सत्वशुद्धौ चित्तकाग्रता, ततः साक्षात्कारः’ भनेर आध्यात्मिक लगायतका शुद्धिका लागि पनि सबैभन्दा पहिलो खुड्किलो सदाचार नै हो भन्ने कुरा शास्त्रले स्पष्ट पारेका छन् ।

सदाचार नै व्यक्ति, समाज एवं राष्ट्रको अभ्युदयको मूल स्रोत हो । यदि समाजमा सदाचार अप्रतिष्ठित भयो भने राष्ट्रमा कदाचार स्वभावतः बढ्दछ । सदाचार तथा कदाचार परस्परविरुद्ध छन् । सदाचारको परिणाम परस्परविश्वास, सौमनस्य, सुख एवं शान्ति हुन् । कदाचारको परिणाम समाज अथवा राष्ट्रमा सर्वत्र परस्पर अविश्वास, कलह, दैन्य तथा अशान्ति हुन् ।

मनुमहाराजले धर्मका दस लक्षण उल्लेख गर्नुभएको छ— 

धृतिः क्षमा दमोऽस्तेयं शौचमिन्द्रियनिग्रहः। 
धीर्विद्या सत्यमक्रोधो दशकं धर्मलक्षणम्।। 

(मनुस्मृति ६.९२)

१. धृति (धैर्य), 
२. क्षमा (अरुले गरेको अपकारलाई माफ गर्नु, क्षमाशील हुनु), 
३. दम (आफ्नो वासनामा नियन्त्रण गर्नु), 
४. अस्तेय (चोरी नगर्नु), 
५. शौच (अन्तरङ्ग र बाह्य शुचिता), 
६. इन्द्रिय निग्रहः (आफ्ना इन्द्रियलाई वशमा राख्नु), 
७. धी (बुद्धिमत्ताको प्रयोग), 
८. विद्या (अधिकभन्दा अधिक विद्याको साधना गर्नु), 
९. सत्य (मन–वचन–कर्मले सत्यको पालना गर्नु) र 
१०.अक्रोध (क्रोध न गर्नु); 

यी दस धर्म का लक्षण हुँन् । यी लक्षणलाई जीवनमा स्थापित गर्नु नै धर्मको पालना गर्नु हो भन्ने मान्यता छ । यही सदाचार हो ।

सदाचारद्वारा नै मानव जीवनमा धर्म प्रतिष्ठित हुन्छ । सदाचारलाई नै परम धर्म भन्नुको अर्थ हो, धर्मका जति पनि लक्षण छन्, तिनको पालन सदाचार रूपी आधारबिना सम्भव छैन । व्यक्ति सदाचारी नबनिकन धर्मको पालन नै हुँदैन, अथवा धर्मको पालन गर्नु भनेकै जीवनमा सदाचारलाई स्थापित गर्नु हो ।

वेद–पुराणादि ग्रन्थले सदाचारकै महिमा गायन गरेका छन् । श्रीशिवमहापुराणमा सदाचारको महिमा यसरी वर्णन गरिएको छ—

आचारः परमो धर्म आचारः परमं धनम् । 
आचारः परमा विद्या आचारः परमा गतिः ।।
आचारहीनः पुरुषो लोके भवति निन्दितः । 
परत्र च न सुखी न स्यात्तस्मादाचारवान् भवेत् ।।

(शिवपुराण वा. सं. उ. ख. १४। ५५–५६)

आचार परम धर्म हो, आचार सर्वश्रेष्ठ धन हो, आचार सर्वश्रेष्ठ विद्या हो, आचार नै परम गति पनि हो । आचारविहीन मानिस संसारमा निन्दित हुन्छ र उसले परलोकमा पनि सुख पाउँदैन । त्यसैले सबै आचारवान् हुनुपर्छ ।

महाभारतमा युधिष्ठिर महाराजले भन्नुभएको छ— 

तर्कोऽप्रतिष्ठः श्रुतयो विभिन्नाः
नैको मुनिर्यस्य वचः प्रमाणम् ।
धर्मस्य तत्त्वं निहितं गुहायाम्
महाजनो येन गतः स पन्थाः ।।

तर्क स्थिर छैनन्; श्रुतिहरूले पनि भिन्न–भिन्न मत दिइरहेका हुन्छन्; प्रमाणका रूपमा लिन मुनिहरूको पनि एउटै वचन वा मत छैन यसर्थ धर्मको तत्त्व निकै गहन छ । अर्थात्, धर्मको रहस्य, स्वरूप वा प्रकृति यति गहिरो छ, मानौं यो गुफाहरूमा लुकेको छ । त्यसैले सबैले गहन अध्ययन गर्न सक्दैनन् । सजिलो उपाय के हो भने जसले जीवनलाई धर्ममय; तपोमय बनाएका छन् तिनै महापुरुषले धर्मको त्यो परम तत्त्वलाई चिनेका छन् । यसर्थ, जुन बाटो उनीहरू हिँड्छन्, त्यही मार्गमा हिँड्नु श्रेयस्कर छ ।

भन्नुको तात्पपर्य हो, धर्मको सार बुझ्न धेरै गाह्रो छ । यसमा ठूला मानिस पनि भ्रमको शिकार बन्दछन् भने सामान्य मानिसको त के कुरा गर्नु ! त्यसैले युधिष्ठिर महाराज भन्नुहुन्छ— महाजन येन गतः स पन्थाः । अर्थात् जुन बाटोमा विद्वान् विवेकी मतिमान् मानिसले हिँडेकाछन् अथवा हिँड्न सल्लाह दिन्छन्, त्यही बाटो सामान्य मानिसले पनि अपनाउनुपर्छ । सद्गुणले सम्पन्न श्रेष्ठ मानिस जस्तो आचरण गर्दछन् त्यस्तै आचरण गर्नाले कल्याण हुन्छ ।

यसै कुरालाई भगवान् श्रीकृष्णले श्रीमद्भगवद्गीतामा यसरी उल्लेख गर्नुभएको छ—

यद्यदाचरित श्रेष्ठः तत्तदेबेतरो जनः । 
स यत्प्रमाणं कुरुते लोकस्तदनुवर्तते ।।

जस्तो आचरण श्रेष्ठ जनले गर्दछन्, जस्तो प्रमाण उनीहरूले समाजमा स्थापित गर्दछन् सामान्य जनमानसले पनि त्यसैलाई पछ्याउने गर्दछ । यसर्थ, जनसामान्यले जसलाई आदर्शका रूपमा हेर्छन् तिनले समाजमा सधैँ सदाचारिता, सद्गुण आदिलाई नै स्थापित गर्नुपर्दछ ।

स्मृतिकार मनु महाराज भन्नुहुन्छ— आचारेण तु संयुक्तः सम्पूर्णफलभाक् भवेत् । अर्थात् धर्माचरणले संयुक्त भएको मानिस नै आफूले गरेको कर्महरूबाट प्राप्त हुने पूर्णफलको भागी बन्दछ ।

अनन्तश्रीविभूषित जगद्गुरु शंकराचार्य ऊर्ध्वाम्नाय श्रीकाशीसुमेरुपीठाधीश्वर स्वामी श्रीशंकरानन्द सरस्वतीजी महाराज भन्नुहुन्छ— 

“सदाचार नै व्यक्ति, समाज एवं राष्ट्रको अभ्युदयको मूल स्रोत हो । यदि समाजमा सदाचार अप्रतिष्ठित भयो भने राष्ट्रमा कदाचार स्वभावतः बढ्दछ । सदाचार तथा कदाचार परस्परविरुद्ध छन् । सदाचारको परिणाम परस्परविश्वास, सौमनस्य, सुख एवं शान्ति हुन् । कदाचारको परिणाम समाज अथवा राष्ट्रमा सर्वत्र परस्पर अविश्वास, कलह, दैन्य तथा अशान्ति हुन् ।”

तमिल भाषाका सन्त–कवि तिरुवल्लुवरले रचना गर्नुभएको तिरुक्कुरल ग्रन्थमा ‘आचार’बारे भनिएको छ—

आचारः प्रथमो धर्मः इत्येतद् विदुषां वचः।
तस्माद् रक्षेत् सदाचारं प्राणेभ्योऽपि विशेषतः।।

