Tuesday, December 13, 2022

नाथयोगी सिद्ध रत्ननाथ



हामी ज्ञानभूमि, शान्तिभूमि, योगभूमि, तपोभूमि आदि विभिन्न विशेषतायुक्त विशेषण जोडेर श्रद्धापूर्वक नेपालभूमिलाई स्मरण गर्छौँ । साधनारत रहेका सिद्ध साधक जस्तै हिमालका चुलीहरूको काख नेपालभूमिमा कैयौँ सिद्ध योगीहरूले जन्म लिएका छन् । यहाँ आफ्नो वैभवपूर्ण जीवन यापन गरेर यस भूमिको दिव्यतामा अझ ऊर्जा थपेका छन् । आफूले पाएको सिद्धि सम्पूर्ण मानवमात्रको कल्याणको लागि प्रयोग गर्ने महामनाहरूके पावन इतिहासको साक्षी छिन् नेपाल जननी । यही पवित्र परम्पराका एउटा प्रकाशपुञ्ज बनेर देखापर्ने नेपाल आमाका रत्न हुनुहुन्थ्यो सिद्ध रत्ननाथ ।

सिद्ध रत्ननाथको पूर्वजीवन, दीक्षा प्राप्ति र लोकसेवाका बारेमा विभिन्न जनश्रुतीहरू प्रचलित छन् । जसअनुसार लगभग चौधसय वर्षपहिले दाङको देउखुरी (देवपुरी) उपत्यकामा माणिक्यपरीक्षक नाम गरेका ओजश्वी राजाको शासन थियो । उनै माणिक्यपरीक्षकका सुपुत्र थिए रत्नपरीक्षक जो कालान्तरमा माणिक्य परीक्षकको मृत्युपछि राजा समेत भए । सर्वगुण सम्पन्न रत्नपरीक्षक सनातन धर्मको मर्यादा राख्न सदैव प्रयत्नशील रहन्थे । कुनै पनि नागरिक अभावमा बस्नु नपरोस् भन्ने कुराको सुनिश्चितता गरेका थिए प्रजालाई पुत्रवत व्यवहार गर्ने ती राजाले । नेतृत्व मर्यादित रहे राष्ट्रको समुन्नति अवश्य हुन्छ भन्ने स्वतः प्रमाण बनेको थियो धनधान्यादि समृद्धिले परिपूर्ण उनको राज्य ।

राजाहरू आखेटका निम्ति वनमा जाने एक प्रकारको प्रचलन नै हुनेगर्थ्यो । यस्तै आखेटका क्रममा राजा रत्नपरीक्षक वनमा भएको बेला उनको भेट गुरु गोरखनाथसित भएको बताइन्छ । व्यक्तिलाई देखेरै उसको परिचय पाउने योग्यता राख्दछन् सिद्धहरू । शिष्यले गुरु खोज्दै जानु एउटा परम्परा हो भने योग्यता भएका शिष्यलाई गुरु आफैले खोज्नुहुन्छ भन्ने मान्यतालाई पनि उत्तिकै शिरोधार्य गरिन्छ । गुरु गोरखनाथले पनि रत्नपरीक्षक एक अमूल्य रत्न हुन् भनी देखेरै परिचय प्राप्त गर्नुभयो । त्यसबेला, वास्तवमा रत्नको परीक्षक त उहाँ नै बन्नुभयो । तसर्थ उनलाई राजधर्म सिकाउने क्रममा भन्नुभयो, ‘मूक पशुको शिकार हैन मनमा भएका विकृति रूपी पशुको आखेट गर ।’ गुरु गोरखनाथको त्यो शिक्षाबाट प्रभावित भएका राजाले आफू पनि नाथ पन्थमा दीक्षा लिने सदिच्छा व्यक्त गरे । करुणामूर्ति गोरखनाथले उनलाई आफ्नो शिष्यत्व प्रदान गर्नुभयो र उहाँको नाथ सम्प्रदायअनुसारको उहाँको दीक्षा नाम रत्ननाथ रहन गयो ।

भनिन्छ, दीक्षासँगै रत्ननाथलाई गुरु गोरखनाथले अमृत पात्र प्रदान गर्नुभएको थियो । उक्त अमृत पात्रलाई साथमा लिएर विभिन्न देश–देशावरमा धर्म प्रचारका उद्देश्यले भ्रमण गर्दै पुग्नुभयो । यस क्रममा एसिया महादेशका वर्तमान अफगानिस्तानको काबुल र कन्धार, पाकिस्तान, भारत, नेपाल आदि भ्रमण गर्नुभयो । भारतको गोण्डा जिल्ला तुलसीपुरस्थित देवी पाटनमा पुगेर उहाँले देवीको पूजा आराधना गरी आफ्नो सिद्धि पूर्ण गर्नुभयो । त्यसपछि चुरे र महाभारत पहाडको बिचमा रहेको दाङ उपत्यकास्थित चौघेरामा फिर्ता भई मठ–आश्रम स्थापना गर्नुभयो । यसै मठमा गोरक्ष पात्र देवताको पूजा पद्धति उहाँले नै बसाल्नुभयो । डा. स्वामी प्रपन्नाचार्यले ‘मिल्केका झिल्का’ पुस्तकमा यहाँको मठमा प्रचलित पूजा पद्धतिबारे योगी नरहरिनाथले भन्नुभएको भनी उल्लेख गर्नुभएको छ— “दाङ चौघेराका मठमा अहिलेसम्म जो पूजा चलिआइराखेको छ सिद्ध रत्ननाथको आफ्नै  जीवनमा आफैँले चलाएको पूजा पद्धति हो । दाङ चौघेराको पूजा अरू मन्दिरहरूको जस्तो होइन । चौघेरा रत्ननाथ मठको पूजा आरती नित्य नियमले दश बजे रातिबाट शुरु भएर नियमले चारबजे बिहान ब्राह्ममुहूर्तमा समाप्त हुन्छ ।” 

एउटा जनश्रुति के पनि सुन्न पाइन्छ भने आफ्नो सिद्धीको प्रभावले सिद्ध रत्ननाथ दैनिक भारतको पाटनमा पाटेश्वरी देवीको पूजा आराधना गर्न पुग्नुहुन्थ्यो । यो क्रम लामै चल्यो । पछि देवीले प्रशन्न भएर रत्ननाथलाई भन्नुभयो— वत्स, तिम्रो निष्ठायुक्त आराधना देखेर म प्रशन्न भएँ । अबउपरान्त तिमी मेरो आराधनाको लागि दैनिक रूपमा पाटन आउनुपर्दैन, बरु प्रत्येक वर्षको चैत्र नवरात्रमा आएर मेरो पूजाआराधना गरी जानू । देवी भवानीको यस्तो आज्ञा भएपछि त्यसै समयदेखि पात्रदेवतालाई प्रत्यक वर्ष होली पर्वको पन्ध्र दिनपछि अर्थात् चैत्र नवरात्रको बेला भारतको गोण्डा जिल्लाको तुलसिपुरमा रहेको पाटेश्वरी मन्दिरमा साधुहरूले सवारी चलाउने प्रचलन छ । पाँचदिनसम्म पाटेश्वरीमा पूजा–अर्चना भएपछि पुनः दाङको चौघेरामा फिर्ता सवारी गराउने परम्परा रहिआएको छ । यस दृष्टिले नै दाङको घोराहीस्थित चौघेरा रत्ननाथ र पाटनदेवीबीच दाज्यु–बहिनीको सम्बन्ध रहेको छ भन्ने विश्वास पनि गरिन्छ ।

___________

विजयप्रसाद मिश्र

वराहपुराणमा गौरीशङ्कर हिमाल

गौरीशङ्कर हिमाल


वराहपुराण (अध्याय २१५) मा गौरीशङ्कर हिमालबारे यस्तो वर्णन छ । 

त्यहाँ ‘गौरीशिखर’ (गौरीशङ्कर) नामको भगवतीको शिखर (चुचुरो) छ, जहाँ सिद्ध पुरुष निवास गर्दछन् । शिखरहरूलाई प्रेम गर्ने ‘पार्वतीदेवी’ त्यहाँ सदा विराजमान रहनुहुन्छ । ...संसारको रक्षा गर्नमा उद्यत जगन्माता भगवती उमा त्यहाँ विराजमान हुनुहुन्छ ।


हिन्दू धर्ममा अराध्यादेव शिव र पार्वतीको प्रतीक मानिने गौरीशङ्कर हिमाल धार्मिक आस्थाका कारणले आरोहण गर्न प्रतिबन्ध छ।

गौरीशङ्कर हिमाल


Friday, December 9, 2022

आदर्श वैदिक शिक्षा | मनलाई तिमी उत्साही बनाऊ !



(ऋग्वेदको १०औँ मण्डलको ५८ औँ सूक्त ‘मन–आवर्तन सूक्त’ नामले विख्यात छ । शास्त्रमा मनलाई बन्धन र मोक्ष दुबैको कारण भनिएको छ । रोग बन्धन हो भने आरोग्यता मुक्ति हो । मन स्वस्थ छ आशावादी र सकारात्मक छ भने ढिलो–चाँडो शरीर स्वस्थ र सबल हुनसक्छ । शारीरिक रूपले निर्बल झैँ प्रतीत हुने दिव्याङ्ग मानिस पनि मनकै शक्तिले जीवनमा विपुल कीर्ति अर्जित गर्न सक्षम भएका छन् । यसर्थ मन अर्थात् विचारको सकारात्मकता र दृढताले हामी अपेक्षित सफलता प्राप्त गर्न सक्छौँ भन्नेमा विद्वत्जन एकमत छन् । ऋग्वेदमा आएको यस सूक्तमा मनलाई निराशा, भ्रम, मूढता, दिवास्वप्न, अस्थिरता, लक्ष्यविहीनता आदिबाट मुक्त गराएर उत्साह, आशा, स्थिरता, ध्यान, तथा क्रियात्मक विचारका निम्ति प्रेरित गरिएको छ । मानवका सबै समस्या मनकै समस्या न हुन् । किनभने भ्रमित र भौँतारिएको मनले जीवनको ऊर्जालाई विकीर्ण बनाउँछ; ह्रास गराउँछ । यशस्वी जीवनका निम्ति हाम्रा उपनिषद् पनि मनरूपी घोडालाई आत्मारूपी सारथिको अधीनमा राखेर कार्य गराउन प्रेरित गर्दछन् । यहाँ यस सूक्तबाट तीनवटा मन्त्र र तिनको भाव प्रस्तुत गरिएको छ ।)


यत्ते यमं वैवस्वतं मनो जगाम दूरकम् ।

तत्त आ वर्तयामसिह क्षयाय जीवसे ।।

भावार्थ— (कुशल मनोचिकित्सक झैँ बन्ध्वादयो गौपायना ऋषि भन्छन्)— यो तिम्रो मन जीवनबाट निराश भएर वैवस्वत–यम (कालगणनाका आधार सूर्यका पुत्र यम÷काल÷मृत्युका देवता) तिर किन उन्मुख भएको छ ? अथवा किन मन ‘कुन कालमा के भयो, अब के होला’ भनी भूत र भविष्यको चिन्तामा अल्मलिएको छ ? चिन्ता आत्मघात हो । आऊ, मनलाई फर्काऊ । आत्मघात गर्न तत्पर यस निराश मनमा जीवन–आशाको सञ्चार गर । मनलाई निराशाबाट फर्काएर ल्याऊ । समृद्ध दीर्घ–जीवनको इच्छा र उत्साहले परिपूर्ण बनाऊ ।


यत्ते दिवं यत्पृथिवीं मनो जगाम दूरकम् ।

तत्त आ वर्तयामसिह क्षयाय जीवसे ।।

भावार्थ— क्षणभरिमै द्युलोकमा र एकैछिन्मा पृथ्वीमा जहाँ पनि पुग्ने यो अस्थिर मनलाई स्थिर बनाऊ । अस्थिर मनले कुनै काम सम्यक् हुँदैन । यसर्थ मनलाई फर्काऊ आफ्नो साधनामा । सफल जीवनका लागि मनलाई यसरी भौँतारिनबाट रोक्नैपर्छ । एकप्रकारले यो आफ्नो मनलाई गरिएको आत्म–निर्देशन (अटो सजेसन) हो ।


यत्ते भूमिं चतुर्भृष्टिं मनो जगाम दूरकम् ।

तत्त आ वर्तयामसिह क्षयाय जीवसे ।।

भावार्थ— तिम्रो भ्रमित मन !  जागृत अवस्थामा किन आफ्नो धरातलभन्दा परपर, टाढा–टाढा जान्छ ? पृथ्वीका चारै दिशामा किन भौँतारिन्छ ? भौँतारिन नदेऊ । बरु, आफ्नो मनलाई फर्काएर ल्याऊ । र, जीवनलाई सुदीर्घ, सुन्दर एवं समृद्ध बनाउने कार्यमा केन्द्रित गर । 

     

यस सूक्तमा मनलाई आत्माको दास बनाएर आत्मानुकूल कार्य गराउन प्रेरित गरिएको छ ।


सन्त शशिधर स्वामी

जोस्मणि सम्प्रदायमा महासिद्ध, योगीश्वर महामुनि जोस्मणि नामले प्रख्यात महापुरुषको जन्म नेपालको वर्तमान अर्घाखाँची जिल्लाको अर्घावामरुकमा भएको थियो । हेमन्तु मरासिनीका चारभाई छोराहरूमध्ये जेठा छोरा रामचन्द्रबाट प्रथम पुत्रका रूपमा लालमणि, लालमणिबाट दिशै र दिशैबाट प्रथम रत्नको रूपमा बालक शशिधरको जन्म धनञ्जय गोत्रीय ब्राह्मण परिवारमा विक्रम सम्वत् १७७० मा भएको हो ।

शशिधर मरासिनीका गायत्री गुरु धनेश्वर पोखरेल हुनुहुन्थ्यो । गायत्री दीक्षापछि शशिधरले केही वर्षसम्म घरमै धनेश्वर गुरु एवं पिता दिशै पण्डितबाट शिक्षा लिनुभएको थियो ।



सम्प्रदाय परम्परामा दीक्षा

रामानुजले श्री सम्प्रदाय अपनाउनुभयो । मध्वाचार्यले ब्रह्म सम्प्रदाय अपनाउनुभयो । विष्णुस्वाीले रुद्र सम्प्रदाय अपनाउनुभयो । र श्रीनिम्बाकाचार्यले सनकादि सम्प्रदाय अपनाउनुभयो । पद्मपुराणको एउटा श्लोकले चार वैष्णव सम्प्रदायबारे यस्तो जानकारी दिएको छ । यीमध्ये विष्णुस्वामी सम्प्रदायलाई आत्मसात् गर्ने र प्रचार–प्रसार गर्नेहरूको संख्या गुजरात, महाराष्ट्र आदि क्षेत्रमा धेरै छन् । ११औँ शताब्दीतिर भारतमा विष्णुस्वामीबाट रुद्र सम्प्रदाय स्थापना भएको थियो । विष्णुस्वामी सम्प्रदायमै सन्तहरू ज्ञानदेव, नामदेव आदि निकै प्रसिद्ध सिद्ध सन्त महात्मा भएका थिए । विष्णुस्वामीलाई पछ्याउँदै आचार्य वल्लभले पुष्टिमार्ग आरम्भ गर्नुभएको हो भन्ने मान्यता पनि छ ।

भारतको गुजरातस्थित जुनागढ, गिरिनार पर्वतमा उहाँले महासिद्ध योगी ज्योतिमुनि भुरेबाबासित हठयोगको शिक्षा लिनुभयो । कालान्तरमा त्यस क्षेत्रबाट सन्त श्री शशिधरमुनि आफ्ना गुरु भुरेबाबासँगै पौडी गढवाल पुग्नुभएको थियो । पश्चिम नेपालको महाकाली पारी पर्ने पौडी गढवाल क्षेत्रमा उहाँले विक्रम सम्वत् १८०१ तिर क्योंकालेश्वर मन्दिरको जीर्णोद्धार गरी त्यहाँ आफु र आफ्ना गुरु भुरेबाबाको लागि आश्रम समेत बनाउनु भएको थियो । पछि क्योंकालेश्वर मन्दिर भन्दामाथिको डाँडामा गुरु र आफ्नो लागि गुफा बनाइ केही समय उक्त गुफामा साधनारत रहनुभयो । सो स्थान आज पनि गुफाडाँडाको नामले प्रसिद्ध छ । 

पुनः नेपाल आगमन र सम्प्रदाय स्थापना

शशिधर स्वामी वि.सं १८१० सम्म अर्थात् जम्मा दस वर्ष पौडी गडवालमा बस्नु भयो । पौडी गढवालमा शशिधर स्वामीले आफ्ना गुरु ज्योतिमुनीदासको नामबाट ‘मुनी’ सम्प्रदाय र पौडी मठको स्थापना समेत गर्नु भएको थियो । उहाँले गुरु भुरेबाबाबाट अलौकिक सिद्धि प्राप्त गर्नुभएको थियो । त्यसपछि उहाँ चालीस बर्षे जवानी उमेरमा आफ्नो जन्मस्थल अर्घाखाँचीको बामरुकमा फर्कनु भयो । जन्मभूमिमा फर्किदा शशिधर स्वामी झरझराउँदा सिद्ध योगी तथा विद्वान्, टेहरीका महाराजा प्रताप शाह र नरेन्द्रशाह जस्ताको गुरु समेत बनिसक्नु भएको थियो ।