विद्वान्हरू भन्छन् हाम्रो सदाचरण (असल व्यवहार) नै प्रमुख धर्म हो । यसैले मनुष्यले आफ्नो प्राणहरूभन्दा पनि विशेष ठानेर सदाचारकै रक्षा गर्नुपर्दछ । यसो भन्नुको तात्पर्य हो सदाचारलाई कहिल्यै छोड्नु हुँदैन ।

ध्यातव्य छ— 

  • शुभ संस्कारबाट नै सुन्दर समाजको निर्माण हुन्छ । 
  • संस्कृति शब्दको मूलमा पनि संस्कारित रीति–नीति नै रहेको देखिन्छ । 
  • मानवको सुकृति नै संस्कृति हो, यसलाई असल अथवा राम्रो भनेर थप विशेषण दिइरहनु नपर्ला । 
  • संस्कृतिको विकासबाटै अनुकरण गर्नयोग्य सभ्यताको प्रादुर्भाव हुन्छ । 
  • र, अनुकरणीय सभ्यताको जगमा नै मर्यादित, अनुशासित समाजको प्रगति हुन्छ । 
  • अतः संस्कारबाटै नैतिक एवं कर्तव्यनिष्ठ नागरिकको निर्माण हुन्छ र तिनै असल नागरिकका पुरुषार्थले राष्ट्र समुन्नत एवं समृद्ध हुन्छ ।

सदाचारको बोध सत्साहित्यको अध्ययन, सत्पुरुषको संगत आदिबाट हुन्छ । ब्रह्मनिष्ठ सन्त–महात्मा, ज्ञानी पुरुष र शुद्ध हृदयका महापुरुषहरूको सत्संगको महत्त्व दर्शाउँदै शास्त्रमा भनिएको छ— 

  • सत्संग नै यस्तो सरल माध्यम हो, जसले मानव जीवनको सर्वाङ्गीण विकासको मार्ग प्रशस्त गर्दछ । 
  • अज्ञानता र काल्पनिक भ्रमबाट मुक्त गराउने क्षमता सत्संगमै हुन्छ । 

परिवारमा पनि सत्संगयुक्त सुमधुर वातावरण बनाउनुपर्दछ किनभने— 

  • घर संस्कार र सदाचारको प्राथमिक पाठशाला हो । 
  • माता–पिता र अग्रजको आचरणबाटै साना कलिला बालबालिकाले शिक्षा ग्रहण गर्दछन् । 

यस तथ्यलाई ध्यानमा राखी घरलाई सदाचारको परिवेशले परिपूर्ण राख्नुपर्दछ ।


गृहको सौन्दर्य | वैदिक शिक्षा

हाम्रो वैदिक र आर्ष वाङ्मयले घर र परिवारको महत्त्वलाई गहनताका साथ समेटेको छ। घर कस्तो हुनुपर्छ भन्ने विषयमा प्रशस्त चर्चा गरिएको छ भने परिवारमा सद्भाव, सहकार्य र उन्नति कसरी कायम राख्ने भन्नेबारे पनि मनस्वी ऋषि–विदुषीहरूले विभिन्न कोणबाट विमर्श गरेका छन्।

परिवारलाई संस्कारको केन्द्र बनाउन चाहनेहरूका लागि वेद, पुराणलगायतका सद्ग्रन्थहरूको अध्ययन निकै उपयोगी हुन्छ। यसै सन्दर्भमा, अथर्ववेदमा उल्लेख गरिएका दुई महत्त्वपूर्ण मन्त्रहरूको भावार्थ यहाँ प्रस्तुत गरिएको छ, जसले घर र परिवारको आदर्श स्वरूपलाई उजागर गर्छ।


इमे गृहा मयोभुव ऊर्जस्वन्तः पयस्वन्तः ।
पूर्णा वामस्य तिष्ठन्तस्ते नो जानन्तु जानतः ।। 

(अथर्ववेदः ७।६०।२)

भावार्थ : धन–धान्य, घिउ–दूधले परिपूर्ण घर सुखदायी छन् । सबै प्रकारको सौन्दर्यले युक्त यी घर हाम्रा साथमा घनिष्ठरूपले युक्त छन्— हामीले यस्तो बुझ्नुपर्छ ।

हामीले हाम्रो घर कस्तो बनाउनुपर्छ भन्ने सन्दर्भमा अथर्ववेदमा भनिएको छ— गौ–पालन गर्ने र अन्न–दूधादिले परिपूर्ण घर समृद्ध होस् । यस्तो घरप्रति त्यहाँका निवासीको सम्बन्ध घनिष्ठ र आत्मीयतापूर्ण हुन्छ ।


सूनृतावन्तः सुभगा इरावन्तो हसामुदाः ।
अक्षुध्या अतृप्यासो गृहा मास्मद् बिभीतन ।।

(अथर्ववेदः, ७।६०।६)

भावार्थ : हे गृहमा निवास गर्नेहरू ! तिमीहरू प्रिय, सत्य वाणी बोल्ने होऊ, शुभ–भाग्यले युक्त होऊ, प्रशस्त अन्न भएका, हँसिला, प्रसन्न, सन्तुष्ट होऊ । घरमा भोको र तिर्खाएको कोही नहोस् । तिमीहरू हामीबाट निर्भर रहनू ।

यो मन्त्र घरको वातावरण कस्तो हुनुपर्छ भन्ने सन्दर्भमा छ । स्पष्ट छ— जुन घरमा परस्पर मधुर र शिष्ट सम्भाषण भइरहन्छ, जुन प्रीतिभोजहरूले संयुक्त छ, जसमा सबै प्रसन्नतापूर्वक निवास गर्दछन्, जहाँ कोही पनि भोक र तिर्खाले रहित छ, त्यस्तो मङ्गलमय गृहमा भयको सञ्चार हुँदैन ।

प्रस्तुतिः विजयप्रसाद मिश्र


Friday, August 15, 2025

श्रीकृष्णनीति : जीवनरथको सारथि



— विजयप्रसाद मिश्र

भगवान् भन्नुहुन्छ— 

“सृष्टिको चक्र निरन्तर घुमिरहँदा हरेक युगमा धर्मको रक्षा र अधर्मको नाशका लागि म स्वयं अवतरित हुने गर्दछु ।” 

जुन रूपमा उहाँले यो वचन दिनुभएको थियो त्यसै रूपमा उहाँको जन्म त्यस युगको अन्धकारलाई चिर्न र धर्मको ज्योति बाल्नका लागि भएको थियो । 

जन्मदेखि नै संघर्ष

श्रीकृष्णको जन्म नै असामान्य परिस्थितिमा भएको थियो। मामा कंसको अत्याचारबाट पृथ्वीलाई मुक्त गर्नका लागि उहाँले एउटा अँध्यारो कारागारमा जन्म लिनुभयो। जन्मनेबित्तिकै आमाबाबुबाट बिछोडिएर बस्नुपर्ने स्थिति आयो। उहाँलाई गोकुलमा गोप्य रूपमा राखियो। बाल्यकालदेखि नै उहाँले पुतना, कागासुर, बकासुर जस्ता अनगिन्ती असुरहरूको सामना गर्नुपर्‍यो। यी सबै घटनाले उहाँको जीवनको सुरुवात नै संघर्ष र चुनौतीले भरिएको थियो भन्ने देखाउँछ। तर, यी सबै अवरोधका बाबजुद उहाँ कहिल्यै विचलित भएनन्। बरु, गोकुलका ग्वालबाल र गोपिनीहरूसँग रमाउँदै, बाँसुरी बजाउँदै उहाँले बाल्यकाललाई पूर्ण आनन्दका साथ बिताउनुभयो। यसबाट हामीले जस्तोसुकै कठिन परिस्थितिमा पनि खुशी र आनन्द खोज्न सकिन्छ भन्ने प्रेरणा पाउँछौं।