बामरुक आएपछि उहाँले विवाह गर्नुभयो । विवाह पश्चात् उहाँ कहिल्यै पौडी गडवाल जानु भएन । बामरुक आएपछि स्वामीजी केही समय खन गुफामा बस्नु भयो, त्यही नै लक्ष्मीनारायणको जन्म भयो । खन गुफामा बस्दा उहाँले गुफा व्यवस्थापनको लागि गुठीको समेत व्यवस्था मिलाउनु भएको थियो । त्यसपछि उहाँ गुल्मी जिल्लाको रेसुङ्गामा गई कुटी बनाई बस्न थाल्नु भयो । रेसुङ्गा आएपछि पृथ्वीनारायण शाह पनि उहाँबाट प्रभावित हुनुहुन्थ्यो ।

नेपाल आइकन उहाँले जोस्मणि (जोसमनि) सम्प्रदाय आरम्भ गर्नुभयो । यो सम्प्रदाय मूलतः वैष्ण सम्प्रदायअन्तर्गत नै पर्छ । जोसमनिहरू तुलसीधारी र खाकमालाधारी हुन्छन् । यस सम्प्रदायमा प्रायः गृहत्यागी नभएर गृहस्थी साधक नै छन् । 

शशिधर स्वामीजीले नेपालमाभन्दा भारतको गढवालमा निकै प्रसिद्धी पाउनु भएको छ । उहाँको जवानी अवस्थाको चित्र गढवाली चित्रकारले सजीव रूपमा सुनको पानीले उतारी पौडी मठमा बाकसभित्र सुरक्षित रूपमा राखिएको छ । काठमाडौँदेखि पश्चिममा अब जोस्मनि छैनन् भने पूर्वतिर पनि ब्राह्मण–क्षत्रीयहरू कमै छन् । बरु राई, लिम्बु, मगर, तामाङ, गुरुङ, कामी, दमाई, सार्की आदि मात्र जोसमनि छन् । नेपालको खोटाङ, भोजपुर, इलाम, पाँचथर क्षेत्र र भारतको दार्जिलिङ, सिक्किममा र भुटान तथा बर्मा देशसम्म जोस्मनि सम्प्रदायको विस्तार छ । 

कृतिहरू

शशिधर मुनि संस्कृत भाषाका विद्वान् हुनुहुन्थ्यो । उहाँले जोशमणिसद्योसारः, तŒवगीता, योगात्मबोधः, हंसात्मबोधः, पञ्चमाश्रम, चित्प्रभाकाशः, वाणोपनिषद् जस्ता ग्रन्थ लेख्नुभएको छ । त्यस्तै, शशिधरमुनिलाई गढवालका लेखक तथा इतिहासकारहरूले गढवाली भाषाका आदिकवि पनि भनेर लेखेका छन् । काशी नागरी प्रचारिणी सभा र पुराना राजदरबारका पुस्तकालय टेहरी गढवाल आदिमा गढवाली भाषामा उहाँले लेख्नुभएका कृतिहरू प्राप्त छन् ।

रेसुङ्गा चुचुरोमा शशिधर र उहाँका छोरा लक्ष्मीनारायणको समाधि स्थलको मठ अद्यापि छ ।

____________________

डा. स्वामी प्रपन्नाचार्यको कृति “मिल्केका झिल्का”मा आधारित रही तयार पारिएको ।


धर्मो धारयते प्रजाः

धर्मबारे यो सबैभन्दा महत्त्वपूर्ण व्याख्या हो । यसमा ‘प्रजाः’ शब्दले समाज–जीवनलाई जनाएको छ । यहाँ के गर्दा र के नगर्दा समाजको धारणा (समाजको अस्तित्व अथवा समाज स्वस्थ रहिरहने अवस्था) बनिरहन्छ, त्यो शिक्षा दिने तत्त्वलाई धर्म भनिएको छ । गर्नयोग्य आचरणलाई ‘विधि’ भनिन्छ र गर्न–अयोग्य अथवा नगरिनुपर्ने आचरणलाई ‘निषेध’ भनिन्छ । विधि र निषेधको पालना गर्दा समाज व्यवस्था स्वस्थ रहन्छ । अतः समाज व्यवस्थालाई स्वस्थ राख्ने तत्त्व धर्म हो ।

हामीले विधि र निषेधको ज्ञान कहाँबाट प्राप्त गर्दछौँ ? यो प्रश्न प्रायः हाम्रो मनमा उठ्नसक्छ । यसको उत्तर हो ‘शास्त्र’बाट । ‘शासनात् शास्त्र मित्याहु’ अर्थात् मर्यादामा रहन शिक्षा दिने भएको हुनाले तिनलाई ‘शास्त्र’ भनिएको हो । वैदिक धर्ममा शास्त्रमध्ये सर्वोत्तम वेदलाई नै ग्रहण गरिन्छ । यसलाई श्रुति भनिन्छ । यस मुख्य शास्त्रमा विधि र निषेध गरी मानव समुदायका लागि उपदेशका दुई स्वरूपहरू छन् । जे गर्नयोग्य छ, करणीय छ त्यसलाई विधि भनिन्छ । जे गर्नयोग्य छैन, अयोग्य छ त्यसलाई निषेध भनिन्छ । विधि भनेको गर्नु भन्ने आज्ञा हो र निषेध भनेको नगर्नू भन्ने शास्त्रको आज्ञा हो ।

उदाहरणका लागि, व्यक्ति अत्यन्तै सांसारिक बन्दै गयो, भोगी बन्यो भने ऊ अमर्यादित बन्दछ । जस्तो पायो त्यस्तै खाने, आचरणमा मर्यादा नराख्ने हुन्छ । मानव, मानव रहँदैन, दानव बन्दछ । ऊ मांश भक्षण गर्न थाल्छ, भ्रष्ट आचरण गर्नथाल्छ । यस्तो अवस्थामा वेद भगवान् भन्नुहुन्छ— मा हिंसीः अर्थात् हिंसा नगर । मा हिंस्यात् सर्वभूतानि— कुनै पनि प्राणीको हिंसा नगर । यो श्रुतिको निषेध वचन हो ।

यस्तै, ‘सत्यं वद । धर्मं चर । स्वाध्यायान् मा प्रमदः । मातृदेवो भव । पितृ देवो भव । आचार्य देवो भव’ जस्ता विधि वचनका उदाहरण पनि छन् । धर्मलाई आचरणमा ल्याऊ । सत्य बोल । स्वाध्यायमा प्रमाद नगर । माता, पिता आचार्य आदिलाई देवस्वरूप ठान । देवभावले तिनको सेवा गर भनी वेद भगवान् विधि वचन दिनुहुन्छ । सबैको हित चिताउने, मङ्गलकै कामना गर्ने । मन, वचन र कर्ममा एकरूपता ल्याउने । यी सबै विधि वचन हुन् । यही मानवता हो । अर्थात् समाज–जीवनलाई धारण गर्ने मानवता नै धर्म हो ।

समाजको धारणा भनेको समाज रहनु, बलियो हुनु, सामाजिक जीवन लचिलो हुनु, समाज स्वस्थ रहनु र सामाजिक जीवनमा तितिक्षा (प्रतिकूलतालाई सहन गर्ने शक्ति) रहनु हो । हामी ‘शरीर धर्म’ शब्द पनि प्रायः प्रयोग गर्दछौं । अर्थात् शरीरलाई सन्तुलित राख्नका लागि सबैभन्दा पहिले खाने, पिउने, आराम, व्यायाम आदिबाट शरीरलाई सन्तुलनमा राख्नु हो । दोस्रो— शरीर बलियो बनाउनु हो । व्यायाम, योग, उपयुक्त आचरण, पौष्टिक आहार आदिले शरीरलाई बलियो बनाउन सक्छौँ । तेस्रो— शरीरलाई लचिलो बनाउन र त्यसलाई कायम राख्नु हो । यसका लागि आसन वा विभिन्न प्रकारका खेलहरूको अभ्यास नियमित रूपमा गर्नुपर्छ । चौथो— निरोगी रहनु हो । दिनचर्या र ऋतुचर्या अनुसार उचित बानी, खानपान र आचरणले शरीर स्वस्थ रहन्छ । तितिक्षा अर्थात सहनशक्ति— यो पाँचौं कुरा हो । प्रतिकूल परिस्थितिमा पनि शरीरलाई अधिकतम समय स्वस्थ राख्नु भनेको तितिक्षवान बन्नु हो । निरन्तरको अभ्यासद्वारा शरीरको बल र इच्छा शक्ति बढाएर तितिक्षावान् बन्न सकिन्छ । यी सबै हुनसकोस् यस हेतुले जेजति गरिन्छ त्यही ‘शरीर धर्म’ मानिन्छ ।

यसरी नै ‘छिमेकी धर्म’ पनि छ । छिमेकीसँगको सम्बन्ध बलियो बनोस्, लचिलो होस्, स्वस्थ रहोस् र सजग रहनका लागि जे गर्नुपर्छ, त्यसैलाई ‘छिमेकी धर्म’ भनिन्छ ।

समाज–जीवन स्वस्थ, सबल, निरोगी, तितिक्षावान् भयो भने त्यो समाज दिगो पनि बन्दछ । समाजको निरन्तरता बनिरहन्छ । समाजलाई आफ्नो विशेषताहरूसहित चिरञ्जीवी बन्नका लागि केही आवश्यक कुरा बुझ्नुपर्छ । समाज बलियो हुन्छ संगठनबाट, आपसी स्नेह–सम्बन्धबाट । संगठन र परस्पर प्रेमभाव निर्माण गर्ने व्यवस्थाले समाज सबल बन्दछ । समुचित संस्कार, शिक्षा र उचित व्यवस्थाले समाज स्वस्थ, लचिलो र तितिक्षावन बन्छ । त्यसैले हाम्रा पुर्खाहरूले पुस्तौं–पुस्तामा संस्कार संक्रमणका लागि परिवार व्यवस्था, श्रेष्ठ–तेजस्वी र प्रभावी गुरुकुल शिक्षा प्रणाली, चारवटा आश्रम (ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र संन्यास) को व्यवस्था, वर्ण व्यवस्था आदिको निर्माण र अभ्यास गरेका थिए । यिनैको परिणामस्वरूप हिन्दू समाजमाथि सयकडौँ वर्षको निरन्तर विदेशी बर्बर आक्रमणपछि पनि हामी हाम्रो उत्कृष्ट वैदिक परम्पराबाट पूर्ण रूपमा टुटेका छैनौं । अर्थात् हामीले पालन गरेको धर्मले हाम्रो समाजलाई धारण गरेर राख्यो । अतः धर्म त्यही हो जसले समाज–जीवनलाई टुट्न दिँदैन, सबल–संगठित राख्दछ ।

भीष्मले युधिष्ठिरलाई दिएको निर्देशनमा भनेका छन्— 'जसले द्वन्द्व उत्पन्न गर्छ त्यो अधर्म हो र जसले द्वन्द्वको अन्त्य गरी एकता र सद्भाव ल्याउँछ त्यो धर्म हो ।' सबैलाई एकजुट गर्न र शुद्ध ईश्वरीय प्रेम र विश्वव्यापी भ्रातृत्वको विकास गर्न मद्दत गर्ने कुनै पनि कुरा धर्म हो । कुनै पनि कुरा जसले कलह, विभाजन र असमानता उत्पन्न गर्दछ र घृणा उत्पन्न गर्दछ, अधर्म हो । धर्म सामाजिक जीवनको संरक्षक हो; मानवताको एकमात्र शरणस्थान हो ।

________________

—विजयप्रसाद मिश्र

Tuesday, December 6, 2022

भगवान् दत्तात्रेयको प्राकट्य उत्सव | दत्तात्रेय जयन्ती

दत्तात्रेय


भगवान् दत्तात्रेयको अवतरण मार्गशीर्ष पूर्णिमाको प्रदोषकालमा भएको थियो । अतः यस दिन निकै समारोहपूर्वक दत्तात्रेय जयन्ती उत्सव मनाइन्छ । दत्तात्रेय योगमार्गका प्रवर्तक, अवधूत विद्याका आद्यआचार्य तथा श्रीविद्याका परमआचार्य हुनुहुन्छ ।


कृपामूर्ति भगवान् दत्तात्रेयको अवतारका विषयमा विविध कथा–प्रसङ्ग प्रचलित छन् । उहाँ अत्रि तथा अनसूयाका पुत्रका रूपमा प्रकट हुनुभएको थियो ।


‘मलाई प्राणीहरूको दुःख–निवारण गर्ने पुत्र प्राप्त होस् !’ कल्याणकारी भावका साथ देवी अनसूयासहित अत्रिमुनि घोर तपस्या रत हुनुहुन्थ्यो । सर्वव्यापी हुनाले जसलाई विष्णु भनिन्छ उहाँ ऋषिदम्पत्तिको अभीष्टबाट कहाँ अनभिज्ञ हुनुहुन्थ्यो होला र ! ऋषि–ऋषिपत्नीको शिवभावबाट प्रसन्न हुनुभएका भगवान् नारायणले प्रत्यक्ष दर्शन दिनुभयो । ती साधक दम्पत्तिमाथि कृपापूर्ण दृष्टिपात गर्दै उहाँले भन्नुभयो–‘श्रेष्ठ तपस्वी, मैले आफैलाई तिम्रो सर्वहितकारी भावका निम्ति दान गरिदिएँ ।’ दत्तो मयाहमिति यद्भगवान् स दत्तः। (श्रीमद्भागवत २।७।४)– यसरी ऋषि अत्रिको लोककल्याणकारी आकांक्षाका कारण आफैलाई दान गर्नुभएको हुनाले उहाँको नाम ‘दत्त’ रह्यो । 


अत्रि मुनिका पुत्र रूपमा अवतरित हुनुभएकाले उहाँको नाम ‘आत्रेय’ पनि हो । दत्त र आत्रेय— यी दुई नामको संयोग ‘दत्तात्रेय’ एउटै नामका रूपमा प्रख्यात भयो । योगविद्यामा असाधारण अधिकार राख्नुहुने भएकाले उहाँलाई योगीराज पनि भनिन्छ ।


श्रीमद्भागवत (१।३।११) अनुसार "छैटौँ अवतारमा अनसूयाको इच्छा पूरा गर्न अत्रि ऋषिको पुत्र दत्तात्रेयरूपमा उहाँले अवतार लिनुभयो। यस अवतारमा उहाँले अलर्क एवं प्रह्लाद आदिलाई ब्रह्मज्ञानको उपदेश दिनुभयो ।"


षष्ठे अत्रेरपत्यत्वं वृतः प्राप्तोऽनसूयया ।

आन्वीक्षिकीमलर्काय प्रह्लादादिभ्य ऊचिवान् ॥


मार्कण्डेयपुराण–अनुसार अत्रि–अनसूयाका पुत्रका रूपमा ब्रह्माजी रजोगुण–प्रधान सोम, भगवान् विष्णु सत्त्वगुण–प्रधान दत्तात्रेय तथा तमोगुण–प्रधान दुर्वासाका रूपमा स्वयं शिव अवतरित हुनुभएको थियो ।


‘सर्वभूतहरूका अन्तरात्मा, विश्वव्यापी भगवान् विष्णु विश्वकल्याणका लागि पुनः अवतीर्ण हुनुभयो र दत्तात्रेय नामले विख्यात हुनुभयो ।’ ब्रह्मपुराणमा भगवान् दत्तात्रेयको अवतार–प्रयोजनलाई यसरी वर्णन गरिएको छ । 


यीबाहेक विष्णुधर्मोत्तरपुराण, शिवपुराण, स्कन्दपुराण, भविष्यपुराण, श्रीमद्भागवत्, वायुपुराण आदिमा पनि अवतार प्रसङ्ग आएका छन् ।


केही पुराण–ग्रन्थअनुसार उहाँ अत्रि–अनसूयाका अयोनिज सन्तान हुनुहुन्थ्यो भन्ने तथ्य पनि प्रकाशमा आएका छन् । जस्तै, स्कन्दपुराणमा वर्णित कथा अनुसार अत्रि एवं अनसूया आफ्नो आश्रममा बसिरहेका बेला महातपस्वी अत्रिका आँखाबाट तपको दिव्य तेज निस्कियो । त्यसै बेला महासति अनसूयाका आँखाबाट भक्तिको दिव्य तेज प्रकट भयो । दुबै तप र भक्तिको तेज समन्वित भएर तेजस्वी दत्तात्रेयको प्राकट्य भयो । अतः दत्तात्रेय अयोनिज सन्तान हुनुहुन्थ्यो ।


मराठी भाषाको प्रसिद्ध ग्रन्थ ‘श्रीगुरुचरित्र’मा त्रिमूर्ति दत्तात्रेयका विषयमा उल्लेख भएको पाइन्छ । त्यस ग्रन्थमा दत्तात्रेय प्राकट्यका विषयमा यसरी उल्लेख भएको छ— उहाँ त्रिदेवका त्रिगुणात्मक शक्तिकै एकीभूत रूप हुनुहुन्थ्यो । उहाँको स्वरूपको वर्णन गर्दै त्यहाँ भनिएको छ— उहाँ त्रिमुख, षड्भुज, शिरमा जटामुकुट भएका, भस्मविभूषित अङ्ग, गलामा रुद्राक्ष–मालाले शोभित, हातमा त्रिशूल, कमण्डलु, चक्र, शङ्ख, डमरु धारण गर्नुभएका हुनुहुन्छ ।


अवधूत गीता (श्रीमद्भागवतान्तर्गत)