मित्रताको अनुपम उदाहरण

श्रीकृष्णको जीवनमा मित्रताको महत्व अतुलनीय छ। उहाँले ऋषि सान्दीपनीको गुरुकुलमा सुदामासँग गरेको मित्रतादेखि लिएर महाभारतमा अर्जुनलाई दिएको साथले मित्रताको सही अर्थ बुझाउँछ। सुदामा जस्ता गरीब मित्रसँग निस्वार्थ प्रेम र आदर देखाएर उहाँले मित्रताको सबैभन्दा ठूलो धन हृदयको सम्बन्ध हो भन्ने प्रमाणित गर्नुभयो। त्यसैगरी, युद्धभूमिमा विचलित भएका अर्जुनलाई सारथी बनेर मार्गदर्शन गर्नु र गीताको ज्ञान दिनुले उहाँ एक सच्चा मित्र र गुरु दुवै हुनुहुन्थ्यो भन्ने देखाउँछ। 

कर्मयोगका प्रणेता

महाभारतको युद्धमा अर्जुनलाई दिएको श्रीमद्भगवद्गीताको उपदेश श्रीकृष्णको व्यक्तित्वको सबैभन्दा महत्वपूर्ण पक्ष हो। उहाँले अर्जुनलाई कर्मको महत्व, निष्काम कर्म र धर्मको मार्गमा हिँड्ने प्रेरणा दिनुभयो। “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन” (तिम्रो अधिकार कर्म गर्नुमा छ फलमा होइन) भन्ने उहाँको सन्देशले मानिसलाई आफ्नो कर्तव्य पूरा गर्न र त्यसको परिणामबारे चिन्ता नगर्न सिकाउँछ। किनभने परिणामको कारक कर्ता मात्र होइन। यो ज्ञान कुनै एक युग वा देशका लागि मात्र नभई सम्पूर्ण मानवजातिको लागि जीवन दर्शन बनेको छ।

प्रेम र माधुर्यको प्रतीक

एकतर्फ उहाँ सुदर्शन चक्रधारी योद्धाका रूपमा दुष्टहरूको संहार गर्नुहुन्छ, भने अर्कोतर्फ बाँसुरी बजाएर सबैलाई मोहित पार्नुहुन्छ। राधासँगको उहाँको प्रेम र गोपिनीहरूसँगको रासलीलाले उहाँको व्यक्तित्वमा माधुर्य र प्रेमको गहिराइ देखाउँछ। फेरि रासलीलामा प्रत्येक गोपिनीले उहाँ आफूसँगै भएको अनुभव पनि गरेका थिए। यसले आफू सबैसँग भएको अनुभूति गराउने उहाँको नेतृत्व कुशलताको सुन्दर चित्र हामीसामु राख्दछ। यो गुण नेतृत्वकर्ताले त सिक्नै पर्छ। 

उहाँले रुक्मिणीको इच्छालाई सम्मान गर्दै उनलाई अपहरण गरेर विवाह गर्नुभयो। यसबाट उहाँले प्रेममा समर्पण र इच्छाको सम्मान कति महत्त्वपूर्ण हुन्छ भन्ने सन्देश दिनुभएको छ। उहाँको जीवनमा प्रेम, भक्ति र समर्पणको एक अनौठो संगम पाइन्छ।

कुशल रणनीतिकार र न्यायका प्रतिमूर्ति

श्रीकृष्णले आफ्नो जीवनभर अन्याय र अधर्मको विरुद्ध लडिरहनुभयो। कंस, र पछि कालयवन, जरासन्ध आदिको वध गरेर उहाँले तत्कालीन पीडित, शोषित समाजलाई स्वतन्त्रता दिलाउनुभयो। महाभारतको युद्धमा पाण्डवको पक्षमा उभिएर उहाँले धर्मको स्थापना गनुभयो। उहाँ केवल एक युद्धका योद्धा मात्र नभई, एक कुशल रणनीतिकार र राजनीतिज्ञ पनि हुनुहुन्थ्यो। उहाँले परिस्थितिअनुसार फरक–फरक रणनीति अपनाएर न्यायलाई जिताउनुभयो। उहाँको जीवनले अन्याय र अधर्मविरुद्ध भगवान् स्वयं उपस्थित हुनुहुन्छ भन्ने सन्देश दिन्छ।

श्रीकृष्णको व्यक्तित्वलाई कुनै एक सीमामा बाँध्न सकिँदैन। उहाँको जीवनको हरेक पक्षले हामीलाई केही न केही सिकाउँछ। उहाँ एक आदर्श पुत्र, प्रेमी, मित्र, गुरु, राजा र राजनीतिज्ञ सबै हुनुहुन्थ्यो। तर मूलमा उहाँ धर्मसंस्थापक हुनुहुन्थ्यो। उहाँको जीवनको प्रत्येक आयमले ‘धर्म’ स्थापनालाई महत्त्व दिएको पाइन्छ। आजको भौतिकवादी युगमा मानिसहरू जब तनाव, डिप्रेसन र निराशाबाट गुज्रिरहेका छन्, तब श्रीकृष्णको आनन्दमय जीवनले उनीहरूलाई खुशी र शान्तिको मार्ग देखाउँछ।

श्रीकृष्णले हामीलाई जीवनमा जतिसुकै गुमाउन परे पनि हामीले कहिल्यै आफ्नो आनन्द र मुस्कान गुमाउनु हुँदैन भन्ने सिकाउनुभयो। उहाँ परम आनन्दका स्रोत हुनुहुन्छ, जसले जीवनलाई एक उत्सवका रूपमा जिउने कला सिकाउनुभएको छ। उहाँलाई आफ्नो जीवनरथको सारथि बनाएर, उहाँको जीवन दर्शनलाई अपनाएर हरेक व्यक्तिले एक सार्थक र प्रेममय जीवन बिताउन सक्छ। त्यसैले, श्रीकृष्णलाई प्रेमपूर्वक हृदयमा राखेर हामीले आफ्नो जीवनलाई नै एक नयाँ दिशा दिन सक्छौँ।

श्रीकृष्णार्पणमस्तु!


श्रीपद्ममहापुराण | पुराण चिन्तन


✍ विजयप्रसाद मिश्र

हिन्दू समाज जीवनमा पुराणहरूको विशेष महत्त्व रहिआएको छ । शास्त्रले पुराणहरूलाई साक्षात् भगवान् श्रीहरिकै वाङ्मय रूप भनेका छन् । लोकको अन्धकारलाई पन्छाउन भगवान् नै सूर्य रूपमा प्रकट हुनुभएझैँ हाम्रो अज्ञानरूपी अन्धकार पन्छाउन प्रभुले पुराण–विग्रह धारण गर्नुभएको कुरा पद्मपुराण (स्वर्गखण्ड ६२।६०–६१) मै उल्लेख भएको छ । त्यसैले ज्ञानको पावन ज्योतिले आलोकित हुनका लागि पुराण नित्य श्रवण गर्नुपर्छ भन्ने मान्यता हिन्दू समाज जीवनमा स्थापित छ— पुराणं शृणुयान्नित्यम्

भनिन्छ, पुराणरूपी वाङ्मयको श्लोक सङ्ख्या शतकोटी अर्थात् सय–करोड थियो । पछि समयको परिवर्तनसँगै मनुष्यको आयु र ग्रहणशीलता घट्दै गएकाले एउटै जीवनकालमा समग्र पुराणको पठन र श्रवण सम्भव नहुने देखेर कृपामूर्ति भगवान् स्वयं वेदव्यासका रूपमा अवतीर्ण भई उहाँले नै तिनलाई चार लाख श्लोकमा सीमित गरी अठार पुराणका रूपमा विभाजित गर्नुभयो । पुराणको यही संक्षिप्त संस्करण नै भूलोकमा प्रकाशित छ । यस दृष्टिले भगवान् वेदव्यास पुराणका रचनाकार नभएर संग्रहकर्ता एवं संक्षेपक हुनुहुन्छ । करुणामूर्ति वेदव्यासद्वारा यसरी विभाजित गरिएका पुराणहरूमध्ये पद्मपुराणको विशिष्ट स्थान रहेको छ । हृदयं पद्मसंज्ञकम् भनी यसलाई पुराण विग्रह श्रीहरिको हृदयस्थान मानिएको छ ।