उद्धवगीता प्रकरण–अन्तर्गत भगवान् श्रीकृष्णले प्राचीन इतिहास भनी दृष्टान्तका रूपमा राजर्षि यदुका प्रश्न र तेजस्वी अवधूत युवा भगवान् दत्तात्रेयले दिनुभएको सदुपदेश संवाद सुनाउनु भएको छ । यही प्रसङ्ग श्रीमद्भागवतमहापुराण अन्तर्गतको ‘अवधूत गीता’ नामले प्रख्यात छ । यद्यपि अवधूत गीता नामले एउटा छुट्टै ग्रन्थ पनि छ जसमा वेदान्त विषयलाई अत्यन्त मार्मिक ढङ्गले स्वयं भगवान् दत्तात्रेयले नै उपदेश गर्नुभएको छ ।


यो गीता जम्मा तीन अध्यायमा निबद्ध छ । यसमा भगवान् दत्तात्रेयले चौबीस गुरुहरूबाट आफूले ग्रहण गरेको शिक्षालाई वर्णन गर्नुभएको छ । ती चौबीस गुरुबाट प्राप्त शिक्षा यस प्रकार छन् ।


१)    पृथ्वीबाट धैर्य र क्षमा । आफ्नो धर्मको मार्गबाट विचलित नहुनू । पर्वत तथा वृक्षहरूबाट परोपकारको शिक्षा ग्रहण गर्नु ।


२)    शरीरभित्रको प्राणवायुबाट आवश्यक मात्र भोजनबाट सन्तुष्ट हुने । जुन आहारबाट ज्ञान नष्ट हुँदैन र वाणी तथा मन पनि विचलित हुँदैनन् साथै निर्वाह पनि चल्दछ, त्यतिमै सन्तोष गर्नु । त्यस्तै, वायुबाट आफू जति ठाउँमा पुगे पनि कतै आसक्त नहुने । गन्ध वायुको गुण होइन पृथ्वीको गुण हो तर वायुले गन्ध बोक्नपर्छ । तर पनि वायु शुद्ध नै रहन्छ । साधकको सम्बन्ध शरीरसित भइरहे पनि आफूलाई आत्माका रूपमा हेर्ने र विषयसित सर्वथा निर्लिप्त रहने ।


३)    चल–अचल घट–मठ आदि पदार्थका कारण तिनमा व्याप्त आकास भिन्न–भिन्न प्रतीत भए पनि त्यो अखण्ड छ । त्यस्तै चर–अचरमा व्याप्त आत्माका रूपमा ब्रह्म सर्वव्यापी छ । आगो, पानी अथवा बादल आदि कुनै पनि कुराले आकास विकृत हुँदैन । त्यस्तै आत्मालाई पनि कुनै विकृतिले छुँदैन ।


४)    जल स्वभावैले स्वच्छ हुन्छ र त्यसले अरुलाई पनि निर्मल–पवित्र पार्दछ । गङ्गादि तीर्थका रूपमा स्पर्श एवं दर्शन गर्दा समेत त्यसले पवित्र तुल्याउँछ । मानिस आफू पनि स्वच्छ भई अरुमा पनि पवित्रता सञ्चार गर्ने हुनुपर्दछ ।


५)    आगो तेजस्वी र ज्योतिर्मय छ । त्यसको तेजलाई कसैले दबाउन सक्दैन । त्यसमा पर्ने कुनै पनि वस्तुलाई त्यसले पचाउँछ तर त्यस वस्तु वा पदार्थको दोष आफूमा राख्दैन । मननशील व्यक्ति पनि अग्नि जस्तै तेजस्वीताले युक्त, इन्द्रियहरूबाट पराजित नहुने, कसैको दोष ग्रहण नगर्ने हुनु । आगो कतै प्रकट त कतै अप्रकट रहन्छ । साधक पनि त्यस्तै हुनु ।


६)    समयको प्रभावले चन्द्रमाको कला घटे–बढेको प्रतीत हुन्छ तर चन्द्रमा स्वयं न घट्छ न बढ्छ । त्यस्तै जन्मदेखि मृत्युपर्यन्त शरीरमा परिवर्तन भइरहे पनि आत्माको त्यो परिवर्तनसँग कुनै सम्बन्ध हुँदैन ।


७)    सूर्यले ग्रीस्म कालमा आफ्ना किरणद्वारा पृथ्वीको जल शोषण गर्दछ र वर्षा कालमा त्यसलाई त्यागिदिन्छ । योगी पुरुषले पनि आफ्ना इन्द्रियद्वारा विषय ग्रहण गरेपनि समय आएपछि अनासक्त भएर त्यसलाई त्याग्न अथवा दान गर्नमा समर्थ हुनुपर्छ ।


८)    कपोत–दम्पतीको दृष्टान्तबाट— कुनै पनि व्यक्तिले कसैसँग अत्यन्त स्नेह राखेर लालन–पालन गरे पनि बढी आसक्ति गर्नुहुँदैन । कसैप्रति पनि आसक्त हुनु विवेकहीनता हो । उसले परेवाले झैँ दुःख पाउँछ । मनुष्य शरीर मुक्तिका निम्ति खुला द्वार हो तर मानिस अन्धो आसक्तिमै बाँधिइरह्यो भने यस्तालाई उच्चतामा पुगेर पनि खसेको— आरुढच्युत भनिन्छ । अन्धआसक्तिले विनाशको गर्तमा पुर्‍याउँछ ।


९)    दैवले जुराएको आहारामै आश्रित हुने अजिङ्गर जस्तो वृत्ति हुनु, अधिक सञ्चयप्रति उदासीन हुनु भनेको अल्छी र अकर्मण्य हुनु भन्ने होइन इन्द्रिय तथा मन आदिको चञ्चलतालाई जित्नु भन्ने भाव हो ।


१०)   साधक समुद्र जस्तो निश्चल हुनुपर्दछ । बाहिरबाट प्रसन्न र भित्र गम्भीर हुनुपर्दछ । रागद्वेषरहित उसको भाव अथाह, अपार र असीम हुनुपर्दछ । भोगप्राप्तिमा अति प्रसन्न हुने र प्राप्त नहुँदा शोकमग्न हुने वृत्ति नहोस् ।


११)   बत्तीको उज्यालोमा झोसिएर प्राण त्याग्ने पुतलीबाट के शिक्षा लिनु भने रूप–यौवन, स्वर्ण–वस्त्रादिमा मुग्ध भएर अल्मलिनु अनर्थकारी हुन्छ ।


१२)   साधक संन्यासीले एउटै गृहस्थबाट मात्र भिक्षा ग्रहण गर्नुहुँदैन । उसले मधुकरी वृत्ति अर्थात् माहुरी झैँ अलि–अलि गरी घर फेरी–फेरी भिक्षा ग्रहण गर्नुपर्दछ । त्यस्तै, फूलहरूबाट भवँराले रस ग्रहण गरे झैँ ठूला–साना सबैखाले शास्त्रहरूबाट सारभूत वस्तुलाई ग्रहण गर्नुपर्दछ ।


१३)   हत्तिनीको स्पर्श मात्रले पनि वासनामा आसक्त भएको हात्ती बन्धनमा पर्दछ । यसर्थ स्त्रीलाई भोग्यरूपमा स्वीकार नगर्नु (अथवा स्त्रीप्रति मातृवत् आदरभाव मात्र राख्नु) अन्यथा साधकका निम्ति वासनामय दृष्टि विनाशकारी हुनेछ ।


१४)   मह काढ्ने व्यक्तिबाट के शिक्षा लिनु भने माहुरीले मह सञ्चय गरेर राखेझैँ लोभी व्यक्तिहरू धन सञ्चयमा मात्र ध्यान दिन्छन् । त्यसलाई पनि अरुले नै उपभोग गर्छन् ।


१५)   व्याधाको गीतमा मुग्ध भएर हिरण बन्धनमा पर्दछन् । यसर्थ विषयीहरूले गाउने प्रणयगीत (आसक्तिका विषय)तिर ध्यान नदिनु ।


१६)   स्वादको लोभमा परेर माछो बल्छीद्वारा मृत्यु प्राप्त गर्दछ । यसबाट हामी स्वादु जिब्रोको वशमा पर्नुहुँदैन भन्ने शिक्षा लिनु ।


१७)  धन, भोग र सुख अरु नै पुरुषले देलान् भनी आशा गरेर बसेकी पिङ्गला नामकी वेश्याबाट के शिक्षा लिनु भने यस्तो आशा राख्नु अनर्थकारी छ । पिङ्गलाले आफूले चाहे जस्तो भोग र सुख नपाएपछि उसमा कल्याणकारी वैराग्य उत्पन्न हुन्छ । संसारका पदार्थहरू नाशवान् छन् । तीबाट आशा राख्नु दुःखको मूल कारण हो । बरु, विवेकी बनेर आत्मसुखको मूललाई चिन्नुपर्दछ ।


१८)   मासुको टुक्रा च्यापेकको एउटा न्याहुला चरा (कर्‍याङ्कुरुङ चरा)लाई मासु नपाएका अरु पक्षीले आक्रमण गरे । त्यसपछि उसले मासुको टुक्रा त्यागिदियो । यसरी उसले सुख प्राप्त गर्‍यो । मनुष्यले पनि आफूलाई अत्यन्त प्रिय लाग्ने वस्तुको अत्यधिक सञ्चय गर्‍यो भने अनेक प्रकारका दुःख– आक्रमण बेहोर्नुपर्ने हुन्छ । यसर्थ, त्यागमै सुख छ ।


१९)   सानो बालकलाई कसैबाट पनि न मानको अपेक्षा हुन्छ न अपमानको क्षोभ । यस्तो व्यक्ति नित्य आनन्दमा हुन्छ ।


२०)   कुमारी कन्याले धान कुट्दा उसका हातमा भएका चुरा बज्न थाले । उसले दुबै हातमा एक–एकओटा बाहेक अरु सबै चुरा फुटाएर मिल्काइदिई । साधकले पनि के बुझ्नुपर्छ भने धेरैजना एकै स्थानमा बस्दा कलह हुने सम्भावना हुन्छ । साधना एकान्तमै गर्नु उचित हुन्छ ।


२१)   बाण बनाउनमा दत्तचित्त भएको व्यक्ति इषुकारले नजिकैबाट गइरहेका राजालाई पनि देखेन । यसैगरी हामीले हाम्रो चित्तलाई परमात्मामा एकाग्र एवं स्थिर बनाउनुपर्दछ ।


२२)   सर्प अर्काले बनाएको घरमा सुखपूर्वक बस्दछ । ऊ आफ्नो घर बनाउँदैन । अनित्य शरीर भएको जीवले संसारलाई पनि अनित्य ठान्नुपर्दछ ।


२३)   माकुरोले आफ्नो नाभिबाटै मुखद्वारा जाल निकाली फिँजाउँछ । ऊ त्यही जालमा विहार गर्दछ र पुनः त्यसलाई आफैँमा लीन गराउँदछ । यसै गरी परमात्माले पनि आफैँले जगत्को सृष्टि गरी त्यसमा लीला रची पछि त्यस जगत्लाई आफैँमा लीन गराउनुहुन्छ ।


२४)  कुमलकोटीले भित्तामा माटोको प्वाल बनाएर त्यसमा बन्द गरेको अर्कै किराले निरन्तर कुमलकोटीकै चिन्तन गर्दछ । अन्ततः उसले आफ्नो पहिलाको रूपलाई नत्यागे पनि कुमलकोटीकै समान रूप धारण गर्दछ । स्नेह, द्वेष अथवा भयले नै किन नहोस्, मानिसले पनि निश्चयात्मक बुद्धिले जुन–जुन विषयमा आफ्नो मनलाई एकाग्र गराउँदछ उसले त्यही–त्यही रूप प्राप्त गर्दछ ।


यत्र यत्र मनो देही धारयेत् सकलं धिया ।

स्नेहाद् द्वेषाद् भयाद् वापि याति तत्तत्स्वरूपताम् ।।

यसरी, साना–साना कथा–प्रसङ्गलाई आधार बनाएर प्रस्तुत गरिएको मार्मिक सदुपदेश जिज्ञासु हृदयका लागि सुस्वादु प्रसादका रूपमा यहाँ उपलब्ध छ । यी तिनै उपदेश हुन् जसलाई सुनेर राजर्षि यदु आसक्तिहरूबाट मुक्त भएर सहजै समदर्शी बनेका थिए ।


यसमा वर्णित चौबीस गुरु प्रकृतिका विविध तत्त्व वा पदार्थ हुन् । यी मन्त्र–प्रदान गर्ने गुरु होइनन् । यिनलाई गुरु बनाएर जीवनभरि निष्ठा राख्नुपर्छ भन्ने अभिप्राय पनि यहाँ छैन । यहाँ यी चौबीस तत्त्वलाई गुरु बनाउनुको भाव के मात्र हो भने मनुष्यले सावधान भएर साना–साना पदार्थबाट पनि शिक्षा ग्रहण गर्न सक्दछ । प्रेरणा हामीले जोकोही अथवा जुनसुकै पदार्थबाट पनि पाउन सक्छौँ । एउटा विवेकी पुरुषले यस संसारमा रहेर पनि कसरी केके शिक्षा ग्रहण गर्नसक्छ र आत्मकल्याण गर्नसक्छ भन्ने भाव बोध गराउनु यस प्रसङ्गको उपादेयता हो । 


यस सन्दर्भबाट प्रेरित भएर हामीले पनि भगवान् दत्तात्रेयको स्मरणपूर्वक प्रार्थना गर्नसक्छौ— 


हे भगवान दत्तात्रेय, जसरी तपाईँले आफ्ना २४ गुण–गुरु बाट २४ वटा दिव्य गुण शिक्षा रूपमा ग्रहण गर्नुभयो, त्यसरी नै सबैबाट असल गुणहरू ग्रहण गर्ने प्रवृत्ति ममा पनि निर्मित होस्,  श्रीपादका दिव्य चरणहरूमा यही प्रार्थना अर्पित गर्दछु ।


भगवान् दत्तका नाममा दत्त सम्प्रदाय दक्षिणभारतमा विशेष प्रसिद्ध छ । नेपालमा पनि यत्रतत्र भगवान् दत्तात्रेयको आराधना गरिँदै आएको छ । जुम्लाको चन्दननाथ मन्दिरमा भगवान् दत्तात्रेयकै आराधना गरिन्छ भने भक्तपुरमा समेत भगवान् दत्तात्रेयलाई समर्पित एउटा प्रसिद्ध मन्दिर रहेको छ । 


उहाँको बीजमन्त्र ‘द्रां’ हो ।


_______________________________


— विजयप्रसाद मिश्र

Monday, November 28, 2022

तीर्थ दर्शन | गोकर्णेश्वर तीर्थ एवं महादेव मन्दिर



काठमाडौँदेखि करीब आठ किलोमिटर उत्तर–पश्चिममा बागमती, सूर्यमती र चन्द्रमतीको संगमस्थलमा अवस्थित ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक दृष्टिले अति नै महत्वपूर्ण तीर्थ हो गोकर्णेश्वर । हिमवत्खण्डमा लेखिएको छ– 

चन्द्रभागा नदी पुण्याः बाग्मती च महानदी ।
तयोश्च सङ्गमं तीर्थं पैतामह्यमिति श्रुतम् ।।

पुण्यदायिनी चन्द्रभागा (चन्द्रमती) एवं बागमतीको सङ्गममा अवस्थित तीर्थ पितामह तीर्थ नामले परिचित छ । पौराणिककालदेखि आजपर्यन्त यस क्षेत्रको महिमा रहिआएको छ । हिमवत्खण्ड नेपाल महात्म्यको १४०औँ अध्यायमा यहाँ श्राद्ध गर्दा २१ कुलको उद्धार हुन्छ भनिएको छ– ‘तत्र पिण्ड प्रदानाञ्च त्रिसप्तं प्रोद्धरेत्कुलम् ।’ विशेष गरी उत्तरगयाका नामले प्रख्यात यस क्षेत्रमा भाद्र महिनाको कुशे औँसी र पौष महिनाको गयाश्राद्ध–पर्वका बेला श्रद्धालुहरू पितृकर्मका लागि पुग्ने गर्छन् । 

सामान्यतः अन्य समयमा पनि यहाँ दर्शनार्थी भक्तजनहरूको उल्लेख्य उपस्थिति रहिरहेको हुन्छ । वाग्मती, चन्द्रमती र सूर्यमतीको त्रिवेणी सङ्गम र गोकर्ण वनले बनाएको सुरम्य वातावरणयुक्त स्थलमा भगवान् गोकर्णेश्वर महादेवको भव्य मन्दिर अवस्थित छ ।

उत्पत्तिबारे आख्यान

भगवान् गोकर्णेश्वर महादेवको उद्भवसम्बन्धी अनेक लोकोक्ति, जनधारणा र विश्वास नेपाली जनजीवनमा व्याप्त छन् । नेपाल महात्म्यअनुसार, परापूर्वकालमा भगवान् शिव कैलासबाट अन्तध्र्यान हुनुभएको थियो । उहाँलाई खोज्न निस्किनुभएका ब्रह्मा, विष्णु एवं इन्द्रले महादेवलाई पशुपतिक्षेत्रस्थित श्लेष्मान्तक वनमा मृगको रूप धारण गरी मृगको बथानका साथ विचरण गरिरहेको अवस्थामा देख्नुभएछ । उहाँलाई पक्रन भनी घेरा हाल्दा उहाँ उम्कन खोज्नुभएछ । बल्लतल्ल तीनै देवको हातमा मृगरूपी शिवको सिङ आएछ । सिङ समात्नासाथ महादेव त्यहाँबाट पुनः अन्तध्र्यान हुनुभएछ र देवताहरूको हातमा सिङ मात्र परेछ । त्यसरी समातिँदा सिङ तीन टुक्रामा विभक्त भएछ । त्यतिकैमा आकाशवाणी भएछ, ‘आआफ्ना हातमा परेको सिङ स्वर्ग, मत्र्य र पातालमा स्थापित गर्नु । यसबाट तीनै लोकको कल्याण हुनेछ ।’ आआफ्नो भागको सिङलाई देवराज इन्द्रले अमरावतीमा, भगवान् विष्णुले पातालमा र ब्रह्माले मत्र्यलोक (पृथ्वी)–को गोकर्णमा स्थापना गर्नुभएको थियो । कालान्तरमा यसै स्थानमा स्थापित सिङलाई गोकर्णेश्वर महादेवका नामले पूजाआजा गर्न लागिएको हो ।