सृष्टि–खण्ड, भूमि–खण्ड, स्वर्ग–खण्ड, पाताल–खण्ड र उत्तर–खण्ड गरी पाँच भागमा विभाजित पद्मपुराणमा जम्मा २६६ अध्याय छन् । कथाको उपक्रम स्वयं वेदव्यासका शिष्य परम बुद्धिमान् लोमहर्षणद्वारा उनका विद्वान् पुत्र उग्रश्रवालाई नैमिषारण्यमा साधनारत ऋषिहरू समक्ष गएर विस्तारपूर्वक पुराणहरूको वर्णन गर्न दिइएको आदेशबाट भएको छ । 

पद्मपुराणमा भगवान् श्रीविष्णुकै महात्म्य उजागर भएको छ । यसर्थ, यसलाई वैष्णव पुराणको कोटीमा गणना गरिन्छ । यसमा श्रीराम, श्रीकृष्ण आदि अवतार–चरित्र एवं तिनकै परात्पर रूपहरूको विशद वर्णन भएको छ । पुष्कर, अयोध्या, बदरिकाश्रम, श्रीधाम वृन्दावन जस्ता पावन तीर्थक्षेत्रको महात्म्यसँगै यसमा श्रीराधा–कृष्ण एवं तिनका पार्षदहरूको वर्णन, वैष्णवहरूको द्वादशशुद्धि, पाँच प्रकारका पूजा, शालिग्रामको स्वरूप एवं महिमा आदिको वर्णन, गोपिचन्दनको महिमा तथा तिलक धारण विधि, भगवत्सेवामा हुने अपराध र ती अपराधबाट मुक्तिका उपाय, तुलसी एवं अश्वत्थ वृक्षको महिमा, भगवान्को नामकीर्तनको महत्ता, भगवान्का चरण चिह्नको परिचय तथा प्रत्येक महिनामा भगवान्को आराधनाको फल इत्यादि वर्णित छ । 

वैष्णवहरूको लक्षण, दीक्षा–विधि, भगवान्को निर्गुण एवं सगुण स्वरूपको ध्यान, भगवद्भक्तिका लक्षण, एकादशी, नृसिंहचतुर्दशी, जन्माष्टमी आदि व्रतको महिमा वर्णन तथा व्रत विधि, दीपावली, गोवर्धन पूजा, यमद्वितीया जस्ता पर्वमा गर्नुपर्ने कृत्य आदि पनि यस विशालकाय पुराणमा उजागर भएका छन् । श्रीमद्भगवद्गीताका प्रत्येक अध्यायको महात्म्य, श्रीमद्भागवत महापुराणको महात्म्यका क्रममा धुन्धुकारी–गोकर्णको प्रसङ्ग, भागवत सप्ताह पारायण विधि जस्ता विशिष्ट विषय पनि यस पुराणमा समावेश भएका छन् । वैष्णव सम्प्रदायसँग सम्बन्धित यस्ता विषयहरूको प्रचुरताकै कारण यो पुराण वैष्णवहरूका निम्ति निकै महत्त्वपूर्ण भएको देखिन्छ । यद्यपि यसमा भगवान् श्रीविष्णुलाई नै सर्वोपरि ब्रह्मका रूपमा दर्शाइए पनि यहाँ ब्रह्मा, विष्णु र शंकरबीच अभेदत्व प्रतिपादित भएको छ । यस पुराणअनुसार स्वयं भगवान् श्रीविष्णु नै ब्रह्माका रूपमा सृष्टिका सर्जक बन्नुभएको छ, कल्पको स्थिति बनिरहेको अवस्थामा युग–युगमा अवतार धारण गर्ने आफै हुनुहुन्छ र कल्पको अन्त्यमा स्वयं तमःप्रधान रुद्ररूप धारण गरेर संहारक पनि बन्नुहुन्छ ।

यसै पुराणमा सूतजीले भन्नुभएको छ— 

‘श्रीकृष्णको नामलाई आत्मसात् गरेका (नामजप एवं सङ्कीर्तनपरायण) भक्तहरूले यो पृथ्वीलाई नै तीर्थ बनाइदिन्छन् । जसले अव्यक्त श्रीविष्णु र भगवान् महेश्वरलाई एउटै भावले दर्शन गर्दछन्, तिनले पुनः यस संसारमा जन्म लिनुपर्दैन । अतएव हे महर्षिहरू ! तपाईँहरूले आदि–अन्त्यरहित अविनाशी परमात्मा विष्णु तथा महादेवजीलाई एउटै भावले हेर्नुहोस् र त्यसै भाव अनुसार पूजन गर्नुहोस् ।’

लक्षणअनुसार प्रायः पुराणमा हुनुपर्ने विषयहरू, यथा— सृष्टि उपक्रम, युगका काल–मान, ब्रह्माजीद्वारा विरचित विभिन्न सर्गका कथा, प्रजापतिहरूको वर्णन, मन्वन्तर तथा मनु र उनको सन्तान परम्परा, देवता, दानव, नाग इत्यादिको उत्पत्ति प्रसङ्ग, श्राद्ध आदिको महिमा, ब्रह्मचर्यादि आश्रमधर्म, गायत्री मन्त्रको महिमा, आम्बरिस–पुण्डरीक आदि भगवद्भक्तहरूको कथा जस्ता विषयसँगै वृक्षारोपण, सत्यभाषण जस्ता कुराको महिमा, गङ्गा उत्पत्ति, गण्डकी नदीको महात्म्य, गणेशजीको महिमा–स्तुति, सूर्य उपासना र तिनको फल, सुपात्रलाई अन्न–जल आदि दान दिनुको महिमा, स्वर्ग–नरकादि वर्णन, माघ–वैशाख–कार्तिक मासको विशिष्ट महिमा इत्यादि पनि प्रकाशमा ल्याइएका छन् ।

यस भव्य पुराणले मनुष्यमात्रलाई धर्ममय जीवन जिउन प्रेरित गरेको छ । विश्वकल्याण एवं शान्तिको कामनाले ओतप्रोत कयौँ स्वर्णिम सूक्तिहरू यस पुराणले हामीलाई प्रदान गरेको छ । जस्तै,

श्रूयतां धर्मसर्वस्वं श्रुत्वा चाप्यवधार्यताम् ।
आत्मनः प्रतिकूलानि परेषां न समाचरेत् ।। 

यसको भावार्थ हो— धर्मको मर्म के हो, सुन्नुहोस् ! सुन्नुहोस् र त्यसलाई पालन पनि गर्नुहोस् । जुन आचरण आफ्ना निम्ति प्रतिकूल छ, त्यो अरूप्रति पनि नगर्नुहोस् । अर्थात् अरूसँग त्यस्तै व्यवहार गर्नू जस्तो अरूले आफूप्रति गरून् भन्ने चाहनुहुन्छ । पुराणवाटिकाका यस्ता सुन्दर पुष्परूपी उक्तिलाई विश्वमानवले आत्मसात् गर्ने हो भने त्यसको सुगन्धले संसार स्वतः धन्य हुनेछ । 

पद्मपुराणमा वातावरणप्रति सचेतना जागृत गर्दै वृक्षारोपणको लाभ पनि दर्शाइएको छ । यहाँ भनिएको छ— 

वृक्ष रोप्ने मानिसले आफ्नो भूतकालका पितृ तथा भविष्यका वंशज सबैको उद्धार गर्दछ ।

यस्तै, माताको गरिमा स्थापित गर्दै एकाउन्नौँ अध्यायको ३५औँ श्लोकमा भनिएको छ— 

‘गुरुहरूमध्ये माता, पिता र आचार्य यी तीन सर्वश्रेष्ठ हुन् । यीमध्ये पनि माता सबैभन्दा अधिक सम्मान–योग्य हुन्छिन् ।’

यो पुराण यस्ता सदुपदेशरूपी कयौँ दिव्य प्रसादले युक्त छ । यद्यपि यहाँ सबैभन्दा महत्त्वपूर्ण प्रसाद चाहिँ ईश्वरप्रीति नै दर्शाइएको छ । यसैलाई मानवजीवनको परमोद्देश्य पनि भन्ने गरिन्छ ।