अर्को जनश्रुति अनुसार भगवान् शिवका वाहन नन्दीले केदारनाथबाट प्रवेश गरेर काठमाडौँको यसै पुण्य क्षेत्रबाट निस्कनुभएको हुनाले यस उत्तम क्षेत्रलाई गोकर्ण भनिएको हो । श्रीमद्भागवत् महापुराण महात्म्यमा आउने प्रख्यात आख्यान अनुसार गोकर्ण नामका विद्वान् ब्राह्मणले आफ्ना मृत भाइ धुन्धुकारीलाई नरकबाट उद्धार गर्नका लागि यसै स्थानमा आएर श्राद्धगरी भागवत कथा गराएका थिए जसबाट धुन्धुकारीले मुक्ति प्राप्त गरेका थिए । त्यसै आधारमा यस स्थानको नाम गोकर्ण हुन गएको बताइन्छ ।

गोकर्णेश्वर महादेव मन्दिर

गर्भगृहमा अवस्थित गोकर्णेश्वर महादेवको प्रस्तर एउटा कालो प्राकृतिक प्रस्तर हो । यसको अवधि प्राग्ऐतिहासिक मानिन्छ । गोकर्णेश्वर महादेव मन्दिर ढुङ्गा, इटा र काठबाट बनेको छ । गोकर्णेश्वर मन्दिर कलाकृतिका दृष्टिले पनि निकै कलात्मक र भव्य छ । काष्ठकलाले भरिपूर्ण यो मन्दिरका काष्ठ तोरण, टँुडाल पनि कलात्मक छन् । तीन तले यो विशाल मन्दिरको माथिल्लो एक छाना तामाको पातायुक्त छ, जसमा सुनको मोलम्बा चढाइएको छ । मन्दिरको गजुर पनि तामाको स्वर्ण मोलम्बायुक्त रहेको छ । यो मन्दिरको तल्ला दुईवटा छाना चाहिँ झिागटीले छाइएको छ । तेस्रो तथा माथिल्लो छानाको चार सुरमा शुभताको प्रतीक मानिने चारवटा पूर्ण कलश झुण्ड्याइएको छ । यस मन्दिरको तीनवटै छानालाई काठका टुँडालले अड्याइएको छ । टुँडालमा देवी–देवताका सुन्दर आकृति शैवधर्मसँग सम्बन्धित दृश्यहरू अङ्कित गरिएका छन् ।

मन्दिरको दक्षिणतर्फ प्राङ्गण छेउमा ललितत्रिपुरासुन्दरीले राखेको विशाल घण्ट रहेको छ । यो मन्दिर राजा जयस्थिति मल्लले इ.स. १४२२मा जीर्णोद्वार गरी नित्यपूजा र अन्य पर्वोत्सवका लागि गुठीको समेत व्यवस्था गरेका थिए तर सो पूर्व कसले कुन समयमा बनाएको हो अहिलेसम्मको अन्वेषणबाट थाहा हुन सकेको छैन ।

हिन्दूका साथै बौद्ध अनुयायीको पनि महत्वपूर्ण पवित्र धार्मिक तीर्थस्थल हो गोकर्णेश्वर । हिन्दूहरू यस मन्दिरमा रहेको लिङ्गलाई महादेव र बौद्धहरू गगनगञ्ज बोधिसत्वको रूपमा पूजाआजा गर्दछन् । नेपालका ६४ शिवलिंगमध्ये एक मानिने गोकर्णेश्वर महादेवको ख्याति धेरै अगाडिदेखि बढेको पाइन्छ । गोकर्णेश्वरको मन्दिरको स्थापनाको तिथि स्पष्ट नभए पनि मध्यकालतिर जयस्थिति मल्लले बनाएको चर्चा पाइन्छ । 


हिन्दू धर्मको विशेषता

– श्री माता अमृतानन्दमयी देवी (अम्मा)

प्रश्न – अन्य मत–पन्थको तुलनामा हिन्दू धर्मका के विशेषता छन् ?

अम्मा – हिन्दू धर्मले सबैलाई दिव्य ठान्दछ, सबैलाई प्रत्यक्ष ईश्वररूप स्वीकार्दछ । हिन्दू धर्म अनुसार, मनुष्य ईश्वरदेखि भिन्न छैन । सबै मनुष्यमा त्यो दिव्यता अन्तर्लीन छ । हिन्दू धर्मले हामीलाई सिकाउँछ– कुनै पनि व्यक्तिले आफ्नो प्रयत्नद्वारा अन्तस्थ दिव्यताको साक्षात्कार गर्न सक्दछ । सृष्टि र स्रष्टा भिन्न छैनन्; ईश्वरले नै स्वयं सृष्टिको रूप धारण गर्नुहुन्छ । हिन्दू धर्मले यस अद्वैत सत्यको साक्षात्कार गर्नुलाई नै जीवनको परम लक्ष्य मानेको छ । 

स्वप्न, स्वप्न देख्ने व्यक्तिभन्दा भिन्न हुँदैन । तर स्वप्नलाई स्वप्न भनी जान्नका लागि जाग्नुपर्दछ । वास्तवमा सबै ईश्वर नै हो, तर हामी सबैमा ईश्वरको दर्शन गर्नसक्दैनौँ, हामी देखिने वस्तुहरूमा नानात्व (यो, त्यो भिन्ना–भिन्नै भन्ने पदार्थबोध) दर्शन गर्दछौँ; केही वस्तु र व्यक्तिसँग राग र अन्यसँग द्वेषको अनुभव गर्दछौँ । फलस्वरूप सुख र दुःख हाम्रो जीवनको अभिन्न अङ्ग बन्दछन् । तर, जब हामी आफ्नो वास्तविक स्वरूपप्रति जागरुक हुन्छौँ तब त्यहाँ म र तिमी भन्ने भेद रहँदैन । हामीलाई अनुभव हुन्छ कि सबै ईश्वरकै भिन्न नाम–रूप हौँ । यसपछि केवल आनन्द नै आनन्द रहन्छ । हरेकलाई भिन्न–भिन्न संस्कार अनुसार सबैलाई यस लक्ष्यसम्म पुग्नका लागि हिन्दू धर्ममा अनेक मार्ग बनाइएका छन् । पन्थहरू, आचार र अनुष्ठानहरूमा यति धेरै विपुलता सायद अन्य कुनै धर्ममा पाइँदैन ।

हिन्दू धर्ममा समग्र सृष्टिलाई नै ईश्वर मानिन्छ । ईश्वरभन्दा भिन्न केही पनि छैन । हिन्दू धर्ममा पशु, पक्षी, बोट–बिरुवा, पर्वतहरू, नदीहरू, सबैलाई, यहाँसम्म कि विषधर नागलाई पनि ईश्वर मानेर तिनको सेवा गर्न, तिनलाई प्रेम गर्न सिकाइन्छ ।

हिन्दू धर्मले समस्त प्रपञ्चमा ईश्वर दर्शन गर्न र ईश्वर एवं आफू स्वयंमा अभिन्नता अनुभव गर्न उपदेश दिन्छ । यस लक्ष्यलाई प्राप्त गर्नका लागि कर्मयोग, भक्तियोग, राजयोग, इत्यादि अनेक मार्ग बताइएका छन् ।

हिन्दू धर्मलाई सनातन धर्म भनिन्छ । कारण यो हो कि यो कुनै पनि देश–कालका निम्ति समायोज्य (समायोजन गर्न सकिने) छ । यसले समस्त संसारको उत्थानका लागि शाश्वत सत्यहरूको शिक्षा दिन्छ । यो धर्म सार्वभौमिक छ । यसमा विभागीयता एवं संकुचित मनोभावहरूका लागि कुनै स्थान छैन ।

असतो मा सद्गमय । (असत्यबाट सत्यतिर मेरो मार्ग प्रशस्त गर्नुहोस् ।)
तमसो मा ज्योतिर्गमय । (अन्धकारबाट प्रकाशतिर मलाई लिएर जानुहोस् ।)
मृत्योर्मा अमृतं गमय । (मृत्युबाट अमृतत्वतिर मेरो मार्ग प्रशस्त गरिदिनुहोस् ।)
लोकाः समस्ताः सुखिनो भवन्तु । (समस्त लोकहरूमा सुख शान्ति होओस् ।)
पूर्णमदः पूर्णमिदं पूर्णात् पूर्णमुदच्यते ।
पूर्णस्य पूर्णमादाय पूर्णमेवावशिष्यते ।। 
(त्यो पूर्ण छ, यो पनि पूर्ण छ । पूर्णबाट पूर्णको उदय हुन्छ । पूर्णबाट पूर्णलाई झिके पनि जे रहन्छ त्यो पूर्ण नै रहन्छ ।)

हाम्रा ऋषिहरूले यस्ता सार्वभौमिक मन्त्र संसारलाई उपहार दिएका छन् । तिनमा कतै पनि अरुलाई पराइ ठान्ने भावको कणमात्र पनि पाइँदैन ।

फ्रिजले वस्तुलाई चिसो पार्दछ, हिटरले तताउँछ, बल्वले प्रकाश दिन्छ, पङ्खाले हावा प्रदान गर्दछ, तर यी सबैलाई एउटै करेन्टले प्रवर्तनशील (चलाउने कार्य) गर्दछ । यिनको कार्य गर्ने स्वभाव, प्रयोजन, दाम इत्यादि भिन्न हुँदैमा यीमध्ये कुनै एउटालाई उपयोगी बनाउने करेन्ट कुनै अर्को वस्तुलाई चलाउने करेन्टभन्दा श्रेष्ठ अथवा कमसल भन्नुमा के कुनै अर्थ छ ? यदि हामीले यी भिन्न उपाधिहरूमा भएको शक्ति, त्यो करेन्ट एउटै हो भन्ने जान्न चाह्यौँ भने यसका लागि यसको आधारभूत शास्त्र सिक्न आवश्यक छ । त्यस विषयको प्रायोगिक ज्ञान पनि हुनु पर्दछ । जसरी भिन्न यन्त्रमा प्रवृत्त करेन्ट एउटै हुन्छ त्यसरी नै भिन्न वस्तुहरूको वाह्य नाम–रूपमा विविधता भए पनि ती सबैमा अन्तस्थ चैतन्य एउटै छ । हामीले त्यस ऐक्यलाई देख्न सक्ने शक्ति साधनाबाट अर्जित गर्नुपर्छ । अनुभवसिद्ध ऋषिहरूले त्यो सत्य आफ्ना अनुगामीमा सञ्चार गरे । यस आर्षदर्शनबाट नै भारतवर्षका सामान्यजनको जीवन पद्धतिले रूप पाएको छ । यही आर्ष संस्कारका अनुगामीलाई हिन्दू भनिन्छ । वास्तवमा अन्य मत–पन्थ जस्तै यो एउटा मत–पन्थ मात्र होइन । यो (आर्ष) संस्कार अनेक भिन्न मतहरूका, भिन्न कालका, भिन्न मार्गहरूको अनुगमन गर्दै, भिन्न दृष्टिकोण भएका, अनेक सत्यद्रष्टा ऋषिहरूको अनुभवको समन्वय हो । अतः हिन्दू धर्म कुनै एक व्यक्तिद्वारा रूप दिइएको पन्थ होइन । यसका आधारभूत तत्व कुनै एउटा धर्मग्रन्थमा मात्र सीमित पनि छैनन् । यो त समग्र जीवन दर्शन हो ।

भिन्न देश–कालमा महात्माहरूद्वारा आफ्ना शिष्य एवं अनुयायीहरूलाई ईश्वर–प्राप्तिका लागि दिइएको उपदेशहरूको संकलनले नै विभिन्न धर्मको रूप धारण गरेका छन् । भारतवर्षका अनेक महात्माहरूको स्वानुभूतिबाट उद्घाटित सनातन तत्वहरू, मूल्यहरू एवं धर्मोपदेशहरूको संकलनले नै सनातन धर्मको नाम–रूप धारण गरेको छ । कालान्तरमा त्यसैलाई हिन्दू धर्मको नामबाट चिनियो । सनातन धर्मले सबैलाई समावेश गरेको छ । यसले सबैलाई स्वीकार्दछ । सनातन धर्मले ईश्वरलाई फलानो नामबाट मात्र सम्बोधित गर्न सकिन्छ अथवा तिनलाई प्राप्त गर्ने केवल एउटै निश्चित मार्ग छ भनी भन्दैन । सनातन धर्ममा महात्माहरूद्वारा निर्देश गरिएको विभिन्न मार्गमध्ये कुनै एउटा इष्ट मार्ग चयन गर्ने अथवा आफै एउटा नयाँ मार्ग खोजिनिकाल्ने छुट पनि छ । यसले ईश्वरमा विश्वास गर्न अथवा अविश्वास गर्न पनि स्वतन्त्रता दिएको छ ।

दुःखबाट आत्यन्तिक मुक्तिलाई नै सनातन धर्मले मोक्ष भन्दछ । त्यसलाई साध्ने उपायहरूका विषयमा सनातन धर्मले कुनै हठ गर्दैन ।

गुरु प्रत्येक व्यक्तिको शारीरिक एवं मानसिक गठन अनुरूप नै तिनलाई उपदेश गर्दछन्, तिनको मार्गदर्शन गर्दछन् । जसरी एउटै साँचोले सबै ताला खोल्न सकिँदैन, त्यसरी नै यदि विभिन्न व्यक्तिहरूको मनलाई खोल्नु छ भने तिनको बुझाई एवं संस्कार अनुरूप कुनै मार्गको आवश्यकता पर्दछ । यदि एउटा नदी एउटै मार्गबाट मात्र बग्ने हो भने त्यसबाट कतिलाई लाभ होला ? त्यही नदी जब विभिन्न उपनदीका रूपमा बग्ने हो भने त्यसबाट तिनका तटमा बस्ने अनेक मानिसलाई ती नदीबाट लाभ मिल्दछ । हाम्रा ऋषिहरूले पनि यसै प्रकार अनेक मार्गहरूको विधान गरेका छन् ताकि अनेक मानिसले ती विभिन्न मार्गबाट लाभ लिन सकुन् ।


‘अम्मा’ नामले प्रख्यात श्री माता अमृतानन्दमयी देवी हिन्दू आध्यात्मिक नेतृ एवं गुरु हुनुहुन्छ ।


Sunday, November 27, 2022

जन्मजयन्ती विशेष | दिव्यात्मा बालागुरु षडानन्द



विक्रम सम्वत १८९२ साल । मार्गशीर्ष शुक्ल पञ्चमीका दिन लोक श्रीरामजानकीको विवाह महोत्सव मनाउँदै थियो । त्यसै दिन भोजपुर जिल्लाको दिङ्ला, गडीगाउँमा लक्ष्मीनारायण अधिकारी तथा रुक्मिणी देवीका सुपुत्रका रूपमा नेपाल आमाले एउटा सपूतको मुहार हेर्ने सुअवसर पाउनुभयो । आफ्नो पुण्यको प्रतापस्वरूप प्राप्त भएको सन्ततिलाई देखेर माता–पिता आह्लादित थिए । अधिकारी दम्पतिले अमृतत्त्वका सन्तति ती नवजात शिशुको नाम षडानन्द राखे । बालक सर्वत्र आनन्दवृद्धिकै लागि अवतरित भएको अनुभूति देख्ने–सुन्ने सबैले संगाल्दैथिए ।


आबाल ब्रह्मचारी बालागुरु

आफूले सुनेको कुरा आफू गुरु बनेर अरूलाई बुझाउन सक्ने क्षमता बालक षडानन्दमा थियो । यसरी बाल्यकालमै आफू गुरु बनेर अरुलाई पढाएको हुँदा स्थानीय व्यक्तिहरूले उहाँलाई बालागुरु भन्न थाले । पछि उहाँ यही नामले प्रसिद्ध हुनुभयो । उहाँ बाल्यकालदेखि नै आजीवन ब्रह्मचर्यमा दृढ रहेको हुनाले आबाल–ब्रह्मचारी नामले पनि चिनिनुभएको छ ।

संस्कारले द्विज बनाउँछ । आठ वर्षको उमेरमा उहाँको यज्ञोपवीत संस्कार भयो । उहाँ द्विज बन्नुभयो । यज्ञोपवीत संस्कारपछि उहाँले परम्पराअनुरूप घरबार छोडेर विद्याध्ययनका लागि जनकपुरतिर जानुभयो । ज्ञान आफूमै निहित छ, यसमाथि जमेको अज्ञानको आवरणलाई पन्छाउन सक्नुपर्छ । र त्यो सम्भव छ प्रशिक्षण र अभ्यासबाट मात्र । गुरुगृहका अन्तेवासी बनेर शिक्षा–साधना आरम्भ भयो ।