पुराणवक्ता सूतजी भन्नुहुन्छ— 

‘तिनै जिह्वा श्रेष्ठ छन् जो भगवान्को स्तुतिमा रमाएका छन् । तिनै पाइलालाई सफल ठान्नु जुन ईश्वरतर्फ गतिमान् छन् । तिनै हातलाई धन्य ठान्नु जो भगवान्को पूजामा संलग्न छन् ।... भाग्यशाली मनुष्यले मात्र कर्मयोगद्वारा श्रीहरिको पूजन गर्दछन् ।’ 

यस उक्तिलाई हामीले ‘तत्परताका साथ ईश्वरको कार्यमा संलग्न हुनु अर्थात् पृथ्वीलाई मङ्गलमय बनाउनु तथा सबै जीवको कल्याणका कार्यमा आफूलाई लगाउनु नै श्रेयस्कर हो’ भन्ने भावमा ग्रहण गर्न सक्यौँ भने अवश्य पनि हामी यो पावन पुराणको अध्ययन–श्रवण एवं मननको फलश्रुतिका भागी बन्न सक्नेछौँ ।

देवर्षि नारदः भक्ति र ज्ञानका अजस्र स्रोत



✍ विजयप्रसाद मिश्र

हिन्दू धर्मशास्त्रहरूमा देवर्षि नारद एक बहुआयामिक व्यक्तित्व हुन् । उनी भगवान विष्णुका प्रिय भक्त, त्रिकालदर्शी ऋषि र ब्रह्माण्डभर ज्ञान र भक्तिको सन्देश प्रवाह गर्ने दिव्य दूतका रूपमा प्रतिष्ठित छन् । उनको वीणाको मधुर झङ्कार र ‘नारायण नारायण’को पवित्र ध्वनिले भक्त हृदयलाई शान्ति र प्रेरणा प्रदान गर्दछ । तर, जब हामी टेलिभिजन सिरियलहरूमा नारदको चरित्रलाई सीमित दायरामा देख्छौं, तब पुराणहरूमा वर्णित उनको गहन ज्ञान, भक्तिका लागि प्रेरणा र महान ग्रन्थहरूको सिर्जनामा रहेको उनको महत्त्वपूर्ण भूमिका ओझेलमा परेको अनुभव हुन्छ ।

पुराणहरूमा नारदलाई केवल सूचना आदानप्रदान गर्ने मध्यस्थकर्ताको रूपमा मात्र चित्रण गरिएको छैन, बरु उनी ज्ञानको ज्योति फैलाउने र भक्तहरूलाई सही मार्ग प्रदर्शन गर्ने आध्यात्मिक गुरु पनि हुन् । श्रीमद्भागवत महापुराण जस्तो भक्ति रसले परिपूर्ण ग्रन्थको प्रादुर्भाव नारदकै प्रेरणाबाट भएको तथ्य भागवत पुराणमा वर्णित कथाले नै व्यक्त गरेको छ । उनले नै व्यासमुनिलाई सांसारिक दुःखबाट मुक्त भएर भगवान्को महिमा गाउन र यो महान ग्रन्थको रचना गर्न उत्प्रेरित गरेका थिए ।

त्यति मात्र होइन, आदिकवि वाल्मीकिलाई रामायण जस्तो कालजयी काव्य लेख्न प्रेरित गर्ने श्रेय पनि देवर्षि नारदलाई नै जान्छ । कथा अनुसार, वाल्मीकिले एउटा व्याधले क्रौञ्च पक्षीको जोडीमध्ये एकलाई मारेको देखेर करुणाले भरिएर श्राप दिए, जुन एउटा श्लोकको रूपमा व्यक्त भएको थियो । यसपछि ब्रह्माजीको प्रेरणाबाट वाल्मीकिले नारदमुनिलाई भेटेर श्रीरामको पवित्र कथा सुन्ने इच्छा व्यक्त गरे । देवर्षि नारदले वाल्मीकिलाई संक्षेपमा श्रीरामको सम्पूर्ण कथा सुनाए र उनलाई यस पुण्य कथालाई श्लोकबद्ध गर्न प्रेरित गरे । नारदको यही प्रेरणाले नै विश्वलाई रामायण जस्तो अनुपम कृति, पहिलो महाकाव्य प्राप्त भयो ।

भक्त प्रह्लादको अटुट भक्ति र बालक ध्रुवको दृढ तपस्यामा पनि नारदमुनिको महत्त्वपूर्ण भूमिका देखिन्छ । प्रह्लादले आफू आमाको गर्भमा छँदै देवर्षिबाट श्रीहरिको भक्तिको दीक्षा पाएका थिए । पछि हिरण्यकशिपुको अत्याचारबाट प्रताडित प्रह्लादलाई नारदबाट पाएको त्यो शिक्षा र दीक्षाले नै धैर्य र भक्तिमा अडिग रहन मार्गदर्शन गरिरह्यो । त्यसैगरी, बालक ध्रुवको कथा पनि नारदको प्रेरणा बिना अपूर्ण रहन्छ । आफ्नो सौतेनी आमाको कठोर वचनबाट दुःखी भएर वनमा तपस्या गर्न गएका ध्रुवलाई नारदमुनिले नै भगवान विष्णुको आराधना गर्ने सही विधि र मार्ग सिकाएका थिए । नारदको मार्गदर्शनले नै ध्रुवलाई बाल्यकालमै अटल भक्ति र दिव्य ज्ञान प्राप्त गर्न मद्दत गर्‍यो, जसको फलस्वरूप उनले ब्रह्माण्डमा अमर स्थान पाए ।

तर, जब हामी टेलिभिजन सिरियलहरूमा नारदको चरित्र देख्छौं, तब पुराणहरूमा वर्णित उनको गाम्भीर्य, ज्ञान र भक्तिका प्रेरणादायी पक्षहरू प्रायः ओझेलमा परेको महसुस हुन्छ । सिरियलहरूमा नारदको चरित्रलाई प्रायः हास्यप्रधान र झैझगडा गराउने ‘कुरौटे’ व्यक्तिको रूपमा प्रस्तुत गरिन्छ । उनी एक ठाउँबाट अर्को ठाउँमा सूचना पु¥याउँदै रमाइलो गर्ने, दुई पक्षलाई भड्काउने र कहिलेकाहीँ षड्यन्त्रमा समेत संलग्न भएको देखाइन्छ । उनको ‘नारायण नारायण’को उच्चारण पनि प्रायः कुनै समस्या उत्पन्न गराउन आउँदै गरेको सङ्केतको रूपमा प्रयोग हुन्छ । यो कदापि सकारात्मक कुरो होइन । यसले त सद्ग्रन्थ र महात्माहरूको अपमान गर्न सिकाउँछ ।

देवर्षि नारद हिन्दू धर्ममा ज्ञान, भक्ति र प्रेरणाका एक अजस्र स्रोत हुन् । हामीले यो तथ्य बुझ्नै पर्छ । पुराणहरूमा वर्णित ज्ञान, भक्ति र प्रेरणाका संवाहक देवर्षि नारदको गहिरो महत्त्वलाई हामीले बुझ्नु र बुझाउन आवश्यक छ । यसरी मात्र हामी उनको वास्तविक स्वरूपलाई सम्मान गर्नसक्ने छौँ ।


आदिलिङ्ग कुशेश्वर महादेव | तीर्थ दर्शन



आदिलिङ्गाय देवाय चाऽऽदिरूपेशाय ते नमः ।
आत्मस्थाय पराङ्गाय चाऽऽत्मलिङ्गाय वै नमः ।।
(हिमवत्खण्ड ४१।१३)

सुनकोसी नदीको उद्गम स्थल तिब्बतको झाङ्गजाङ्गबो हिमनदीलाई मानिन्छ । यस नदीको सुरुवातको खण्डलाई भोटेकोशी भनिन्छ भने दोलालघाटमा इन्द्रावती नदी मिसिए पछि यस नदीलाई सुनकोशी भनिन्छ । यसर्थ, भोटेकोशी, इन्द्रावतीलगायत असङ्ख्य हिमाली–पहाडी खोला–छाँगाहरू समेटी पूर्व बगेकी छिन् सुनकोसी । उनमै मिसिन पुगेकी रोशीखोलाको दोभानमा पवित्र कुशेश्वर मन्दिर रहेको छ । रोशी खोलालाई लीलावती र पुण्यमाता पनि भनिन्छ । सिन्धुलीको वायव्य दिशा (पश्चिमउत्तर कोण) मा रहेको यो पुनीत संगमस्थललाई दुम्जा फाँट भनिन्छ जुन रामेछाप, काभ्रे र सिन्धुली जिल्लाको संगमस्थल पनि हो । यो फाँट अन्नभण्डारको रूपमा पनि चिनिन्छ ।

काठमाडौँबाट धुलिखेलहुँदै पूर्वतिर सिन्धुली–बर्दिवास राजमार्गको नेपालथोक पुगेपछि पूर्व–उत्तर कोणको सुनकोशी पारीको ढिस्कोमा रहेको वनक्षेत्र नै कुशेश्वर महादेवको क्षेत्र हो । मन्दिरको गर्भगृहमा मझौला आकारको कालो ढुङ्गाको सादा शिवलिङ्ग स्थापित छ । वैदिक विधिअनुसार पञ्चायतन देवताको पूजा गर्ने विधान भएकाले शिवलिङ्गको पछाडि गणपति, सूर्य, देवी, विष्णुसहितको प्रतिमा स्थापित छन् । गर्भगृहबाहिर बसाहाको मूर्ति द्वारअगाडि स्थापित छ । मन्दिरको दायाँतर्फ एकतले पाटी छ जसको उपयोग भजनकीर्तन, विश्राम, प्रसाद एवं पूजा सामग्री व्यवस्था आदिका निमित्त गरिन्छ ।

धार्मिक, साँस्कृतिक एवं पर्यटकीय दृष्टिकोणले महŒवपूर्ण मनोरम आदिलिङ्ग कुशेश्वर महादेव मन्दिरबारे कस्तो जनश्रुति प्रचलित छ भने सृष्टिकर्ता ब्रह्माजीले तपस्या गर्दा आसुतोष भगवान् शिव नै आदिलिङ्गका रूपमा प्रकट हुनुभएको हो । आदिनाथ नामले समेत सम्बोधन गरिने आदिलिङ्ग कुशेश्वर महादेवबारे स्कन्दपुराणको हिमवत्खण्डमा विस्तृत व्याख्या गरिएको पाइन्छ । आदिलिङ्ग भएकाले हिमवत्खण्डमा वर्णित नेपालमा भएका चौसठ्ठी शिवलिङ्गमध्ये सबैभन्दा पहिले यिनको दर्शन गर्नुपर्ने धार्मिक परम्परा रहिआएको छ ।

हिमवत्खण्डको ७०औँ अध्यायमा आदिलिङ्गबारे यसरी उल्लेख गरिएको छ—

आदिलिङ्ग स्थितं यत्र कौशिक्याश्च तटोत्तमे । 
कुशेश्वर इति ख्यातं तन्नैपालो बिराजते ।। १४।।

कुशेश्वर लिङ्गबारे के पनि मान्यता छ भने यो शिवलिङ्ग कुनै व्याधा, गाई अथवा यात्रीले फेला पारेपछि उत्खनन गरिएको हो । कुशेश्वर नाम कसरी रहन गयो भन्नेबारे चाहिँ अड्कल मात्र लगाउने गरिएको छ । यसमध्ये एउटा भनाइअनुसार कुशैकुशले युक्त भएको स्थानमा प्राप्त भएकाले उक्त शिवलिङ्गलाई कुशेश्वर भनिएको हो । हिमवत्खण्डमै ४२औँ अध्यायमा ‘कुशवदद्रिशेखरे’ अर्थात् ‘कुश भएको पहाडको शिखरमा’ भनी उल्लेख भएअनुसार त्यही पहाडमा स्थित आदिलिङ्गलाई कुशेश्वर भनिएको हुनुपर्छ । अर्को प्रचलित मान्यता अनुसार कुशिक मुनिले यहाँ शिवलिङ्गको पूजा गरेको र कुश–पर्वतको नजिक भएकोले यस शिवलिङ्गलाई कुशेश्वर भनिएको हो ।

कश्यप ऋषिको परामर्शमा शुम्भ–निशुम्भ नाम गरेका दैत्यले पनि यस क्षेत्रमा भक्तिपूर्वक आदिलिङ्ग शिवको पूजा गरी लामो समयसम्म तपस्या गरेको र त्यस तपका कारण भगवान् शिवबाट बरदान पाई त्रिलोक–विजय गरेको तथ्य पनि हिमवत्खण्डको ४१औँ अध्यायबाट उद्घाटित भएको छ । शुम्भ–निशुम्भद्वारा पराजित भएका देवताहरूले ब्रह्माजीसमेत भएर कुशेश्वर आदिलिङ्गको समीपमा आई देवीको आराधना गर्दा स्वयं अष्टादशभुजा जलदेवी प्रकट भई देवताहरूको दुःख हरण गर्ने आश्वासन दिइएको र राक्षसहरूको वध गरी देवताहरूको उद्धार गरेको पनि हिमवत्खण्डमा उल्लेख छ । उनै देवीलाई कौशिकी भगवती भन्ने गरिन्छ । यसै कारणले रोशीखोला र सुनकोशीको संगम स्थल दोभानलाई दुर्गा तीर्थको रूपमा पनि महत्त्वपूर्ण मानिन्छ । यसै दुर्गातीर्थमा स्नान गरेर कुशेश्वर महादेवको दर्शन गर्ने गरिन्छ ।

अलिखित तर जनश्रुतिका रूपमा जनविश्वास र किम्बदन्तीहरू पुस्तै–पुस्तामा सर्दैआएको पाइन्छ । परापूर्व कालमा एउटा व्याधा वनमा शिकारको खोजी गर्दागर्दै रातपरेपछि बाघ, सिंहलगायत वन्यजन्तुको डरले एउटा रुखमा चढ्न पुगेछ । संयोगवश त्यो बेलको वृक्ष रहेछ । बस्न सजिलो बनाउँने क्रममा बेलको हाँगा भाँचिएर तल ढुङ्गामाथि झरेछ । वन्यजन्तुको आवाज र रुखबाट खसिने डरले त्यो व्याधा रातभर सुत्न सकेन छ । बेलको फेदमा कुशेश्वर महादेवको मूर्ति रहेको त्यस व्याधालाई थाहा थिएन । संयोगवस त्यो दिन शिवरात्रि परेकोले एवं अज्ञानवश नै भए पनि बेलपत्र अर्पण गरेको पुण्यले गर्दा ती व्याधामाथि आसुतोष भगवान् शिवको कृपा भएछ । त्यसै पुण्यका कारण व्याधाको अज्ञान र दुव्र्यसन हटेछ । त्यही शिकारी शिवभक्त बनेर उक्त जङ्गल फाँडी शिवालय बनाएको र समयक्रममा प्रचार–प्रसार एवं विधिपूर्वक नित्यपूजा हुनथालेको हो भन्ने जनश्रुति जनमानसमा रोचक कथाका रूपमा अझै रहिआएको छ ।

आदिलिङ्गको प्राचीनता त स्कन्दपुराणअन्तर्गतको हिमवत्खण्डमा उल्लेख भएको हुनाले स्वतः सिद्ध छ । तथापि, पछिल्लो कालखण्डसँग जोडिएको ज्ञात इतिहासमा यसबारे केकस्तो उल्लेख छ भन्ने सन्दर्भमा CNAS/TU द्वारा/f Contributions to Nepalese Studies, Vol. 34, No.1 (January 2007), 119-133, 2007मा प्रकाशित गंगा कर्माचार्य (हाडा)को ‘दुम्जा श्रीकुशेश्वर महादेव’ शीर्षकको शोधपूर्ण लेखले केही प्रकाश पारेको देखिन्छ । उक्त लेखमा यसरी उल्लेख भएको छ— 