अध्ययन 

षडानन्दले सर्वप्रथम जनकपुरको ब्रह्मचर्याश्रममा बसी गुरुकुल प्रणालीमा १० वर्षसम्म विद्याध्ययन गर्नुभयो । उहाँले मिथिला प्रदेशका धेरै विद्वान् पण्डितहरूको सान्निध्यमा संस्कृत भाषाको राम्रो अध्ययन गर्नुका साथै संस्कृत व्याकरणको पनि गहन अध्ययन गरेको बुझिन्छ । धर्मज्ञ तथा कर्मकाण्डी विद्वान्हरूको सङ्गतमा वेद, उपनिषद्, गीता, ज्योतिषशास्त्र, व्याकरण, न्यास आदि अध्ययनकै क्रममा त्यहाँबाट अविमुक्त क्षेत्र काशी पुग्नुभयो । भगवान् शिवको प्रिय नगरी बनारस शिक्षा–साधनाको राजधानी नै हो । त्यस समृद्ध वातावरणमा पुगेपछि उहाँ मुमुक्षु भवनमा बसेर पढ्न थाल्नुभयो । मेधावी विद्यार्थीका रूपमा आफ्नो अध्ययनलाई अझ गहन रूपमा अगाडि बढाउनुभयो ।


योग साधना

आजीवन ब्रह्मचर्यमा रहेका षडानन्दले काशीमा अध्ययनका साथै योग साधना समेत गर्नुभएको थियो । योग साधनाका क्रममा उहाँले भारतका विभिन्न स्थानको भ्रमण पनि गर्नुभयो । षडानन्दका त्यस बेलाका शिष्यहरूको भनाइ अनुसार उहाँले चौबिस पटक गायत्री पुरश्चरण गर्नुभएको थियो । नेपाल आइकन पनि उहाँले बाग्मती नदी किनारमा बसी तपस्या गर्नुभएको थियो । त्यस्तै देवघाट हुँदै केही वर्ष सेती किनार, पोखरामा बसेर अष्टाङ्ग योग साधना गर्नुभएको थियो । ‘एकान्तमा साधना र लोकान्तमा सेवा’ यही महापुरुषहरूको वृत्ति हुनेगर्दछ । उहाँले पनि आफ्नो अध्ययन पूरा गरी योग साधकका रूपमा समेत स्थापित भएपछि मातृभूमिका लागि केही गर्न भनी विक्रम सम्वत १९३१ मा आफ्नो जन्मस्थल दिङ्ला फर्कनुभयो ।


विद्यालय स्थापना

बाला गुरु षडानन्दले विक्रम सम्वत १९३२ चैत्र शुक्ल रामनवमी, सोमवारको शुभ साइतमा दिङ्ला, भञ्ज्याङको रमणीय उच्च स्थल कैलासमा स्थानीय जनताको सक्रिय संलग्नतामा नर्मदेश्वर शिव मन्दिर निर्माण गरी विद्यालय स्थापना गर्नुभयो । प्रारम्भिक वर्षहरूमा आफैले पढाउने गर्नुहुन्थ्यो । जनस्तरबाट व्यवस्थित यो विद्यालय नेपालको पहिलो विद्यालय हो भनिन्छ । यस पाठशालामा त्यस भेगका विद्यार्थीका अतिरिक्त नेपालको गुल्मी, सल्यान, प्युठानसम्मका र भारतको सिक्किम तथा असम समेतका विद्यार्थीहरू आई अध्ययन गर्दथे । यस विद्यालयमा वेद, व्याकरण, ज्योतिष तथा साहित्यको अध्ययन–अध्यापनका लागि छुट्टाछुट्टै कक्षाकोठाको व्यवस्था गरिएको थियो । विद्यार्थी र शिक्षकहरूको अध्ययनका लागि पुस्तकालयको व्यवस्था समेत गरिएको थियो । अझै पनि केही दुर्लभ ग्रन्थहरू त्यहाँ सुरक्षित रहेका छन् ।


सामुदायिक वनको व्यवस्था

बालागुरु षडानन्द प्रकृति र पर्यावरणको संरक्षणप्रति पनि सचेत हुनुहुन्थ्यो । उहाँले एउटा विशाल वनको स्थापना गराउनुभयो । त्यसमा स्थानीय रूपमा पाइने जामुन, गोगन, काफल, किम्बु, कटुस, ऐँसेलु, चिउरी, चिलाउने, पात्ले, ढाल्ने, झिँगनी, ओखर, भोर्लो, चाँप, समी, लप्सी, बडहर, कटहर, खनिउँ, भलायो, गायो, थल कमल, कोइरालो, काब्रो, चुवा, चमेली आदि र अन्य विभिन्न रुखहरू थिए । साथै त्यहाँ रुद्राक्षको वन सघन रूपमा हुर्काइएको थियो । यी बोट–बिरुवा धार्मिक तथा समाजिक रूपमा दैनिक आवश्यकतासँग आबद्ध थिए । पछि आएर यो वन ‘रुद्राक्ष वन’का रूपमा चर्चित हुन पुग्यो । यसलाई ‘जगेडा वन’ पनि भनिन्छ । यसलाई सामुदायिक धारणा अनुरूप संरक्षित ‘नेपालको पहिलो सामुदायिक वन’ मानिन्छ ।


समाज सुधार तथा सबै जातजातिसँगको सहयात्रा

बालागुरु षडानन्दले समाज सुधारको क्षेत्रमा उल्लेख्य योगदान पु¥याउनु भएको छ । उहाँले छुवाछुत प्रथा गलत हो भन्ने सन्देश प्रसार गर्नुभएको थियो । पानी चल्ने र नचल्ने भनी छुवाछुत भएको समाजमा स्थानीय मेलामा सबै जातजातिका मानिसहरूको सहयात्राको सुरुआत पनि उहाँले गर्नुभएको हो । उहाँकै नेतृत्वमा संस्कृत भाषा जन्मना ब्राह्मणले मात्र पढ्ने भाषा नभएर सबै जातजातिले पढ्ने व्यवस्था समेत भयो ।


फजुल खर्च नियन्त्रण र सदाचार शिक्षा

बिवाह, व्रतबन्ध आदिमा भोजका नाममा समाजमा हुने फजुल खर्च नियन्त्रण गर्न १०८ बटुकहरूको सामूहिक व्रतबन्ध स्थानीय नारायण चौरमा गराई सामूहिक कार्य गर्ने व्यवस्था पनि उहाँले गर्नुभयो ।  विद्यालयबाट शिक्षा प्र्राप्त गर्नु त छँदै छ, त्यसका अतिरिक्त आध्यात्मिक एवम् नैतिक ज्ञान समेत प्रदान गरी समाजमा सदाचार फैलाउने उद्देश्यले चौमासा पुराण र पर्व–पर्वमा नैतिक–आध्यात्मिक प्रवचन दिने व्यवस्था समेत उहाँको नेतृत्वमा भएको थियो । त्यस कालखण्डमा लोकलाई संस्कार र संस्कृतिको आलोकसित जोड्ने उहाँको यो अभियानले स्वधर्म–संस्कृतिप्रति निष्ठा जागरणको महत्तम साध्यलाई सम्बोधन गरेको थियो । 


सिद्धिप्राप्ति र श्री १०८ को उपाधि

विधिपूर्वक नियमहरू पालना गर्दै चौबीस लाख पटक गरिएको गायत्री मन्त्रको जपलाई एक पुरश्चरण भनिन्छ । आबाल ब्रह्मचारी षडानन्दले राजयोग, हठयोग आदि अष्टाङ्ग योग साधनाका साथै चौबीसपल्ट गायत्री पुरश्चरण गर्नुभएको थियो । षडानन्द उच्च तहसम्मको विद्याध्ययन, अष्टाङ्ग योग साधना र गायत्री उपासनाबाट प्राप्त सिद्धि र क्षमताबाट परिचित भई उहाँको योग्यताको कदर गर्न वाराणसीको विद्वद्गणले उनलाई श्री १०८ उपाधिले सम्मानित गरेको थियो । उहाँ योग साधनारत रहेरै दिवङ्गत हुनु, त्यस कालखण्डमा राज्यले पनि गर्न नसकेको समाज सुधार तथा शिक्षा केन्द्र स्थापनाका लागि विशाल निर्माण कार्य गरिनुले उहाँमा विशिष्ट सिद्धि थियो भन्नुमा दुई मत रहँदैन ।


देहावसान

विक्रम सम्वत १९६६ सालमा धर्म पत्रिका मार्फत आफ्नो सिर्जना प्रकाशित गरी विद्यालयको सञ्चालन, व्यवस्थापन तथा मन्दिरको पूजापाठ, मेलापर्व आदि सञ्चालनको सम्पूर्ण व्यवस्था मिलाएपछि उहाँ काठमाडौँ, टेकुको पचली घाटमा अवस्थित आश्रममा फर्किनुभयो । विक्रम सम्वत १९७३ सालको जेष्ठ शुक्ल त्रयोदशीका दिन योग साधनामा रहँदारहँदै उहाँ ब्रह्मलीन हुनुभयो ।


महापुरुषको जन्म र कर्म दिव्य हुन्छन् । यस्ता महात्माहरू लोकलाई कर्तव्यको शिक्षा दिन तथा लोकहितमै कार्य गर्नुपर्छ भन्ने प्रेरणा दिन अवतरित भएका हुन्छन् । ‘उत्तिष्ठ, जाग्रत’ भन्ने उपनिषद्को निर्देशलाई आत्मसात् गरी ‘आफू बन्नु र समाजलाई बनाउनु’ नै महामनाहरूको अवतरणको उद्देश्य हुनेगर्दछ । यस पवित्र देवभूमि, वेदभूमिमा अवतरित भएर आफ्नो कुल, जन्मथलो र नेपाल जननीलाई कृतार्थ तुल्याउने यस्ता महामानवबाट प्रेरणा लिनसक्नु एवं उहाँहरूकै अनुगामी बनेर जगद्हिताय कर्म गर्नु नै यस्ता दिव्यात्माप्रति सार्थक श्रद्धाञ्जलि हुनेछ ।

____________

विजयप्रसाद मिश्र

Saturday, November 26, 2022

मेरो कल्याण कसरी हुन्छ प्रभु ?

ॐ श्रीपरमात्मने नमः

कार्पण्यदोषोपहतस्वभावः 
पृच्छामि त्वां धर्मसम्मूढचेताः ।
यच्छ्रेयः स्यान्निश्चितं ब्रूहि तन्मे 
शिष्यस्तेऽहं शाधि मां त्वां प्रपन्नम् ॥७

श्रीमद्भगवद्गीता, अध्याय २, श्लोक ७

[अर्जुन भन्छन्] कायरतारूपी दोषले तिरस्कृत भएको र धर्मको विषयमा अन्तःकरण मोहित भएको म हजुरलाई प्रश्न गर्दछु, मेरोलागि निश्चित कल्याण गर्ने जे छ, त्यो कुरा मलाई भनिदिनुहोस् । म हजुरको शिष्य हुँ. हजुरको शरणमा आएको छु, मलाई शिक्षा दिनुहोस् ।


व्याख्या– प्रत्येक मनुष्य वास्तवमा साधक हो । कारण, चौरासी लाख योनिहरूमा भौतारिँदै जीवलाई भगवान्‌ले यो मनुष्य शरीर केवल आफ्नो कल्याण गर्नका लागि नै प्रदान गर्नुहुन्छ । यसैले कुनै पनि मनुष्यलाई आफ्नो कल्याणबाट निराश हुनुपर्दैन । मनुष्य मात्रलाई परमात्म प्राप्तिको जन्मसिद्ध अधिकार छ । साधक हुनाको नाताले मनुष्य मात्र आफ्नो साध्यलाई प्राप्त गर्नमा स्वतन्त्र, समर्थ, योग्य र अधिकारी छ । सबैभन्दा पहिले यस कुराको आवश्यकता छ कि मनुष्यले आफ्नो उद्देश्यलाई  पहिचान गरी दृढ़तापूर्वक यो स्वीकार गरोस् कि म संसारी होइन, बरु साधक हुँ ।

म स्त्री हुँ, म पुरुष हुँ, म ब्राह्मण हुँ, म क्षत्रिय हुँ, म शूद्र हुँ, म ब्रह्मचारी हुँ, म गृहस्थ हुँ, म वानप्रस्थ हुँ, म संन्यासी हुँ आदि मान्यताहरू केवल सांसारिक व्यवहार (मर्यादा) का लागि त ठीकै हो, तर परमात्मप्राप्तिमा यी बाधक हुन् । यी मान्यताहरू शरीरलाई लिएर बनेका हुन् । परमात्मा प्राप्ति शरीरलाई हुँदैन, बरु स्वयं साधकलाई हुन्छ । साधक स्वयं अशरीरी नै हुन्छ ।

अर्जुनले, मैले आफ्नो कल्याण गर्नु छ भनी आफ्नो वास्तविक उद्देश्यलाई चिनेका छन् । यसैले उनी युद्ध गर्नु अथवा नगर्नु भनी नसोधेर आफ्नो कल्याणको निश्चित उपाय सोध्दैछन् ।


स्वामी रामसुखदासजी महाराजकृत गीता प्रबोधनीबाट


ज्ञानका लागि गुरु होइन, तीव्र जिज्ञासा चाहिन्छ — स्वामी रामसुखदासजी महाराज



गुरु–शिष्यको सम्बन्धबाट मात्र ज्ञान हुन्छ— यस्तो कुरा देख्नमा आउँदैन । कारण के हो भने, जसले गरु बनाएका छन्, गुरु–शिष्यको सम्बन्ध स्वीकार गरेका छन्; ती सबैलाई ज्ञान भएकै होस्— यस्तो देखिँदैन । तर तीव्र जिज्ञासा भएपछि ज्ञान हुन्छ— यस्तो चाहिँ देख्न, सुन्न पाइन्छ । तीव्र जिज्ञासुका लागि गुरु–शिष्यको सम्बन्धमा बाँधिनु आवश्यक छैन । तात्पर्य के हो भने जबसम्म आफ्नो जिज्ञासा तीव्र हुँदैन, तबसम्म गुरु–शिष्य सम्बन्ध स्वीकारेर पनि ज्ञान हुँदैन र जिज्ञासा तीव्र भएपछि साधकले गुरु–शिष्यको सम्बन्धबिना नै कसैबाट पनि ज्ञान लिनसक्छ । तीव्र जिज्ञासा भएका साधकलाई भगवान् स्वप्नमा पनि शुकदेव आदि (पहिले भइसकेका) सन्तहरूबाट मन्त्र प्रदान गर्नुहुन्छ ।


शिष्य बनेपछि गुरुको उपदेशबाट ज्ञान भइहाल्छ– यस्तो नियम छैन । कारण के हो भने, उपदेश पाएर पनि यदि आफू स्वयंको जिज्ञासा र लगन हुँदैन भने शिष्यले त्यस उपदेशलाई धारण गर्न सक्नेछैन । तर तीव्र जिज्ञासा, श्रद्धा–विश्वास भएपछि मनुष्यले कुनै सम्बन्धबिना नै उपदेश धारण गर्दछ— ‘श्रद्धावाँल्लभते ज्ञानम्’ (४।३९) । तात्पर्य के हो भने ज्ञान आफू स्वयंको जिज्ञासा, लगनबाट नै हुन्छ, गुरु बनाउनाले मात्र हुँदैन ।


यदि कसैलाई सक्कली गुरु फेला परे पनि उसले उनलाई गुरु, महात्मा मान्नेछ, स्वयं उनीमाथि श्रद्धा–विश्वास गर्नेछ भने मात्र त्यसबाट लाभ हुनेछ । यदि ऊ स्वयं श्रद्धा–विश्वास गर्दैन भने त साक्षात् भगवान्‌ नै प्राप्त भए पनि उसको कल्याण हुनेछैन । दुर्योधनलाई भगवान्‌ले उपदेश दिनुभयो र पाण्डवहरूसँग सन्धि गर्नका लागि धेरै सम्झउनुभयो, तर पनि उसमा कुनै प्रभाव परेन । उसले नमानेसम्म भगवान्‌ले पनि केही गर्न सक्नुभएन । तात्पर्य के हो भने आफैले मान्नाले, स्वीकार गर्नाले नै कल्याण हुनेछ । अतः गीता आफू स्वयंले नै आफ्नो उद्धार गर्ने प्रेरणा प्रदान गर्दछ– ‘उद्धरेदात्मनाऽऽत्मानम्’ (६।५) ।


स्वामी रामसुखदासजी महाराजकृत ‘सच्चा गुरु कौन ?’ पुस्तकबाट

अनुवाद— विजयप्रसाद मिश्र


Monday, November 7, 2022

जन्मजयन्ती विशेष | भगवत्पाद श्रीनिम्बार्काचार्य



— विजयप्रसाद मिश्र

................................................ ............................. ...............