“लिच्छविकालमा शैवधर्मलाई राजकीय मान्यता दिनेमा अंशुवर्माको नाम सर्वप्रथम आउँछ । सबैभन्दा पहिले उनैले ‘भगवत्पशुपति भट्टारक पादानु गृहीतः’को उपाधि ग्रहण गरेका थिए । ...दुम्जा कुशेश्वर महादेवस्थित अंशुवर्माको अभिलेखले पनि उनको शैवधर्मप्रतिको आस्था उपत्यकाबाहिर पनि पुगको थियो भन्ने कुरा जनाउँदछ । ... दुम्जाको कुशेश्वर महादेव परिसरभित्र अंशुवर्माको अभिलेख प्राप्त हुनुले यो सँगैको शिवलिङ्ग लिच्छविकालभन्दा पनि पुरानो मान्न सकिन्छ । ... दुर्गमस्थानमा पहाडको बीचमा भएको कुशेश्वर महादेव स्थानलाई अन्यत्र जस्तो मुसलमानी आक्रमणको कुनै प्रभाव नपरेको स्पष्ट हुन्छ । मन्दिरको स्वरूप पछि परिवर्तित हुन गएता पनि शिवलिङ्गको मौलिक स्वरूप जस्ताको तस्तै कायम छ ।”

“सभ्यताकै क्रमबद्ध विकाससित प्रतिपादित धर्म आस्थामा बेरिएको सांस्कृतिक कुशेश्वर शिवलिङ्ग निकै लामो शिलास्तम्भ रहे, गडेको ज्ञातव्य छ..” भन्दै अन्नपूर्ण दैनिकमा प्रकाशित ‘कुशेश्वर महादेव परिसरका उमामहेश्वर मूर्ति’ शीर्षकको लेखमा तेजेश्वरबाबु ग्वंगःले उल्लेख गर्नुभएको छ । उक्त कुशेश्वर महादेवको शिवलिंगको चारैतिर ५० फिट गहिराइसम्म उत्खनन गर्दा पनि फेद नभेटिएको कुरा त्यहाँका दिवंगत पुजारी गोपाल बाबाले बखान गर्नुभएको कुरा भक्तपुर निवासी सुरेशबहादुर धौबन्जारबाट आफूले सुनेको पनि उहाँले उल्लेख गर्नुभएको छ । 

“उनै दिवंगत गोपाल बाबाको कथनअनुसार कुशेश्वर महादेवको जलधरी पछि कुँदी निर्माण गरी शिवलिंगको शिरभाग टुप्पोबाट पगरीझैं स्वात्त पसाली मिलाएको कथन पनि सुरेशबहादुर धौबन्जारबाटै बुझेँ ।”

कुशेश्वर महादेव मन्दिर वरिपरि चारैतिर ने.सं ७१६ मा रणसिद्धि मल्लले पर्खाल लगाई सुरक्षित पारेको नेपाल भाषाका सरलतम लिपिमा कुँदिएको शिलापत्रबाट अवगत गर्न सकिने तथ्य डा. पुरुषोत्तम लोचन श्रेष्ठको ‘कुशेश्वर महादेवस्थानका अभिलेख’ लेखमा छ । पर्खालबाहिर दक्षिणतिर निकै कलात्मक तरिकाले निर्मित उमामहेश्वरको सुन्दर प्रतिमा स्थापित छ ।

यहाँ दैनिक पूजा हुन्छ । साउने सङ्क्रान्ति, मकर सङ्क्रान्ति, तीज, बाला–चतुर्दशी, शिवरात्रिमा आदि पर्वमा यहाँ विशेष मेला लाग्दछ । भक्तहरू रातभर बत्ति बालेर भजन–कीर्तन गर्दछन् ।

Thursday, August 7, 2025

शरीर : धर्म–पालनको प्राथमिक साधन



विजयप्रसाद मिश्र

हिन्दू धर्मका प्राचीन विचारक, चिन्तक, विद्वान र शिक्षकहरूले आफ्नो लामो अनुभव, गहिरो अध्ययन, सूक्ष्म अवलोकन र मौलिक उपयोगी चिन्तनहरू भरेर हिन्दू धर्ममा केवल लाभदायक, हितकारी र कल्याणकारी कुराहरूलाई मात्र स्थान दिएका छन् । जुन कुरा अथवा कर्म मानवसहित प्रकृति, पर्यावरण एवं समग्रमा विश्व–ब्रह्माण्डकै हितमा छ त्यसैलाई हिन्दू धर्ममा महत्त्वका साथ स्थान दिइएको छ । यस दृष्टिले हेर्दा उपयोगितावादको आधारमा हिन्दू धर्मको निर्माण भएको देखिन्छ ।

हिन्दू धर्म–संस्कृतिले बाहिरी आडम्बर, देखावटी ढोङ्ग आदिलाई कुनै महत्त्व दिँदैन । यहाँ जताततै बुद्धिमत्ता र स्वस्थ चिन्तनको प्रधानता पाइन्छ । यो यस्ता उपयोगी हितोपदेश र लाभदायक पदहरूले भरिएको छ, जसले पवित्र मन, स्वस्थ शरीर र समृद्ध समाजको निर्माण गर्दछ । हाम्रा प्राचीन ग्रन्थहरूमा विशेषगरी वेदहरूमा ईश्वर र उहाँको उपासना, आत्मशक्तिको विकास, चरित्र निर्माण, असल आचरण, आत्मसंयमले प्रेरित व्यक्तिगत अभ्यास र समाजको सर्वाङ्गीण उन्नतिका लागि उपयोगी सत्सङ्ग जस्ता विषयहरू उल्लेख गरिएको छ । वेदादि शास्त्रमा राष्ट्रलाई पनि ध्यानमा राखिएको छ । वैवाहिक जीवन, सुखी गृहजीवन, नारी–स्वाभिमानको रक्षा, दुव्र्यसन–निरोध, दुर्गुणहरूको निषेध आदि धेरै उपयोगी तत्त्वहरू धर्ममा समावेश गरिएको छ, जसबाट स्वस्थ सामाजिक जीवनको निर्माण हुन्छ ।

हिन्दू धर्म हरेक दृष्टिले लाभदायक–कल्याणकारी जीवन पद्धति हो

 

यहाँ तिनै तन्त्र, कर्म, पूजापद्धतिले भरिएको कर्मकाण्ड, रीति–परम्परा, प्रार्थना, व्यायाम, आस्था, मान्यता तथा विचारधारालाई धर्ममा समावेश गरिएको छ जसले व्यक्ति तथा समाजको व्यक्तिगत, सामाजिक, आरोग्यसम्बन्धी र आध्यात्मिक— हरेक प्रकारको उन्नति जीवनको अन्त्यसम्म भइरहोस् ।

 

मानिस स्वस्थ, दीर्घायु, संयमी, उन्नत र विश्वका हरेक पक्षमा प्रगतिशील रहून्— यही आकांक्षा हिन्दू मनीषिहरूको रहँदै आएको स्पष्ट हुन्छ । ती महामानव ऋषिहरूले मानव जीवन र समाजको लागि जे पनि उपयोगी र हितकारी पाउनुभयो, त्यसलाई धर्मभित्र स्थान दिनुभयो ताकि हिन्दूहरूले यसलाई अवश्य स्वीकारून् र निश्चित् रूपले लाभ उठाउन सकून् । र, आफ्ना सन्ततिको धर्माचरणयुक्त उन्नति देखेर विश्वले नै तिनको अनुसरण गरोस् ।

हिन्दू धर्मको आचार–पद्धति, सोह्र संस्कार, विविध चाडपर्वहरूमा कुनै न कुनै वैज्ञानिक लाभको दृष्टिकोण नै प्रबल भएको देखिन्छ । मूर्तिहरूमा प्रतीकात्मकता प्रयोग गरिएको छ । प्रत्येक देवताको लागि केही रहस्यमय प्रतीकात्मक अर्थ राखिएको छ । अवतारहरूमा पनि प्रतीकात्मक अर्थ छन् ।

पुरातन कालमा हाम्रा पूजा पद्धति, वेदका सूक्त तथा मन्त्रहरू, स्तोत्र, देवता, चाडपर्व, मूर्ति–कला, शास्त्रहरूको गहन ज्ञान प्रबुद्ध जनतामा पनि थियो । वैदिक मन्त्र जनताको जिब्रोमा थियो । संस्कृत जस्तो ईश्वरीय वाणी हाम्रो मातृभाषा थियो । आज संस्कृत बुझ्न नसक्दा हाम्रा सारा धार्मिक–आध्यात्मिक ज्ञान थोरै मात्र विद्वान्हरूका निम्ति बोधको विषय बनेको छ । आम–जनमानसले संस्कृत बुझ्दैनौँ त्यसैले धर्मको क्षेत्रमा अनावश्यक अपव्याख्या, अन्धविश्वास, भ्रम, मुर्खता र मूढताले प्रवेश पाएको छ, जसलाई प्रायः हिन्दूहरूको मनबाट हटाउन जरुरी छ ।