अवतारको उद्देश्य

भगवत्स्वरूप सनातन धर्मको रक्षा स्वयं श्रीभगवान्‌बाट नै हुने कुरा शास्त्रहरूमा उल्लेख भएको छ । यसको पुष्टि भगवद्वाङ्मय स्वरूप श्रीमद्भागवतमहापुराण (१०।३३।२७) ले यसरी गरेको छ—

संस्थापनाय धर्मस्य प्रशमायेतरस्य च । 
अवतीर्णाे हि भगवान् अंशेन जगदीश्वरः ।।

निश्चय नै कलियुगमा पापरूपी अग्निले संसारलाई जलाइरहेकोछ । दुराचार, भ्रष्टाचार, व्यभिचार, पाखण्डले उत्पन्न हुने अज्ञानान्धकारको नाश गर्न स्वयं भगवत्कृपाद्वारा महापुरुषहरूको अवतार हुने गर्दछ । तिनै महापुरुषद्वारा सनातन धर्मको अभ्युदय र संरक्षण भइरहेको छ । यसका असङ्ख्य उदाहरण छन् । कलिकालको प्रभावले अनेक मतवादको प्रसारसँगै धर्म (शुद्ध भक्तिभाव) मा आएको भगवत्पाद श्रीनिम्बार्काचार्य ह्रास र मोह एवं अज्ञानको अन्धकारले संसारलाई छपक्कै छोपेको अवस्थामा धर्मको रक्षा एवं पुनःस्थापनाका निम्ति श्रीभगवान्‌को आज्ञाबाट आयुधराज सुदर्शन स्वयं यस धर्तीमा अवतीर्ण हुनुभएको थियो ।

सुदर्शनो द्वापरान्ते कृष्णज्ञाप्तो जनिष्यति ।
निम्बादित्य इति ख्यातो धर्मग्लानि हरिष्यति ।।

यसरी भविष्य पुराणमा भगवान् श्रीवेदव्यासले भन्नुभएको छ — हे ऋषीश्वर हो ! द्वापरको अन्त्य र कलियुगको प्रारम्भमा श्रीकृष्ण भगवान्को आज्ञाले निम्बार्काचार्यका रूपमा सुदर्शन श्रीभगवान्‌को अवतार हुनेछ र ग्लानि हुँदै गरेको सनातन धर्मको उद्धार गर्नुहुनेछ । 

श्रीसुदर्शनचक्रावतार

मेरुश्च दक्षिणे पार्श्वे नर्मदाया तटे शुभे । 
देशे तैलङ्गकेरण्ये देवर्षि वर शोभिते ।।
तत्रावतीर्य सद्धर्मान् नारादाद् देवदर्शनम् ।

‘हे सुदर्शन ! मेरु पर्वतको दक्षिणपार्श्व नर्मदा एवम् गोदावरीनजिकको सुरम्य तट देवर्षि नारदादिले परिसेवित पवित्र धर्तीमा तिमी अवतरित भई सद्धर्मको रक्षा गर ।’ प्रभुबाट भएको यस आज्ञालाई शिरोधार्य गर्दै सुदर्शन चक्र पृथ्वीमा अवतरित हुन तत्पर हुनुभयो । उता श्रीभगवान्‌ले देवर्षि नारदलाई गोदावरी तटवासी परमतपस्वी महर्षि अरुण र माता जयन्तीका घरमा पठाई पुत्रप्राप्तिको निम्ति नैमिषारण्य तीर्थमा तपस्या गर्ने आदेश दिनुभयो । देवर्षि श्रीनारदमुनिको आदेशानुसार माता जयन्ती र पिता अरुणले सन्तानगोपालको मन्त्रदीक्षा ग्रहण गरी नैमिषारण्य तपस्या गर्नुभयो । तपस्याको फलस्वरूप केही

दिनमै उहाँलाई ईश्वर अनुग्रह प्राप्त भयो । राति शयन गरेका बेला माता जयन्तीले स्वप्नमा साक्षात् आयुधराज सुदर्शन आएर गर्भमा प्रवेश गरेको देख्नुभयो । भावविह्वल अवस्थामा निद्राबाट ब्युँझिएर उहाँले आफ्ना पति महर्षि अरुणलाई यो सबै घटना यथावत् सुनाउनुभयो । यसपछि नैमिषारण्यवासी ऋषिमुनिहरूका समीप गई पतिपत्नीले आदरपूर्वक स्वप्नको वृतान्त सुनाएपछि नैमिषारण्यवासी ऋषिमुनिहरूले भन्नुभयो – ‘हे माता ! तपाईंको व्रत पूर्ण भएको छ । अब आफ्नो घर जानुहोस् । भगवत् कीर्तन गरी घरै बस्नुहोस् । यहाँहरूको मनोकांक्षा पूरा हुनेछ ।’ त्यसपछि ऋषिमहर्षिहरूको आशीर्वाद पाएर प्रसन्न ऋषिवर अरुण र माता जयन्ती आफ्नो जन्मभूमि गोदावरीतर्फ प्रस्थान गर्नुभयो । 

निश्चित् समय आएपछि यस धरालाई धाम बनाउन तथा वैदिक धर्माचरणमा आएको शिथिलता पन्छाउँदै प्राणीमात्रको कल्याणका निम्ति कार्तिक शुक्ल पूर्णिमाका दिन श्रीसुदर्शनले अवतार ग्रहण गर्नुभएको थियो— 

कार्तिकस्य शीते पक्षे पूर्णिमावृषगे विधौ ।
कृत्तिकारित्यसहिते ह्युच्चस्थेग्रहपञ्चके ।।
निम्बादित्य इति ख्यातो भगवाँश्च सुदर्शनः ।।

— वामनपुराण

कार्तिक महिनाको शुक्ल पक्ष, पूर्णिमा तिथि, चन्द्रमा वृष राशिमा भएको, कृतिका नक्षत्रसहित पाँचैओटा ग्रह उच्चस्थानमा भएको मेष लग्नमा सुदर्शनचक्रावतार भगवान् प्रकट भई श्रीनिम्बार्काचार्यका नामले प्रख्यात हुनुभयो । (कतै–कतै सनकादि मुनिहरूको अवतार पनि भनिएको पाइन्छ ।)

श्रीनिम्बार्कका अनुयायीहरू आचार्य निम्बार्कको अवतरण द्वापरयुगको अन्त्यमा भएको विश्वास गर्छन् भने आधुनिक विद्वान्हरूले उहाँको जन्म सन् १३०० र १४००का बीचमा भएको मत राखेका छन् । (गीताप्रेसबाट प्रकाशित ‘कल्याण’ भगवत्प्रेम अङ्कमा निम्बार्कभूषण श्रीवासुदेवशरण उपाध्यायले उहाँको जन्म युधिष्ठिर संवत् ६ अर्थात् युधिष्ठिर महाराज सिंहासनारुढ हुनुभएको छैटौँ वर्षमा— महाभारतकालमै भएको कुरा उल्लेख गर्नुभएको छ ।) 

आह्लादित माता–पिताले शुभ लक्षणयुक्त बालकको नाम ‘नियमानन्द’ राखेका थिए । भनिन्छ, नियमानन्दको उपनयन संस्कार भइरहेका बेला देवर्षि नारद उपस्थित भई उहाँलाई श्रीगोपाल मन्त्र दीक्षा र श्रीकृष्णोपासनाको उपदेश दिनुभएको थियो । निम्बार्क सम्प्रदायमा प्रदान गरिने मुकुन्दशरण दीक्षा मन्त्र पनि दवर्षि नारदबाटै प्राप्त भएको हो भन्ने मान्यता छ । उहाँले भगवान् श्रीकृष्णको जन्मस्थल व्रजक्षेत्रमा साधना गर्नुभएको थियो । श्रीराधाकृष्णलाई आफ्नो उपास्यका रूपमा प्रतिपादन गर्नुभएको छ । 

निम्बार्काचार्य नामको प्रसंग

भविष्यपुराणमा निम्बार्क भगवान्का विषयमा एउटा सुन्दर कथा वर्णित छ— एक दिन सृष्टिकर्ता ब्रह्माजी छद्मभेष धारण गरी संन्यासी बनेर घुम्दै अरुणाश्रममा पुग्नुभयो । भोकप्यासले आकुलव्याकुल छद्मरूपधारी ब्रह्माजीलाई बालक नियमानन्दले भोजन गर्न आग्रह गर्नुभयो तर संन्यास धर्मका आधारमा सूर्यास्त भएपछि भोजन गर्न निषेध गरिएको हुनाले संन्यासी रूपधारी ब्रह्माजीले भोजन नगरी हिँड्न लागेको देखेर निम्बको वृक्षमा सूर्यसमान चक्रको तेज स्थापित गरी उज्यालो सूर्यको दर्शन गराई भोजन गराउनुभयो । यसरी निम्बको वृक्षमा सूर्यको दर्शन गराएको हुनाले नै आचार्यश्रीको नाम निम्बार्काचार्य भनी लोकविख्यात हुन पुगेको हो ।


निम्बार्क सम्प्रदाय

भागवत धर्मका चार सम्प्रदायमध्येको एउटा निम्बार्क सम्प्रदाय हो । यस मतानुसार ‘नान्या गतिः कृष्णपदारविन्दात्’— राधासर्वेश्वर भगवान् श्रीकृष्णका चरणारविन्दलाई छोडेर जीवका लागि गति अर्थात् मोक्षको अर्को कुनै साधन छैन । 

ब्रह्माजीका मानसपुत्र सनक, सनन्दन, सनातन र सनतकुमार यस सम्प्रदायका प्रथम आचार्य हुनाले यसलाई ‘चतुःसन’ सम्प्रदाय भनिएको छ । श्रीभगवान्‌ स्वयं हंसको रूप धारण गरी अविद्यारहित ती चार ऋषिहरूलाई तत्त्व–उपदेश दिनुभएको थियो— त्यसैले यस सम्प्रदायलाई ‘हंस’ संप्रदाय पनि भनिन्छ । अतः निम्बार्क सम्प्रदायका अनुयायीहरू श्रीमद्भागवतको एघारौं स्कन्धको हंसावतार प्रसङ्गलाई निम्बार्क दर्शनको प्रारम्भसँग जोडेर आराधना गर्दछन् । 

परम्परानुसार, सनकादिबाट देवर्षि नारदले र देवर्षिबाट स्वयं निम्बार्काचार्यले व्रजक्षेत्रस्थित गोवर्धनको फेदीमा द्वैताद्वैतवादको दीक्षा प्राप्त गर्नुभएको मान्यता छ । ब्रह्मसूत्र पहिलो अध्यायको तृतीय पाद, आठौँ सूत्रको भाष्यमा आफ्नो गुरुपरम्पराका सम्बन्धमा स्वयं श्रीनिम्बार्क भगवान्‌ भन्नुहुन्छ— 

परमाचार्यैः श्रीकुमारैरस्मद्गुरवे श्रीमन्नारदाय
उपदिष्टो भूमात्वेव विजिज्ञासितव्य इति ।।

निम्बार्क दर्शनमा ब्रह्मका साथ जीव, जगत् र मायाको भेदाभेद अथवा द्वैताद्वैत सम्बन्ध प्रतिपादन गरिएको छ । आचार्य निम्बार्कले प्रतिपादन गर्नुभएको वेदान्त दशश्लोकीका अनुसार तत्त्वहरू तीन प्रकारका छन् – ब्रह्म, जीव र जगत् । द्वैताद्वैत (भेदाभेद) मतानुसार यो देखिने जगत् र जीव दुबै मूलतः ‘ब्रह्म’ हुन् तर ब्रह्मको सत्ता जगत् र जीवसम्म मात्र सीमित छैन अपितु यी दुबैलाई अतिक्रमण गरेर पनि ब्रह्मको सत्ता छ । ब्रह्म सर्वशक्तिमान हुनुहुन्छ र उहाँको सगुणभाव नै मुख्य हो। यस जगतका रूपमा परिणत भएर पनि उहाँ निर्विकार हुनुहुन्छ। अतः ब्रह्मलाई सगुण र निर्गुण दुबै रूपमा वर्णन गरिएको छ । ब्रह्म विभू र सर्वव्यापी हुनुहुन्छ अतः जीव र जगत्मा पनि ब्रह्म व्याप्त हुनुहुन्छ । यही अतीत रूप ब्रह्म नै जगत्को मूल उपादान कारण हुनुहुन्छ । जगतको सृष्टि, स्थिति एवं लय उहाँबाटै हुन्छ। उहाँ जगतका निमित्त एवं उपादान कारण हुनुहुन्छ। जगत उहाँको परिणाम हो र उहाँ अविकृत परिणामी हुनुहुन्छ। ब्रह्म जीव तथा जड़भन्दा अत्यन्त पृथक हुनुहुन्छ । जीव पनि ब्रह्मको परिणाम हो तथा नित्य छ । 

जगत् र जीव ब्रह्मका अंश मात्र हुन् । अंशका साथ अंशीको जस्तो भेदाभेद सम्बन्ध हुन्छ जगत् र जीवका साथ ब्रह्मको पनि यस्तै सम्बन्ध छ । अंश सम्पूर्ण अवयवका साथ अंशीको अङ्गीभूत छ— अतएव अभिन्न (अभेद/अद्वैत) छ; तर अंशीको सत्ता अंशलाई अतिक्रमण गरेर पनि विद्यमान छ; अंश–मात्रमा अंशीको सत्ता पर्याप्त छैन; अतएव अंशी अंशभन्दा भिन्न (भेद/द्वैत) पनि छ । यसलाई श्रीनिम्बार्काचार्यले स्वाभाविकभेदाभेद सिद्धान्तका रूपमा प्रतिपादन गर्नुभएको छ ।

श्रीनिम्बार्क–अनुसार जीवले भगवान्‌को प्रसन्नता एवं उहाँको दर्शन प्राप्त गरोस्, यही यस सृष्टिचक्रको प्रयोजन हो । जीवका समस्त क्लेशहरूको निवृत्ति एवं परमानन्द प्राप्ति भगवान्‌लाई प्राप्त गर्नाले मात्र हुनेछ । 

मायाका कारणले जीव संसारमा अलपत्र परेको छ । जीवको लक्ष्य श्रीराधाकृष्णको साहचार्य प्राप्त गर्नु हो । उसले ‘श्रीकृष्णो वै स्वयं राधा या राधा स जनार्दनः’ भन्ने श्रीराधाकृष्ण अभेदत्वलाई आत्मसात् गरी अनन्य उपासना गरेर आफू ब्रह्मको नित्य सहचर हुँ भन्ने बोध र सान्निध्य प्राप्त गर्न सक्छ । उपासनाद्वारा मात्र ब्रह्मप्राप्ति सम्भव छ । ब्रह्मको सगुण एवं निर्गुण दुबै रूपमा विचार गर्न सकिन्छ, तर जीवको मुक्तिको साधन भक्ति मात्र हो।

ब्रह्मका साथ आफ्नो र जगतको अभिन्नत्वको अनुभूति नै जीवको मुक्तावस्था हो । यो भगवत्प्राप्तिबाट नै सम्पन्न हुन्छ । 

भक्तिद्वारा मात्र भगवान्‌लाई प्राप्त गर्न सकिन्छ। सत्कर्म एवं सदाचारद्वारा शुद्धचित्तमा जब भगवत्कथा एवं भगवान्‌का गुण-श्रवण गरी भगवान्‌को प्रसन्नता प्राप्त गर्ने इच्छा जाग्रत हुन्छ, तब मुमुक्षु पुरुष सद्गुरुको शरण ग्रहण गर्दछ। गुरुद्वारा उपदिष्ट उपासनाद्वारा शुद्धचित्तमा भक्तिको प्राकट्य हुन्छ। यही भक्तिले शरणागत भक्तलाई भगवत्प्राप्ति गराई मुक्त पार्दछ ।

उहाँले द्वैत र अद्वैत पक्षलाई एउटामै समेटेर समन्वयवादको शंखघोष गरेर सबैलाई समभावले हेर्ने शिक्षा यस जगत्लाई प्रदान गर्नु भयो । आफ्नो दार्शनिक मत प्रतिपादन गर्न उहाँले कसैको खण्डन गर्नुभएको पाइँदैन । अरुको आलोचना अथवा अरुप्रति द्वेषभाव नराखी पनि आफ्नो अभिमत स्थापित गर्न सकिन्छ भन्ने शिक्षा श्रीनिम्बार्क भगवान्‌बाट लिन सकिन्छ । 

ग्रन्थ रचना

वेदान्त पारिजात सौरभ ब्रह्मसूत्रको भगवत्पाद निम्बार्काचार्यकृत भाष्य हो । त्यस्तै, दशश्लोकी नामको दशवटा श्लोक भएको ग्रन्थमा द्वैताद्वैत मत प्रतिपादन गर्नुभएको छ । यही मत निम्बार्क सम्प्रदायको सिद्धान्त हो । २५ श्लोक भएको श्रीकृष्णस्तवराजमा पनि सम्प्रदायको सिद्धान्तबारे प्रकाश पारिएको छ । श्रीगोपाल मन्त्रको विस्तृत व्याख्याका रूपमा मन्त्ररहस्य षोडशी नामको १८ श्लोकयुक्त मौलिक ग्रन्थ पनि भगवत्पादकै कृति हो । त्यस्तै, प्रपन्न कल्पवल्लीमा मुकुन्दशरण मन्त्रको रहस्य उद्घाटन भएको छ । आचार्य निम्बार्कका प्रत्यक्ष शिष्य श्रीनिवासाचार्यले वेदान्तदशश्लोकीको भाष्यका रूपमा वेदान्त कौस्तुभ रचना गर्नुभएको छ । युगल विग्रह श्रीराधिमाधवका चरणकमलहरूको ध्यानमा सदा अनुषक्त, भक्ति, ज्ञान, वैराग्य–सञ्चित भागवत दीपका ज्योतिर्मयी किरणहरूले मोहरूपी अन्धकारलाई पन्छाउने, विश्वका सारा मत–मतान्तर जसको ‘उपासना मार्ग’को अनुगमन गर्दछन् यस्ता महामुनि जगद्गुरु भगवान् श्रीनिम्बार्क आचार्यका चरणकमलहरूमा मनसा, वाचा, कर्मणा नमन गर्दछु—