उपयोगिता र लाभको सन्दर्भमा हाम्रो धर्मले के भन्छ? कुन अनुष्ठानबाट के फाइदा हुन्छ? यो लामो विषय हो । यहाँ मात्र शरीर, आरोग्य र स्वास्थ्य सम्बन्धी केही विचारलाई चर्चामा ल्याइएको छ ।

हिन्दू धर्ममा स्वास्थ्यसम्बन्धी विचार

हिन्दू धर्मले सबै धर्म र नैतिकताको आधारको रूपमा स्वस्थ शरीरलाई महत्त्व दिएको छ । स्वस्थ शरीर भएको व्यक्तिले मात्र सही मार्गमा, सदाचारयुक्त जीवन बिताई जीवनभरको सुख प्राप्त गर्न सक्छ र समाजलाई पनि पूर्ण लाभ दिनसक्छ । अपवादबाहेक कमजोर, रोगी, विकृत र अशक्त शरीर भएको व्यक्तिले धर्मको गहिरो अर्थ कसरी बुझ्न सक्छन् ? त्यसैले वेदले मानव जीवनको स्वस्थ–निरोगी सय वर्षको मर्यादा तोकेकाछन् ।

जीवनी–शक्तिको सदुपयोग गर्नुहोस्

कुर्वन्नेवेह कर्माणि जिजीविषेत् शतं समाः। (ईशावास्योपनिषद्)

यस संसारमा काम गर्दै मानिसले सय वर्षसम्म बाँच्ने कामना गर्नुपर्छ । हे मानव ! तिम्रो लागि मात्र यस्तो विधान छ ।

शतं जीव शरदो वर्धमानः । (अथर्ववेद ३।११।४)

हे मनुष्य, सय वर्षसम्म प्रगतिशील समृद्ध जीवन बाँच । यो जीवनी–शक्ति तिमीलाई धेरै सावधानीपूर्वक खर्च गर्न दिइएको छ । आफ्नो जीवनी–शक्तिलाई यति संयम र विवेकपूर्वक उपयोग गर जसले गर्दा सय वर्षसम्म बाँच्नमा तिमीलाई कुनै असहजता नहोस् । कम्तिमा पनि यो अवधिअघि तिमी कमजोर हुनु हुँदैन ।

यसो भन्नुको तात्पर्य हो— आफूले पाएको आयुको पूर्ण सदुपयोग गर्नु । जीवनमा आलस्य र प्रमादलाई स्थान नदीनु । समय खेर नफाल्नु । आफ्नो शक्ति र ऊर्जालाई उचित स्थानमा प्रयोगमा ल्याउनु । जीवनलाई निरोगी राख्नका लागि शास्त्रले निर्देश दिएअनुसार योग–प्राणायाम, यज्ञ आदि गर्नु । अप्राकृतिक जीवन नजिउनु ।

शरीरलाई बलियो बनाउनुहोस्

स्वयं तन्वं वर्धस्व । (ऋग्वेद ७।८।५)

अर्थात् आफ्नो शरीरलाई निरन्तर बलियो बनाउनुहोस् । बलियो शरीरमा बलियो आत्माको वास हुन्छ । उहाँद्वारा सबै धार्मिक कार्यहरू पूरा गर्न सकिन्छ । यदि शरीर बलियो छैन भने, त्यहाँ केहि पनि छैन ।

उन्नत जीवनको लागि शारीरिक बल पनि आवश्यक छ भन्ने कुरा कहिल्यै नबिर्सनुहोस् । त्यसैले अथर्ववेदका ऋषि उपदेश दिनुहुन्छ—

अश्मानं तन्वं कृधि । (अथर्ववेद १।२।२)

अर्थात् आफ्नो शरीरलाई ढुङ्गा जस्तै बलियो बनाउनुहोस् । बलियो शरीरले मात्र धर्मको कठोर जीवन पूरा गर्न सक्छ । जो कमजोर र असहाय, शक्तिहीन र कमजोर छ, ऊ धर्मको मार्गमा पर्छ । श्रम र धैर्यले शरीरलाई धर्मको लागि बलियो बनाउँछ ।

जीवनको पहिलो २५ वर्ष शिक्षा र जीवनमा आवश्यक पर्ने कुशलता आर्जन गर्ने समय–अवधि हो । यसलाई ब्रह्मचर्याश्रम भनिन्छ । गुरुकुलमा अध्ययन गरिसकेका ब्रह्मचारीलाई समावत्र्तन संस्कारका बेला उपदेश दिँदै गुरु भन्नुहुन्छ—

एह्यश्मानमा तिष्ठाश्मा भवतु ते तनूः।

कृण्वन्तु विश्वे देवा आयुष्टे शरदः शतम् ।।

(अथर्ववेद २।१३।४)

यसको भावार्थ हो— हे ब्रह्मचारी ! तिमी यस शिलामाथि चढ । तिम्रो शरीर शिलाजस्तै दृढ बनोस् । सबै उत्तम गुणहरूले युक्त देवहरूले तिम्रो आयुलाई सयवटा शरद्सम्मको दीर्घ बनाऊन् ।

यहाँ के प्रेरणा व्यक्त छ भने ब्रह्मचारीले भावी जीवनलाई स्वस्थ, सुन्दर र समुन्नत बनाऊन् । पथ्यसेवन गरून्, व्यायामादि गरेर शरीरलाई सुदृढ बनाइराखुन् । उत्तम विचारहरूले परिपूर्ण भई श्रेष्ठ कर्महरूमा संलग्न रहून् । कर्मशील एवं जगत्को कल्याण गर्दै सय वर्षसम्मको आयु सुखपूर्वक बाँचून् ।

शरीर ईश्वरको मन्दिर हो

हाम्रा ऋषिमुनिले हामीलाई आह्वान गर्दै भन्नुभएको छ—

हे मानव ! तिम्रो यो शरीर हाड–मासुको थुप्रो मात्रै होइन, कुनै हेय अथवा घृणायोग्य वस्तु होइन, उपेक्षाको वस्तु पनि होइन । यो त ईश्वरको पवित्र मन्दिर हो । आत्माका रूपमा स्वयं ईश्वर यसमा निवास गर्नुहुन्छ । अतः यसलाई ध्यान दिनु, राम्रो हेरचाह गर्नु । शरीरको हेरचाह गर्नु र यसको शक्ति बढाउनु उचित कुरो हो । तर तिमीहरूले यसको पवित्रताको विचार पनि गर्नु । यसबाट कुनै अपवित्र कार्य नहोस्; अतः उद्दण्ड नहुनु । यसरी शरीरलाई नीरोगी राख्दै सम्यक् सुकर्ममा उपयोगमा ल्याउन हिन्दू संस्कृतिले मनुष्यमात्रलाई आह्वान गरेको छ । साथै आरोग्य–वृद्धिका लागि दिनचर्या, ऋतुचर्या, योग, गौसेवा, वृक्ष–वनस्पतिको सेवा जस्ता चर्याले युक्त पद्धति पनि प्रदान गरेको छ । लोक–कल्याणकारी यस्तो जीवन–पद्धतिलाई आचरणमा ल्याएर कर्मले पनि ती महान् ऋषिहरूका सन्तति ‘हिन्दू’ बन्नु हाम्रो कर्तव्य हो ।


जीवनलाई उत्सवजस्तै स्वीकार गर्नु नै साँचो संन्यास | ओशोको दृष्टिकोण

गीता ईश्वरको गीत हो। यस गीतलाई गाउने परमात्मा हुनुहुन्छ । गीतलाई विभिन्न भावका साथ बोध गर्ने असङ्ख्य साधक छन्; आचार्यहरू हुनुहुन्छ। गीताको प...