यो राधावर पादपद्म युगल ध्यानानुषक्तो मुनिः,
भक्तिर्ज्ञान विरागयोग किरणैः मोहांधकारान्त कृत् ।
लोकानां मत एव निम्बघटितं चादित्यनामानुगं,
निम्बादित्य गुरुं तमेव मनसा वन्दे गिरा कर्मणा ।।

Saturday, September 24, 2022

कृष्णं वन्दे जगद्गुरुम् | स्वामी रामसुखदासजी महाराज

जसबाट प्रकाश प्राप्त होस्, ज्ञान पाइयोस्, सही मार्ग देखियोस्, आफ्नो कर्तव्य देखियोस्, आफ्नो ध्येय देखियोस्, त्यो गुरु–तत्त्व हो । त्यो गुरु–तत्त्व सबैभित्र विराजमान छ । त्यो गुरु–तत्त्व जुन व्यक्ति, शास्त्र आदिबाट प्रकट हुनजान्छ, त्यसैलाई आफ्नो गुरु मान्नुपर्दछ ।

वास्तवमा भगवान् नै सबैका गुरु हुनुहुन्छ; किनभने संसारमा जो–कसैलाई ज्ञान, प्रकाश आदि प्राप्त हुन्छ, त्यो भगवान्बाट नै प्राप्त हुन्छ । त्यो ज्ञान जहाँ–जहाँबाट, जस–जसबाट प्रकट हुन्छ अर्थात् जुन व्यक्ति, शास्त्र आदिबाट प्रकट हुन्छ, त्यो गुरु कहलिन्छ; तर मूलमा भगवान् नै सबैका गुरु हुनुहुन्छ । 

भगवान्ले गीतामा भन्नुभएको छ, ‘म नै सबै प्रकारले देवताहरू र महर्षिहरूको आदि अर्थात् उनीहरूको उत्पादक, संरक्षक, शिक्षक हुँ’–‘अहमादिर्हि देवानां महर्षीणां च सर्वशः’ (१०।२) । 

अर्जुनले पनि विराटरूप भगवान्को स्तुति गर्दै भनेका छन्— ‘भगवन् ! हजुर नै सबैका गुरु हुनुहुन्छ’–‘गरीयसे’ (११।३७); ‘गुरुर्गरीयान्’ (११।४३) । अतः साधकलाई गुरुको खोज गर्ने आवश्यकता छैन । उसले त ‘कृष्णं वन्दे जगद्गुरुम्’ अनुसार भगवान् श्रीकृष्णलाई नै गुरु र उहाँको वाणी गीतालाई उनको मन्त्र, उपदेश मानेर उहाँकै आज्ञानुसार साधनमा लाग्नुपर्दछ । यदि साधकलाई लौकिक दृष्टिबाट गुरुको आवश्यकता पर्नेछ भने ती जगद्गुरु आफैले गुरुसँग भेट गराइदिनुहुनेछ; किनकि उहाँ भक्तहरूको योगक्षेम वहन गर्नेवाला हुनुहुन्छ– ‘योगक्षेमं वहाम्यहम्’ (९।२२) ।


सक्कली गुरु त्यही हुन्छ, जसले अरुलाई आफ्नो शिष्य बनाउँदैन, बरु गुरु नै बनाउँदछ अर्थात् तत्त्वज्ञ जीवन्मुक्त बनाइदिन्छ, दुनियाँको उद्धार गर्नेवाला बनाइदिन्छ । यस्ता गुरु गुरुहरूको टकसार, खानी हुन्छ ।

वास्तवमा जो महापुरुष (गुरु) हुन्छन्, तिनले शिष्य बनाउँदैनन् । कोही हाम्रो शिष्य बन्यो भने हामी (ज्ञानका) कुरा बताउनेछौँ भन्ने भाव उनीहरूमा कहिल्यै रहेकै हुन्न । अँ, ती महापुरुषबाट जसलाई ज्ञान प्राप्त भएको छ, उनीहरूले तिनलाई आफ्नो गुरु मान्दछन् । कसैले मानोस् वा नमानोस्, जसबाट जति ज्ञान मिल्दछ, त्यस विषयमा त्यो गुरु भइहाल्यो । जसबाट हामीलाई शिक्षा मिल्दछ, यस्ता माता–पिता, शिक्षक, आचार्य आदि पनि ‘गुरु’ शब्द अन्तर्गत आउँछन् ।


मनुष्य कसैलाई गुरु बनाएर भन्दछ— ‘म सगुरा भएको छु अर्थात् मैले गुरु धारण गरेँ, म निगुरा रहिनँ’ । यस्तो ठानेर ऊ सन्तोष गर्दछ भने उसको उन्नतिमा बाधा आउँछ । कारण, उसले अरु कसैलाई आफ्नो गुरु मान्नेछैन, अरुको सत्संग गर्ने छैन, अरुको व्याख्यान, विवेचना सुन्नेछैन । यसरी उसको कल्याणमा ठूलो बाधा आइपर्छ । वास्तवमा जो आफ्नो कल्याण चाहन्छन्, तिनले कसैलाई गुरु बनाएर कुनै ठाउँमा अडिदैनन्, बरु आफ्नो कल्याणका लागि जिज्ञासु बनिरहन्छन् । जबसम्म बोध हुँदैन, तबसम्म उनीहरू कहिल्यंै पनि सन्तुष्ट हुँदैनन् । यति मात्र होइन, बोध भएपछि पनि उनीहरू सन्तोष गर्दैनन्, बरु सन्तोष स्वतः हुनजान्छ । यो उनीहरूको विवशता हो !

- स्वामी रामसुखदासजी महाराज

____________________

गीताप्रेसबाट प्रकाशित सच्चा गुरु कौन ? पुस्तकबाट साभार ।

गुरु–शिष्य सम्बन्धबारे स्वामी रामसुखदासजी महाराजको कथन

अर्जुन हमेशै भगवान्सँगै रहन्थे; भगवान्सँगै खान्थे–पिउँथे, उठ्थे–बस्थे, सुत्ने–जागाहुने गर्थे; तर भगवान्ले उनलाई गीताको उपदेश तब मात्र दिनुभयो, जब उनमा आफ्नो श्रेयको, कल्याणको, उद्धारको इच्छा जागृत भयो– ‘यच्छ्रेयः स्यान्निश्चितं ब्रूहि तन्मे’ (२।७) । यस्तो इच्छा जागृत भएपछि उनी आफूलाई भगवान्को शिष्य मान्दछन् र भगवान्को शरण परेर शिक्षा दिनका लागि प्रार्थना गर्दछन् – ‘शिष्यस्तेऽहं शाधि मां त्वां प्रपन्नम्’ (२।७) । यस प्रकार कल्याणको इच्छा जागृत भएपछि अर्जुनले आफूलाई भगवान्को शिष्य ठानेर शिक्षा दिनका लागि भगवान्सँग प्रार्थना गरेका हुन्, गुरु–शिष्य–परम्पराको रीतिबाट भगवान्लाई गुरु मानेका होइनन् । 

भगवान्ले पनि शास्त्रपद्धतिका अनुसार अर्जुनलाई शिष्य बनाएपछि, गुरु–मन्त्र दिएपश्चात्, सिरमाथि हात राखेपछि उपदेश दिनुभएको होइन । यसबाट के सिद्ध हुन्छ भने पारमार्थिक उन्नतिमा गुरु–शिष्यको सम्बन्ध जोड्नु आवश्यक छैन, बरु आफूमा तीव्र लालसा हुन अत्यन्त आवश्यक छ । आफ्नो उद्धारको लगन प्रबल हुनाले साधकलाई भगवत्कृपाबाट, सन्त–महात्माहरूको वचनबाट, शास्त्रहरूबाट, ग्रन्थहरूबाट, कुनै घटना–परिस्थितिबाट, कुनै वायुमण्डलबाट आफै नै पारमार्थिक उन्नतिका कुराहरू, साधन–सामग्री प्राप्त हुन्छ र उसले त्यसलाई ग्रहण गर्दछ ।

गीताले बाह्य विधिहरूलाई, बाह्य परिवर्तनलाई त्यति आदर दिँदैन, जति आदर भित्रि भावहरूलाई, विवेकलाई, बोधलाई, जिज्ञासालाई, त्यागलाई दिन्छ । यदि गीताले बाह्य विधिहरूलाई, परिवर्तनलाई, गुरु–शिष्यको सम्बन्धलाई नै आदर दिन्थ्यो भने त्यो सबै सम्प्रदायहरूका निम्ति उपयोगी तथा आदरणीय हुने थिएन अर्थात् गीताले जुन सम्प्रदायका विधिहरूको वर्णन गथ्र्यो, त्यो त्यसै सम्प्रदायको मानिनेथियो । यसरी गीता प्रत्येक सम्प्रदायका लागि उपयोगी हुने र त्यसको पठन–पाठन, मनन–चिन्तन आदिमा सबै सम्प्रदायका मानिसको रुचि पनि हुने थिएन । तर गीताको उपदेश सार्वभौम छ । त्यो कुनै विशेष सम्प्रदाय या व्यक्तिका लागि होइन, प्रत्युत मानवमात्रका लागि हो ।

गीताले ज्ञानको प्रकरणमा ‘प्रणिपातेन परिप्रश्नेन सेवया’ (४।३४) र ‘आचार्योपासनम्’ (१३।७) पदहरूबाट आचार्यको सेवा, उपासनाको कुरा भनेको छ । त्यसको तात्पर्य के हो भने ज्ञानमार्गी साधकमा ‘म ब्रह्म हुँ’ भन्ने अभिमान बढी रहने सम्भावना हुन्छ । अतः साधकलाई चेताउनका लागि तत्वज्ञ जीवन्मुक्त आचार्य या गुरुको अधिक आवश्यकता रहन्छ । तर त्यो आवश्यकता साधकमा तीव्र जिज्ञासाको कमी भएका बेला अथवा गुरुले उपदेश दिनुहुनेछ र मात्र ज्ञान हुनेछ भन्ने उसको भावना रहेको अवस्थामा मात्र हुन्छ । तीव्र जिज्ञासा हुँदा साधक तत्वको अनुभव नगरेसम्म कुनै पनि अवस्थामा सन्तुष्ट हुँदैन, कुनै पनि सम्प्रदायमा अडिन सक्दैन र कुनै पनि विशेषतालाई लिएर आफूमा अभिमान ल्याउन सक्दैन । यस्ता साधकको जिज्ञासा–पूर्ति भगवत्कृपाबाट हुनजान्छ ।

गुरु–शिष्यको सम्बन्धबाट नै ज्ञान हुन्छ भन्ने कुरा देखिँदैन । कारण, जसले गुरु बनाएका छन्, गुरु–शिष्यको सम्बन्ध स्वीकार गरेका छन्; ती सबैलाई ज्ञान भएकै छ भन्ने देखिँदैन । तर तीव्र जिज्ञासा भएपछि ज्ञान हुन्छ— यस्तो देखिएको, सुनिएको छ । तीव्र जिज्ञासुका लागि गुरु–शिष्यको सम्बन्ध स्वीकार्नु आवश्यक छैन । तात्पर्य के हो भने जबसम्म आफूमा तीव्र जिज्ञासा हुँदैन, तबसम्म गुरु–शिष्य सम्बन्ध स्वीकारेर पनि ज्ञान हुँदैन र तीव्र जिज्ञासा भएपछि साधकले गुरु–शिष्यको सम्बन्धबिना नै कसैबाट पनि ज्ञान प्राप्त गर्दछ । तीव्र जिज्ञासा भएका साधकलाई भगवान् स्वप्नमा पनि शुकदेव आदि (पहिले भइसकेका) सन्तहरूबाट मन्त्र दिलाउनु हुन्छ ।

शिष्य बनेपछि गुरुको उपदेशबाट ज्ञान भइहाल्छ भन्ने नियम छैन । कारण, उपदेश पाएर पनि यदि आफ्नो जिज्ञासा, लगन हुँदैन भने शिष्यले त्यस उपदेशलाई धारण गर्न सक्नेछैन । तर तीव्र जिज्ञासा, श्रद्धा–विश्वास भएपछि मनुष्यले कुनै सम्बन्धबिना नै उपदेश धारण गर्दछ– ‘श्रद्धावाँल्लभते ज्ञानम् ’ (४।३९) । तात्पर्य के हो भने ज्ञान आफू स्वयंको जिज्ञासा, लगनबाट नै हुन्छ, गुरु बनाउनाले मात्र हुँदैन ।

यदि कसैलाई सक्कली गुरु फेला परे पनि उसले उनलाई गुरु, महात्मा मान्नेछ, स्वयं उनीमाथि श्रद्धा–विश्वास गर्नेछ भने मात्र त्यसबाट लाभ हुनेछ । यदि ऊ स्वयं श्रद्धा–विश्वास गर्दैन भने त साक्षात् भगवान् प्राप्त भए पनि उसको कल्याण हुनेछैन । दुर्योधनलाई भगवान्ले उपदेश दिनुभयो र पाण्डवहरूसँग सन्धि गर्नका लागि धेरै सम्झाउनुभयो, तर पनि उसमा कुनै प्रभाव परेन । उसले नमानेसम्म भगवान्ले पनि केही गर्न सक्नुभएन । तात्पर्य के हो भने आफैले मानेमा, स्वीकार गरेमा मात्र कल्याण हुनेछ । अतः गीता आफू स्वयंले नै आफ्नो उद्धार गर्ने प्रेरणा प्रदान गर्दछ– ‘उद्धरेदात्मनाऽऽत्मानम्’ (६।५) ।


______________

गुरु–शिष्य सम्बन्धबारे स्वामी रामसुखदासजी महाराजको कथन । गीताप्रेसबाट प्रकाशित सच्चा गुरु कौन ? पुस्तकबाट साभार ।

Sunday, September 18, 2022

सन्त प्रेरणा | पद्मपादाचार्यको सङ्कल्प

यो त्यस समयको कथा हो जुनबेला आदि शंकराचार्य काशीमा हुनुहुन्थ्यो । यहाँ पवित्र, पूज्य माता गङ्गा नदीको रूपमा बग्नुहुन्छ । आदि शंकराचार्य हरेक बिहान गङ्गाको किनारमा जानुहुन्थ्यो । गङ्गाको अर्को किनारमा एउटा गाउँ थियो । एक दिन त्यस गाउँका एकजना तेजस्वी युवकले एउटा सन्यासीलाई गङ्गाको अर्को किनारमा हिँडिरहेको देखे । उनको मनमा ती सन्यासीप्रति आदर जागृत भयो र त्यहाँबाट ती युवकले उहाँलाई प्रणाम गरे । आदि शंकराचार्यले पनि उनको अभिवादन स्वीकार गर्नुभयो र हातले सङ्केत गरेर उनलाई आफू भएतिर बोलाउनुभयो । सङ्केत बुझेर युवकले सोचे, ‘मैले उहाँलाई सन्तको रूपमा अभिवादन गरेको छु र उहाँले पनि मेरो नमस्कार स्वीकार गर्नुभयो । त्यसैले अहिले म उहाँको शिष्य बनेको छु । उहाँले मलाई ‘यहाँ आएर भेट्न’ आदेश दिनुभएको छ, यस्तो अवस्थामा मैले गुरुको आज्ञा पालन गर्नुपर्छ । उहाँको आदेशको अवज्ञा गर्नु उचित होइन । तर मलाई त्यो किनारमा पुर्‍याउन यहाँ कुनै डुङ्गा र डुङ्गा ख्याउने माझी पनि छैनन् । म त पौडिन पनि सक्दिन । अब के गरुँ ?’ 

उनी केही बेर डुङ्गाको पर्खाइमा बसे । केही बेर पर्खँदै गर्दा मनमा अर्को विचार आयो । उसले सोचे, ‘म यसअघि सयौँ जीवनमा मरेको छु । यो जन्ममा पनि कुनै न कुनै बेला मर्नैपर्छ । गुरुदेवको आज्ञापालन गर्न खोज्दा म मरे भने पनि त्यसले मलाई कुनै हानि नहोला । बरु मेरो उद्धार नै हुनेछ ।’

यी सबै सोच्दै युवकले ‘गङ्गामाता की जय’ भन्दै गङ्गा नदीको धारामा आफ्नो खुट्टा राखे ।

वल्लो किनारमा महान् गुरु आदि शंकराचार्यले युवकलाई हेरेर उनको मनमा आएका विचारहरू पनि थाहा पाइरहनु भएको थियो । उहाँले त्यस युवकको परीक्षा लिइरहनु भएको थियो । उहाँलाई भेट्ने, उहाँको आदेश पालन गर्ने कत्तिको लगन छ, भेट्न केके प्रयास गर्नेछन् भनेर पर्खँदै हुनुहुन्थ्यो ।

उता जब ती युवकले आफ्नो गुरुलाई भेट्न गङ्गा नदीमा पाइला राखे, त्यहाँ एउटा अचम्मको घटना घट्यो । ती युवकले गङ्गा नदीमा पाइला राख्नेबित्तिकै उनको गुरुभक्ति, श्रद्धा र आदि शंकराचार्यको कृपाले त्यहाँ उनको खुट्टामुनि पद्म (कमल) उत्पन्न भयो । यसरी गङ्गा नदीको पानीमा उनले जसो–जसो पाइला चाले गङ्गा नदीमा उनको खुट्टामुनि कमल फुल्दैगयो । उनको प्रत्येक पाइलामुनि फुलेका कमलमा कुल्चँदै उनी अगाडि बढे र जहाँ आदि शंकराचार्य हुनुहुन्थ्यो त्यहाँ पुगे ।

आदि शंकराचार्यलाई आफ्ना सामु देखेर उनी उहाँको पाउमा नतमस्तक भए । उनको आँखाबाट आँसु बग्न थाल्यो र आफ्नो आँसुले उनले आदि शंकराचार्यको खुट्टा भिजाइदिए । आदि शंकराचार्य उनको समर्पणबाट धेरै प्रसन्न हुनुभएको थियो । गङ्गामा हिँड्दा जहाँ पाइला राखेका थिए त्यहाँ कमल फुलेको थियो, त्यसैले आदि शंकराचार्यले ती युवकको नाम ‘पद्मपादाचार्य’ राख्नुभयो । पछि, यी पद्मपादाचार्य श्रीमत आदिशंकराचार्यका चार मुख्य शिष्यमध्ये एक बने ।

पद्मपदाचार्यको गुरुको आज्ञा पालन गर्ने दृढ सङ्कल्प र तत्परता देखेर गङ्गामातामा कमलको उत्पन्न भएको थियो । शिष्यले दृढता, तत्परता र प्रामाणिकताका साथ गुरुको आज्ञा पालन गरेमा परिस्थिति पनि अनुकूल हुन्छ भन्ने यो घटनाले प्रमाणित गर्दछ ।

Wednesday, September 14, 2022

व्रत–उपवासले आरोग्य प्राप्ति

– सीतारामजी शर्मा

भनिन्छ एउटै उपवासले अनेक रोगको नाश गर्दछ । नियमतः व्रत–उपवासले उत्तम स्वस्थ्य र दीर्घ जीवन प्राप्त हुन्छ । हाम्रो समाजमा जनसामान्यलाई पनि यति कुरा त थाहा छ नै कि अरुचि, अजीर्ण, उदरशूल, मल–अवरोध, टाउको दुख्ने र ज्वरो जस्ता साधारण रोगदेखि असाध्य महाव्याधिहरू पनि व्रत–उपवासले निर्मूल हुनेगर्दछ । यसबाट अपूर्व र स्थायी आरेग्यता प्राप्त हुन्छ । सबै देश र धर्ममा व्रत–उपवासको महत्वपूर्ण स्थान छ । यसद्वारा मनुष्यको अन्तरात्मा शुद्ध हुन्छ । ज्ञानशक्ति, विचारशक्ति, बुद्धि, श्रद्धा, मेधा, भक्ति तथा पवित्रता पनि बढ्दछ ।

आजको तुलनामा पछिल्ला शताब्दिका मानिसहरूको स्वास्थ्य राम्रो हुने गथ्र्यो र उनीहरू नीरोग हुने गर्दथे । आजका अनेक भयंकर रोगहरूबाट त उनीहरू कोसौँ टाढा थिए । रोगको आक्रमण उनीहरूमाथि हुँदैनथ्यो भन्न खोजेको होइन, तर उनीहरू शास्त्रानुसार आचरण गरेर स्वस्थ रहने प्रयास गर्दथे । यी प्रयासमा उनीहरू सफल पनि थिए । हाम्रा पूर्वज मनीषिहरूद्वारा आयुर्वेदका आधारमा धार्मिक व्रत–अनुष्ठानहरूको अनुपालन गर्ने उपाय प्रस्तुत गरिएको छ । यी व्रतहरूको पालनद्वारा सामान्य रोगदेखि मुक्ति पाएर मानव स्वस्थ जीवनको अनुभव गर्दै मानसिक तनावबाट पनि छुटकारा पाउँथे । यसरी स्वस्थ रही ईश–प्राप्तिको सहज सुलभ साधन पनि उनीहरूले पाउँथे– यस्तो विश्वास गरिन्छ ।

हाम्रो संस्कृतिमा चैत्र शुक्ल प्रतिपदाबाट संवत्सरपर्यन्त सबै तिथिहरूमा व्रतको विधान छ । तिथि–व्रत, वार–व्रत, मास–व्रत, नक्षत्र–व्रत आदि प्रसिद्ध छन् । प्रतिदिन व्रत गर्न सम्भव हुँदैन तथापि प्रत्येक महिना एक या दुई व्रत त गर्न सकिन्छ नै । चैत्र शुक्ल प्रतिपदादेखि एक हप्तासम्म प्रतिदिन स्नानादिबाट निवृत्त भएपछि सबैभन्दा पहिले तीतो नीमको नयाँ पालुवा खाने गरे रक्त–शुद्धि र चर्मरोगबाट मुक्ति मिल्ने साधन बताइएको छ ।

वैशाखमासको अक्षय तृतीया एउटा शुभ मुहूर्त हो । यस दिन उपवासपूर्वक जलले भरिएको घडा, घैँटो, फल र पंखा दान दिने विधान छ । माटोको सम्पर्कबाट जल शुद्ध हुन्छ– पाँच तत्वमध्येका दुई पृथ्वी र जल शरीरका लागि पोषक हुन् । जाडो याममा आगोमा तपाएर बनाइएको माटोको घडा अत्यन्त उपयोगी मानिन्छ । बोतलमा हालेर फ्रिजमा राखिएको पानीभन्दा यस्तो घडाको पानी पिउनु बढी लाभकारी हुन्छ । वैशाखमा माटोको घडा दान गर्नु परोपकार त हो नै यो पुण्यकारक पनि छ ।

भनिन्छ चन्द्र–किरणहरूबाट अमृतको वर्षा हुन्छ । मानवको सम्पूर्ण क्रिया मनबाट सञ्चालित हुन्छ । चन्द्रमा मनको प्रतिनिधिकारक तत्व हो । चन्द्रमा र श्रीगणेशको अनौठो सम्बन्धको चर्चा हाम्रा पौराणिक ग्रन्थहरूमा उल्लेख भएको छ । यसैलाई ध्यानमा राखेर मनःशान्तिका लागि, बुद्धि प्रखरताका लागि श्रीगणेशचतुर्थीको व्रत राख्ने विधान छ । यस दिन दिनभरि उपवास गरेर साँझ श्रीगणेशको पूजन गरिन्छ । यस दिन चन्द्रोदयपछि चन्द्र दर्शन गरेर भोजन गर्न उपयुक्त मानिन्छ । यसो गर्नाले अन्नमा उत्पन्न चन्द्रमाको अमृत प्रभाव तथा त्यसको शीतलताले मनलाई शान्ति प्रदान गर्दछ ।

धार्मिक व्रतहरूमध्ये एकादशी, प्रदोष र शिवरात्रि, श्रीकृष्णजन्माष्टमी, श्रीरामनवमी आदिको पनि ठूलो महत्व छ । एक महिनाका दुई एकादशीको व्रत मात्र राख्ने गरे पनि पाचन प्रणालिलाई स्वच्छ हुने पर्याप्त अवसर मिल्छ । वर्षका सबै एकादशीहरूमा विष्णुशयनी र प्रबोधनी एकादशी ताथ महाशिवरात्रि–व्रतको त आफैमा विशिष्ट महत्व छ । चतुर्मास–व्रतको पालन आरोग्यका दृष्टिले अद्वितीय महत्वको मानिन्छ । चतुर्मासमा वात–पित्तको प्रकोप अधिक रहन्छ, यसैले यसबेला साग–सब्जिहरू त्याग गर्नु श्रेयस्कर मानिएको छ । वर्षा ऋतुमा साग–सब्जिहरू दूषित हुन्छन् । सरोवर, जलाशय आदिमा जल पनि मलिन भएको हुन्छ । लामखुट्टे एवं अन्य कीट–पतंग पनि उत्पन्न हुन्छन् । यसर्थ यस मौसममा तुलसीको सेवा गर्नु, त्यसको वरिपरि रहनु, घरको आगनमा तुलसीको मठ स्थापित गर्नु जस्ता कुराले कीट–पतंग र लामखुट्टे आदिको प्रकोप घर र स्वास्थ्यमा पर्दैन । मिताहारी हुनु अर्थात् थोरै खाने गर्नाले शरीरको पाचन प्रणालिलाई पनि सहज हुन्छ ।

‘वैद्यानां शारदी माता पिता च कुसुमाकरः’ अर्थात् चिकित्सकहरूका लागि शरद्–ऋतु लाभकारी छ । यसले आमाले झैँ वैद्यहरूको पालन–पोषण गर्दछ भने वसन्त–ऋतु पितातुल्य भइ लालन–पालन गर्दछ । दुवै ऋतुले आफ्नो प्रभाव स्वास्थ्यमा पार्दछन् । यी ऋतुसँगै ज्वरो, मलेरिया, पीलिया आदि रोगको प्रकोप हुनेगर्दछ । यीबाट बच्नका लागि घरेलू उपाय धार्मिक व्रतहरू पालन गर्दै खान–पिनमा विशेष ध्यान दिनु एवं ईश–उपासना गर्नु नै हो । यसबाट शारीरिक लाभका साथै आध्यात्मिक लाभ पनि हुनजान्छ ।

आरोग्यका दृष्टिले हप्तामा एक दिनको उपवास एवं त्यस दिनका देवता अथवा आफ्ना इष्ट देवको पूजा–अर्चा पुण्यदायक छ । सोमवार भगवान् शिवको, मंगलवार गणपति अथवा माता भवानीको, गुरुवार भगवान् दत्तात्रेय, रविवार सूर्यनारायण, शनिवार शनिदेव अथवा हनुमानजीको आराधनाका लागि निर्दिष्ट छ । यस एक दिन निराहार रहेर, मात्र जल पिएर पाचन प्रणालिलाई अवकास दिन सकिन्छ, अथवा दूध, फल, साबूदाना जस्ता सात्विक र सुपाच्य हल्का पदार्थ सेवन गर्नाले पनि उपवास लाभकारी हुन्छ ।

अधिकांशरूपमा व्रत–उपवास र चाड–पर्वमा दान दिने परम्परा पनि छ । यसबाट अभावमा परेका, वञ्चितहरूमाथि उपकार हुनेगरी दान दिनसके त्यो सार्थक हुन्छ । धार्मिक व्रतहरूको उचित पालन शरीर–शुद्धि, आत्मिक र आध्यात्मिक उन्नतिका निम्ति सहायक सिद्ध हुन्छ ।


स्वस्थ रहनका लागि केही सूत्र

१. बिहान ब्राह्ममुहूर्तमा उठ्ने गरौँ । सूर्योदयभन्दा लगभग ४८ मिनेट पहिलेको समयलाई ब्राह्ममुहूर्त भनिन्छ ।

२. बिहान बासी मुखमा पेटभरि हुने गरी पानी पिउने गरौँ । यसलाई उषःपान भनिन्छ । यसो गर्नाले पेटसम्बन्धी धेरै प्रकारका रोगबाट बच्न सकिन्छ । पानी जहिले पनि बसेर पिउने गरौँ ।

३. बिहान नित्य–कर्मबाट निवृत्त भएपछि खुला मैदानमा घुमफिर गर्ने बानी बसालौँ । कम्तीमा पनि २–३ किलो मिटर तेज गतिमा हिँड्नु स्वास्थ्यका लागि लाभदायक रहन्छ ।

४. सधैँ बिहान १५–२० मिनेट व्यायाम / योगासन आदि गर्नाले शरीर स्वस्थ र फुर्तिलो रहन्छ । यसले रक्तसञ्चारलाई ठीक राख्दछ ।

५. बिहानको अल्प–आहारमा अङ्कुरित आहारलाई उपयोग गर्नु उचित हुन्छ । साबुत (नपिसेको) चना, मूँग, गहुँ, मुँगफली, मेथी र भटमासलाई भिजाएर टुसा पलाएपछि आहारका रूपमा प्रयोग गर्न सकिन्छ । यसलाई ‘अमृत–अन्न’ भनिन्छ । यसरी अङ्कुरित अन्न खाँदा मजाले चपाउनुपर्छ । यसको साथमा दूध पिउनु स्वास्थ्यका दृष्टिले उपयुक्त हुन्छ ।

६. भोजन नियमित र समयमा गर्नुपर्छ । भोक लागेपछि नै भोजन गर्नुपर्दछ । आनन्दका साथ, हतार नगरिकन २० देखि ३० मिनेट लगाएर भोजन गर्नुपर्छ । भोजन गर्दा दाँतहरूको पूर्ण उपयोग हुनुपर्छ अर्थात् दाँतले मजाले चपाएर खानु पर्छ । दाँतले चपाउने, आँतले पचाउने । दाँतको काम आँतले गर्नु नपरोस् । भनाइ नै छ– ‘रोटीलाई पिउनु र दूधलाई खानु’ । रोटी÷भातलाई यति चपाउनु कि त्यो र्‍यालसँग राम्ररी मिसिएर पेटमा जाओस् । यसो गरी खाएको भोजन सुपाच्य हुन्छ र त्यसले शरीरलाई पनि राम्ररी ऊर्जा दिन सक्छ । यसरी भोजन गरेमा कब्ज लगायतका पेटका रोगबाट पनि बचिन्छ ।

७. दैनिक भोजनमा नपकाइएको / काँचो आहार अवश्य हुनुपर्छ । मूला, गाजर आदिको सलाद राख्न सकिन्छ ।

८. अनावश्यक घरि–घरि खाने बानी राम्रो होइन । खाँदी–खाँदी खानु पनि ठीक होइन । हतार–हतार भोजन गर्नु पनि स्वास्थ्यका लागि हानिकारक नै हुन्छ । पेटलाई पेट नै रहन दिनु, फोहोर हाल्ने डस्टबिन नबनाउनु । 

९. बिहान–बेलुका नै भोजनपछि केही बेर आराम गर्नुपर्छ, तर सुतिहाल्नु हुँदैन । ८ श्वास दाहिने कोल्टे फेरेर लिने, १६ श्वास पिठ्यूका बलमा ढल्किएर लिने र ३२ श्वास देब्रे कोल्टे फेरेर लिने गर्दा पाचन ठीक हुन्छ । यसपछि वज्रासन अवश्य गर्नेगरौँ । यसका लागि दुबै घुँडालाई मोड्ने । दुबै पाउका बुढीऔँलालाई एकआपसमा जोड्ने र पैँतालाबाट बनेको खाली ठाउँमा बस्ने । मेरुदण्ड सीधा रहनुपर्छ ।

१०. दुबै समयको भोजनपछि मूत्र त्याग गर्नाले कमर दुख्ने समस्या आउँदैन । पथरी हुनबाट पनि बच्न सकिन्छ ।

११. दिनभरिमा तीन लिटरसम्म पानी पिउने गरौँ । भोजन गर्दा केवल बीच–बीचमा दुई–तीन घुट्की मात्र पानी पिउने गरौँ । भोजनअघि र पछि १–१ घण्टाको अन्तर राखेर पानी पिउनु राम्रो ।

१२. शरीरको कुनै वेगलाई रोक्नु हुँदैन । मल, मूत्र, हाँछ्यूँ, हाई, डकार, अपानवायु, भोक, तिर्खा, निद्रा, आँसु इत्यादि शरीरका वेग हुन् ।

१३. जहिले पनि लामो–लामो स्वास लिने–छोड्ने बानी बसालौँ ।

१४. सधैँ राति नौ–दस बजेसम्ममा सुत्ने बानी बसालौँ । सुत्दा शिर जहिल्यै दक्षिण दिशामा भएको राम्रो । सकेसम्म अधिक समय देब्रे कोल्टो फेरेर नै सुत्ने गरौँ ।


Tuesday, September 13, 2022

जहाँसम्म देखिन्छ त्यहाँसम्म त अगाडि बढ !

वल्लो गाउँपुग्दै रात परिसकेको थियो । 

एउटा सोझो बटुवालाई दुई माइल पर आफ्नो गाउँसम्म पुग्नुपर्ने थियो । 

वल्लो गाउँका एकजना सज्जनले उसलाई पुल्ठो बालेर दिए । पुल्ठो लिएर ऊ आफ्नो गाउँको बाटो हिँड्यो । तर, केही पर, चार पाइला जति हिँडेपछि आत्तिएर ऊ फिर्ता आयो ।

उसलाई पुल्ठो दिने सज्जनले सोधे— ‘के भयो ? किन फर्किएर आयौ ?’

उसले भन्यो— ‘म हिँड्नुपर्ने छ दुई माइल । तर यो पुल्ठोले त दस हात परसम्मको बाटो मात्र उज्यालो पार्छ । म कसरी जानु ? दुई माइल कसरी देखिन्छ र ?’

ती सज्जनले भने— ‘जहाँसम्म देखिन्छ त्यहाँसम्म त हिँड । अनि फेरि त्यति नै अगाडिको बाटो देखिनेछ । यसरी तिमी आफ्नो गाउँ पुगिहाल्छौ !’

तिनको कुरा मानेर त्यो सोझो बटुवाले आफ्नो यात्रा पूरा गर्‍यो । ऊ आफ्नो गाउँ पुग्यो ।

यो कथा सुनाउँदै स्वामी अखण्डानन्द सरस्वती भन्नुहुन्थ्यो— आफ्नो लक्ष्य ठूलो छ, गन्तव्य पर छ भनेर नआत्तियौ । आफ्नो बुद्धि र विवेकको प्रकाशमा जहाँसम्म देखिन्छ त्यहाँसम्मको यात्रा गर । त्यहाँभन्दा परको सत्य फेरि देख्नेछौ । यसरी परोक्ष सत्य पनि प्रत्यक्ष हुनेछ ।


जीवनलाई उत्सवजस्तै स्वीकार गर्नु नै साँचो संन्यास | ओशोको दृष्टिकोण

गीता ईश्वरको गीत हो। यस गीतलाई गाउने परमात्मा हुनुहुन्छ । गीतलाई विभिन्न भावका साथ बोध गर्ने असङ्ख्य साधक छन्; आचार्यहरू हुनुहुन्छ। गीताको प...